काठमाडौं  । कथाकार ध्रुव मधिकर्मीको व्यंग्यसङ्ग्रह ‘महान् अभियान’ यही बुधबारदेखि बजारमा आउने भएको छ । कथा, लघुकथा, कविता र समालोचनामा निरन्तर कलम चलाइरहनुभएकाे मधिकर्मीको यो हास्य–व्यंग्य विधासम्बन्धी पहिलो कृति हो ।

तीसको दशकदेखि कथा–कवितामा कलम चलाउन थाल्नुभएकाे मधिकर्मीले पचासको दशकबाट व्यंग्य लेखन सुरु गर्नुभएकाे थियाे । पुस्तकमा समसामयिक जीवनमा आम मानिसले भोगिरहेका राजनीतिक विसंगति, मानवीय मूल्यहीनता र राष्ट्रिय चरित्रमाथि भइरहेका अतिक्रमणलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

‘नेताजीका नदेख्ने आँखाहरू’, ‘अब पंक्तिकार के बोलास्’, ‘आरामी मुद्रा’, ‘एकताको प्रवचन’, ‘बाँदरको हातमा नरिवल’, ‘चोरहरूको परिचय’, ‘महान अभियान’ र ‘गोरु बेचेको साइनो’ जस्ता व्यंग्य रचनाहरू विशेष चर्चित रहेका छन् ।

सिर्जना अभियान समाजबाट प्रकाशित यस कृतिमा विभिन्न विषयमा आधारित २५ वटा व्यंग्य समावेश छन् । पुस्तकको विक्री–वितरण तथा पाठकसम्म सहज पहुँच सुनिश्चित गर्नका लागि देशका विभिन्न शहरमा सार्वजनिकी कार्यक्रम आयोजना गरिने प्रकाशकले जनाएको छ ।

पुस्तकको बजार व्यवस्थापन तथा वितरणको जिम्मा भाजु अनलाइन सपले लिने भएको छ ।