डिजी शर्मा, जापान । विगत ६ वर्षदेखि नेपाली भाषा साहित्यमा काम गर्दैआएको अनलाइन दैनिक पत्रिका साहित्यपोस्टले आफ्नो मोबाइल एप्लिकेसन जापानमा सार्वजनिक गरेको छ ।

नेपाली भाषा साहित्यका सयौँ किताब पढ्न र सुन्न सकिने व्यवस्थासहित तयार पारिएको मोबाइल एप्लिकेसन आइतबार टोक्योमा आयोजित एक समारोहकाबीच उद्घाटन गरिएको हो ।

“हत्केलामा नेपाली साहित्य” भन्ने मूल नाराका साथ साहित्यपोस्टले मोबाइल एप्लिकेसन बजारमा ल्याएको छ । साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि कोइराला र साहित्यपोस्टका युरोप संयोजक डि जी शर्माबीच विशेष अन्तरसम्वाद भएको थियो ।

सम्वादका क्रममा साहित्यपोस्ट अनलाइन दैनिक पत्रिका स्थापनाका प्रसङ्गसहित त्यसका चुनौतीहरु, यसका उदेश्य र भावी योजनाका बारेमा विशेष चर्चा गरिएको थियो । कार्यक्रममा बोल्दै प्रधान सम्पादक कोइरालाले अनेसास जापानले नेपाली भाषा, साहित्य र सांस्कृतिक क्षेत्रमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै संस्थाको निरन्तर प्रगतिको कामना समेत व्यक्त गर्नु भएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानका अध्यक्ष अरुण पौडेलको अध्यक्षता रहेको कार्यक्रममा अनेसास बोर्ड अफ ट्र्ष्टीका उपसभापति विष्णुप्रसाद घिमिरे, अनेसासका पूर्व केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’, अनेसास जापानका संस्थापक अध्यक्ष डा. कुमार बस्नेत, अनेसास जापानका पूर्व अध्यक्षहरू दिनेशराज ज्ञवाली, दीप पाठक, गिरिजा गैरे, एनआरएन जापानका अध्यक्ष सुभाष लामिछाने, पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहारी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार र साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै साहित्यपोस्टका संरक्षक समेत रहनुभएका प्रकाश पौडेल माइलाले साहित्यपोस्टको मोबाइल एप्लिकेसनले पठन संस्कृतिको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास राख्नुभयो । साहित्यपोस्ट अनलाइन दैनिक पत्रिका स्थापना कालदेखि नै देखिएका सपनाहरूले साकार रुप लिँदै गएकोमा उहाँले खुशीसमेत व्यक्त गर्नुभयो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको अवसर पारेर अनेसास जापानले आयोजना गरेको सोही कार्यक्रममा यहाँ रहनुभएका दुई दर्जन बढी नेपाली भाषी सर्जकहरुले आ-आफ्नो रचना प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रमका अवसरमा साहित्यपोस्टका शुभचिन्तकहरुलाई साहित्यपोस्टका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । अनेसास जापानका सदस्य सरोज घिमिरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कार्यक्रम संयोजक समर प्रेमले कार्यक्रमको उद्देश्य र पृष्ठभूमिमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रमको सञ्चालन अनेसास जापानका महासचिव अनिल कुमार ‘निर्दोष’ले गर्नुभएको थियो ।