काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्तीका अवसरमा छहरा साहित्य समाज, धापासीले साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ।
२०८२ कार्तिक ८ गते, शनिवार ह्वाइट माउन्टेन स्कुल, टोखा–६, काठमाडौंमा आयोजित उक्त कार्यक्रममा देवकोटाको जीवन, साहित्य साधना, रचना पाठ र कविता वाचन गरेकाे थियाे । साहित्यकार योगेन्द्र तिमिल्सिनाको अध्यक्षता र कवि प्रा. नारायणप्रसाद कट्टेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
महाकविको तस्बिरमा पुष्पगुच्छा र माल्यार्पण गरी सुरु गरिएको कार्यक्रममा समाजका कोषाध्यक्ष आनन्द पौड्यालले स्वागत मन्तव्य राख्दै देवकोटाको योगदान स्मरण गराउनुभयाे भने उपाध्यक्ष तोया गौतमले देवकोटाका कविताका विशेषता र काव्यिक गहिराइबारे चर्चा गर्नुभएकाे थियाे । प्रा. गङ्गाधर कट्टेलले देवकोटालाई ‘सगरमाथा जस्तै अतुलनीय उचाइ भएका कवि’ भन्दै उहाँको स्वच्छन्द धाराका रचना प्रवृत्तिको प्रशंसा गर्नुभयाे ।
रघुनाथ आचार्यले देवकोटाको अभावमा नेपाली साहित्य अधुरो हुने टिप्पणी गर्नुभयाे भने कवि आनन्द पौड्यालले देवकोटाको जीवनीमा आधारित कविता वाचन गर्नुभयाे। प्रमुख अतिथि प्रा. नारायणप्रसाद कट्टेलले कविशिरोमणि लेखनाथ पौड्यालको काव्य साधनासँग देवकोटाको काव्ययात्रालाई जोड्दै आफ्ना कविता पनि प्रस्तुत गर्नुभयाे।
कार्यक्रममा ओमप्रकाश ओझा र तिलकशर्मा पौडेल असल श्रोता भएर उपस्थित हुनुहुन्थ्याे। अन्त्यमा समाजका अध्यक्ष योगेन्द्र तिमिल्सिनाले मुना मदन जस्तो अमर कृति र यात्री जस्तो प्रगतिशील कविता लेख्ने देवकोटालाई नेपाली जन–मनको प्रिय कवि भएको बताउँदै कार्यक्रम समापनकाे घोषणा गर्नुभएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१२ कार्तिक २०८२, बुधबार 




