काठमाडौं । ४६ औं विश्व पर्यटन दिवसको अवसरमा दार्जिलिङ निवासी चर्चित गीतकार तथा संगीतकार मपन परियारलाई ‘गोर्खाली ग्लोरी’ पुरस्कारबाट सम्मान गरिएको छ। ललितपुरस्थित नुवाकोटघरमा आयोजित विशेष समारोहमा भिक्षु निग्रोध, साहित्यकार गोबिन्दराज भट्टराई तथा ‘गोर्खाली ग्लोरी’ का संस्थापक एवम् परिकल्पनाकार विक्रम पाँडेले परियारलाई तीस हजार रुपैयाँ नगद राशीसहित प्रमाणपत्र प्रदान गर्नुभयाे ।

परियार ‘जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो’ जस्ता चर्चित नेपाली गीतका स्रष्टा हुन्। यो गीत उहाँले काठमाडौं बसाइँको क्रममा रच्नुभएकाे थियाे । दार्जिलिङका स्थायी बासिन्दा तथा प्रख्यात चित्रकार भक्त परियारका छोरा मपन परियार ओझेलमा परे पनि नेपाली गीत–संगीतमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले उल्लेख गरेको छ।

यसअघि ‘गोर्खाली ग्लोरी’ पुरस्कार मित्रसेन साहित्य–संगीत सभा (हिमाञ्चल प्रदेश), मेरो डान्स युनिभर्स विजेता खुशी कार्की (थाइल्याण्ड) लगायतलाई प्रदान गरिएको थियो। संस्थाका संरक्षक भारतका पूर्व सांसद एवम् भाषा–संग्रामी दिलकुमारी भण्डारी रहनुभएकाे छ ।

पुरस्कार ग्रहण गर्दै परियारले आफू विस्मृतिमा परेको अवस्थामा खोजेर सम्मान गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयाे । कार्यक्रमका संयोजक शरद प्रधानले भने, “मपन परियारले सिर्जना गरेका गीतहरूले गायिका ज्ञढठद्ध ब्म् द्यबलमलाई लोकप्रियताको शिखरमा पुर्याए, तर गीतकार र संगीतकार सधैँ नेपथ्यमा रहे। गीत–संगीतका स्रष्टाको कदर गर्नु हाम्रो दायित्व हो।”

सोही अवसरमा चर्चित गीत नभन माया लाग्छ भने काे गीतकार पनि मपन परियार नै भएको जानकारी गराइएको थियो। कार्यक्रममा पूर्व पर्यटन सचिव महेश्वर न्यौपानेलाई नेपाल पर्यटनमा विशेष योगदानको कदर स्वरूप तेन्जिङ–हिल्लेरी इभरेष्ट म्याराथन र नुवाकोटघरले संयुक्त रूपमा नगद ३ लाख रुपैयाँसहित सम्मान गरेकाे थियाे । कार्यक्रममा विभिन्न साहित्यकार, कलाकार र पर्यटन क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।