स्याङ्जा । भेषजराज साहित्य प्रतिष्ठानले प्रतिष्ठानका संस्थापक नायक भेषजराज शर्माको ९३ औँ जन्मजयन्तीका अवसरमा स्रष्टाद्वय अनन्त अर्याल र अग्निकुमार पल्लवलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। सो अवसरमा प्रतिष्ठानले २०७५ साल जेठदेखि सुरु गरेको नियमित मासिक रचनावाचन कार्यक्रमको ९० औँ शृङ्खलासमेत सम्पन्न गरेको छ।
वालिङ नगरपालिकाको आर्थिक सहयोगमा आयोजित उक्त कार्यक्रम प्राज्ञ तेजप्रसाद काफ्लेको प्रमुख आतिथ्य र प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि काफ्लेले भेषजराज शर्माको वनारसमा विद्यार्थी जीवनदेखि नै साहित्यिक र राजनीतिक नेतृत्वदायी भूमिकाबारे चर्चा गर्दै उहाँ निर्भीक, स्वाभिमानी र कुशल स्रष्टा भएको बताउनुभयाे।
कार्यक्रमका विशिष्ट अतिथि प्रा.डा. जगन्नाथ रेग्मीले भेषजराज शर्मालाई सहज प्रतिभा सम्पन्न, प्रसादगुणयुक्त रचनाकार तथा देशभक्त, मानवतावादी र निम्न वर्गका पक्षधर स्रष्टा भएको बताउँदै उहाँको साहित्यिक व्यक्तित्वमाथि प्रकाश पार्नुभयाे । अर्का विशिष्ट अतिथि साहित्यकार विश्वप्रेम अधिकारीले स्याङ्जाली साहित्य र लोकसाहित्यका सन्दर्भमा भेषजराज शर्माको योगदानबारे विचार प्रस्तुत गर्नुभएकाे थियाे।
कार्यक्रममा सहप्राध्यापक अम्बिकाप्रसाद भट्टराईले साहित्यको प्रभावबारे चर्चा गर्दै कविता वाचन गर्नुभयाे भने पूर्वप्रजिअ मोहनप्रसाद अर्याल, उपन्यासकार एकनारायण सुवेदी, सूर्यप्रसाद डुम्रे र वडा अध्यक्ष विश्वजङ्ग गुरुङले शुभकामना सहित गीत र गजल प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रममा सम्मानित स्रष्टा अग्निकुमार पल्लवकी धर्मपत्नी पार्वती रेग्मीलाई समेत सम्मान गरिएको थियो। कार्यक्रममा नेपाली काँग्रेस वालिङका सभापति नेत्रप्रसाद पाण्डे, नगर शिक्षा समिति सदस्य भूपराज बगालेलगायतको विशेष उपस्थिति रहेको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१२ कार्तिक २०८२, बुधबार 




