
काठमाडौँ । समालोचक तथा निबन्धकार प्रा.डा. लक्ष्मणप्रसाद गौतमको निबन्धकृति ‘समवेत’ को लोकार्पण राजधानीमा सम्पन्न भएको छ ।
नेपाल स्रष्टा समाज, केन्द्रीय समितिको आयोजनामा शुक्रबार भएको कार्यक्रममा साहित्यकार पवन आलोक, समालोचक प्रा.डा. ज्ञानु पाण्डे, समालोचक प्रमोद प्रधान, निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ र स्वयं प्रा.डा. गौतमले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभएकाे थियाे ।
कार्यक्रममा बोल्दै समालोचक प्रमोद प्रधानले पुस्तकका २१ वटा निबन्धमा कवित्व चेत प्रखर रूपमा देखिएको बताउनुभयाे । उहाँले गौतमका निबन्धहरूले लेखक र पाठकबीच निकट सम्बन्ध सिर्जना गर्ने शैली अपनाएको उल्लेख गर्नुभयाे । “गौतमका निबन्धहरूमा सम्बोधन शैलीको प्रयोग भएको छ,” उहाँले भन्नुभयाे, “पुस्तकप्रेमलाई मान्छेसँग तुलना गर्दै जीवनलाई गहिरिएर अध्ययन गरिएको देखिन्छ।”
अर्की समीक्षक प्रा.डा. ज्ञानु पाण्डेले ‘समवेत’ लाई विचारका विभिन्न रंगहरूको एकीकृत स्वर भएको बताउनुभयाे । उहाँका अनुसार निबन्धहरूले मान्छे धेरै पत्र बाँचेको प्राणी हो भन्ने कुरा प्रभावकारी रूपमा देखाएका छन् । “मान्छे समाजको आँखामा राम्रो देखिन आफैंलाई ढाँट्छ भन्ने प्रवृत्तिलाई निबन्धहरूले सशक्त रूपमा उजागर गरेका छन्,” उहाँले भन्नुभयाे । उहाँका अनुसार गौतमका निबन्धहरू विषयगत विविधताले भरिएका छन्, जसमा प्रकृतिसँग संवाद गरिएको छ र असल मान्छेको खोजी गरिएको छ ।
स्वयं स्रष्टा प्रा.डा. गौतमले ‘समवेत’ का निबन्धहरूमा आफूलाई नै लेखिएको बताउनुभयाे । उहाँले भन्नुभयाे, “भीडमा उभिएर समालोचना गर्नु सजिलो हुन्छ, तर निबन्ध लेखन भने गहिरो आत्म–संवाद र सृजनात्मक गहिराइ माग्ने काम हो।”
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले आत्मपरक निबन्ध लेखन चुनौतीपूर्ण भएको बताउँदै गौतमको कृति गौरव गर्न योग्य आएको टिप्पणी गर्नुभयाे ।साहित्यकार तथा समाजका संरक्षक पवन आलोकले शुभकामना मन्तव्य दिनुभएकाे थियाे ।
कार्यक्रमको सञ्चालन सदस्य मधु पाठकले गर्नुभएकाे थियाे भने स्वागत सचिव प्रकाश घायलले गर्नुभएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

