चितवन। थारू समुदायको समृद्ध सांस्कृतिक र साहित्यिक परम्परालाई नयाँ उचाइमा पु-याउने उद्देश्यसहित कवि भजुमनराम महतोको थारू भाषाको कविता सङ्ग्रह ‘कविता माला दिउवा’  लोकार्पण गरिएको छ।
कार्यक्रम नारायणी नमुना माध्यमिक विद्यालय, भरतपुरमा थारू लेखक संघ, चितवनको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा थारू लेखक संघ, केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीले कृतिलाई थारू भाषाको काव्य यात्रामा “एक रचनात्मक माइलस्टोन” का रूपमा व्याख्या गर्दै भन्नुभयाे  “थारू साहित्य अहिले निरन्तर विकासको बाटोमा छ। भजुमनराम महतोजस्ता स्रष्टाहरूले हाम्रो भाषा, संस्कृति र पहिचानलाई बलियो बनाइरहेका छन्।”

कार्यक्रमको अध्यक्षता थारू लेखक संघ, चितवनका अध्यक्ष चन्द्रमणी महतोले गर्नुभएको थियो। उहाँले भन्नुभयाे  “भजुमनराम महतो थारू भाषाका अभियन्ता मात्र होइनन्, भावनाका कवि हुन्। उहाँका कवितामा दुःख, माया, संघर्ष र जीवनका गहिरा यथार्थ गुँथिएका छन्।”

कविता सङ्ग्रह ‘कविता माला दिउवा’ कविले आफ्नी स्व. पत्नी लछुमिनिया महतोको पाँचौँ पुण्यतिथिको स्मृतिमा लोकार्पण गर्नुभएको हो।
महतोले आफ्नो जीवनसंगीनीप्रतिको प्रेमलाई सिर्जनात्मक उज्यालो “दिउवा (दीयो)” का रूपमा रूपान्तरण गर्नुभएकाे छ।

कविताहरूमा थारू समाजकी महिलाहरूको पीडा, आत्मबल, र असमानताविरुद्धको मौन प्रतिवाद सशक्त रूपमा अभिव्यक्त छ। कृतिले नारी संवेदना र सामाजिक संरचनामाथि प्रश्न उठाउँदै थारू समुदायको भावनात्मक गहिराइलाई उजागर गर्छ।

कृतिमाथि समालोचना गर्दै समाजविद् डा. सञ्जय महतोले भन्नुभयाे “कविता माला दिउवा’ थारू कविताको आधुनिक यात्रामा एक साहित्यिक मोड हो। भजुमनराम महतोका कवितामा आत्मस्वर, समाजस्वर र समयस्वर मिसिएका छन् — यो केवल कविता सङ्ग्रह होइन, थारू समाजको अन्तरआवाज हो।”

त्यस्तै, समीक्षक बाबुराम पाण्डेले पुस्तकलाई “सरल भाषामा गहिरो भावनात्मक अभिव्यक्ति” भएको कृति भन्दै नयाँ पुस्ताका स्रष्टाहरूका लागि प्रेरणादायी भएकाे बताउनुभयाे ।

कार्यक्रममा इन्द्र प्रसाद रेग्मी (उपकुलपति, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान) ले भन्नुभयाे   “स्थानीय भाषाको साहित्य विकासले राष्ट्रिय साहित्यको सौन्दर्य बढाउँछ। ‘कविता माला दिउवा’ जस्ता कृतिहरूले देशको भाषिक विविधतालाई उजागर गर्छन्।”

साहित्यकार रवि किरण निर्जीव, डा. डिआर पोखरेल, लक्ष्मण प्रसाद चौधरी, वडा नं. २२ का अध्यक्ष विष्णुराज महतो, गजलकार धनराज गिरी, तथा थारू कल्याणकारिणी सभाका सभापति ललित चौधरीलगायतले कृतिको महत्त्वबारे आ–आफ्ना विचार व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रमको स्वागत मन्तव्य थारू लेखक संघ, चितवनका उपाध्यक्ष डा. राउतले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन मनोज चौधरीले कुशलतापूर्वक गर्नुभएको थियो, जसले थारू भाषाको साहित्यिक सौन्दर्य र भावनात्मक गहिराइलाई जोड्ने वातावरण सिर्जना गरेको सहभागीहरूले बताउनुभएकाे छ ।

समारोहको अन्त्यमा सहभागीहरूले कवि भजुमनराम महतोको समर्पण, थारू भाषाप्रतिको प्रेम र साहित्यिक योगदानप्रति गहिरो सम्मान व्यक्त गर्नुभयाे । कार्यक्रमले थारू भाषाको साहित्यिक धारा मात्र होइन, समुदायको सांस्कृतिक पहिचानलाई पनि अझ बलियो बनाउने निष्कर्ष वक्ताहरूले व्यक्त गर्नुभयाे ।