पोखरा । गण्डकी साहित्य सङ्गम, पोखराको आयोजनामा कवि मित्रलाल पञ्ज्यानीको महाकाव्य ‘युगान्तर’ विषयक परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा समीक्षकद्वय प्राज्ञ डा. कृष्णराज अधिकारी र रामराज रेग्मीले ‘युगान्तर’ जनबोलीको भाषामा लोकलयको प्रयोगसहित लेखिएको प्रगतिवादी महाकाव्य रहेको उल्लेख गर्नुभयाे ।
उहाँहरूले कृतिमा वैज्ञानिक दृष्टिकोणका साथ प्रगतिशील विचार प्रवाहित भएको बताउँदै, यसले नेपाली महाकाव्य परम्परामा नयाँ बौद्धिक धार थपेको टिप्पणी गर्नुभयाे ।
सङ्गमका सल्लाहकार प्रा. रघुनाथ अधिकारी, प्रगतिशील लेखक सङ्घ गण्डकीका अध्यक्ष प्रा. डा. यदुनन्दन उपाध्याय, मार्क्सवादी अध्ययन स्रोत केन्द्र पोखराका अध्यक्ष झलकपाणि तिवारी, र बुद्धिजीवी केशबहादुर परियारलगायतले महाकाव्यबारे आ–आफ्ना धारणा राख्दै शुभकामना व्यक्त गर्नुभयाे ।
स्वयं महाकाव्यकार पञ्ज्यानीले ‘युगान्तर’ सुन्दर र सभ्य समाज निर्माणका उद्देश्यले सिर्जना गरिएको कृति भएको बताउँदै, साहित्यलाई समाजपरिवर्तनको माध्यमको रूपमा प्रयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयाे।
कार्यक्रममा कवि नुमराज बराल, चिन्तु गिरी, विजया सुवेदी, र सुरज उपाध्यायले महाकाव्यका केही श्लोकहरू गीती लयमा वाचन गर्नुभएकाे थियाे भने सङ्गम सांस्कृतिक मञ्चका कलाकार काजी गाउँले र विकास लुङ्गेलीले ती श्लोकहरूमा सङ्गीत भरेर प्रस्तुत गर्नुभएकाे थियाे ।
सो कार्यक्रममा कवि तथा लेखकहरू प्रा. गेहेन्द्रेश्वर कोइराला, यादवचन्द्र भुर्तेल, प्रा. डा. जगन्नाथ रेग्मी, नारायण परिश्रमी, विद्याविमल बराल, अम्बिका भण्डारी, हिमालयजङ्ग बानियाँ, लक्ष्मण थापा, लक्ष्मण गौतम, लोचना अधिकारी, गोमा पौडेल, कल्पना चिलुवाल, राधिका कँडेल, माधवप्रसाद मिश्र, ढाकामोहन बराल, दुर्गाबहादुर शाह ‘बाबा’, रुपिन्द्र प्रभावी ‘कटु’, राजु क्षेत्री, नारायण अधिकारी, श्याम कुँवर, छवि सुवेदी ‘विजयी’, कृष्ण के.सी., बुद्धिमान तामाङलगायत ७३ जना स्रष्टा तथा सरोकारवालाको उपस्थिति रहेको थियो।
कार्यक्रम गण्डकी साहित्य सङ्गमका अध्यक्ष भीम रानाभाटको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत उपाध्यक्ष पद्मराज ढकालले गर्नुभएको थियो भने सञ्चालन प्राज्ञ नारायण मरासिनीले गर्नुभएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१२ कार्तिक २०८२, बुधबार 




