सुनसरी । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ सालको ‘विमल गुरुङ कृति पुरस्कार’ इलाम निवासी बसन्त बस्नेतद्वारा लिखित उपन्यास ‘सिमसारा’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।

निर्णायक समितिको सिफारिसपछि पुस्तकालय सञ्चालक समितिले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै बस्नेतको कृतिलाई सो पुरस्कारका लागि चयन गरिएको जानकारी गराएको हो ।

पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार पुरस्कारका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली भाषी लेखक, साहित्यकार र सर्जकहरूबाट जम्मा १०४ कृति प्राप्त भएका थिए । तीमध्येबाट प्रारम्भिक छनोटमा १० उत्कृष्ट कृति चयन गरिएपछि अन्ततः ‘सिमसारा’लाई विजेता कृति घोषणा गरिएको हो ।

पुरस्कार आगामी कात्तिक १९ गते आयोजना हुने ३४ औँ राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५४ औँ जन्मजयन्तीका अवसरमा प्रदान गरिनेछ । विजेतालाई नगद दुई लाख रूपैयाँ, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिने पुस्तकालयले जनाएको छ ।

विज्ञप्तिअनुसार उपन्यास ‘सिमसारा’ पूर्वी नेपालको इलाम चारखोलको पृष्ठभूमिमा आधारित छ । एक परिवारको विघटन, वैवाहिक असन्तुष्टि, अभिभावकबीचको बेमेलका कारण सन्तानमा पर्ने मनोवैज्ञानिक प्रभाव लगायतका विषय यसमा समेटिएका छन् । चारखोलको चिहानघारी नजिकको घर, त्यहाँका सामाजिक–भौतिक अवस्थाको चित्रण, पारिवारिक मनोविज्ञान र सामाजिक यथार्थ यस उपन्यासका प्रमुख पक्ष हुन् । सामाजिक यथार्थवादी दृष्टिकोण र गहिरो विषयवस्तुका कारण उपन्यास पुरस्कारका लागि उपयुक्त ठहर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सो पुरस्कार बेलायतका नरेश काङमाङको कविता संग्रह ‘तेप्लायु’, भारत दार्जिलिङका विजय कैलाशी राईको आख्यान ‘मित्याङ्सा’, गोरखाका चन्द्र गुरुङको कविता संग्रह ‘जब एउटा मान्छे हराउँछ’ तथा इलामका प्रकाश थाम्सुहाङको निबन्ध संग्रह ‘शब्दथुम’ लाई प्रदान गरिएको थियो ।