
सुनसरी । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले १०४ कृतिबाट उत्कृष्ट १० कृति छनोट गर्दै यसवर्षको विमल गुरुङ कृति पुरस्कार को दाबेदार घोषणा गरेको छ। उत्कृष्ट कृतिमध्ये एकलाई ताम्रपत्रसहित नगद दुइ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिनुभयाे ।
पुरस्कार आगामी कात्तिक १९ गते पुस्तकालयकै आफ्नै भवन, धरान–१८ बुद्धचोकमा आयोजित कवि विमल गुरुङको ५४औं जन्मजयन्ती तथा ३४औं राष्ट्रिय कविता महोत्सवको अवसरमा प्रदान गरिनेछ।
छनोटमा परेका १० उत्कृष्ट कृतिहरूमा रक्ष राईकाे डायस्पोरा ‘अवधारणा र अभ्यास’ जुनु रानाकाे ‘रातो नदी’ डा. चित्र माबोकाे ‘डोलीभर्ना’ बसन्त बस्नेतकाे ‘सिमसारा’ टीका भाइकाे ‘काचको पोखरी’ कृष्ण बरालकाे ‘नातिपुस्ताको खेल’ सागर गैरेकाे ‘मोहोर’ सुरज रानाकाे ‘जब कविता निस्कन्छ जुलुसमा’ श्याम सिंहकाे ‘कोइलाखाद’ तेजबहादुर गुरुङकाे ‘गण्डकी प्रदेशका गुरुङ जातिका सामाजिक सांस्कृतिक लोकनाच र लोकबाजाहरूको अध्ययन’ रहेकाे छ ।
यसअघि यो पुरस्कार नरेश काङ्माङको तेप्लायु, विजय कैलाशी राईको मित्याङ्सा, चन्द्र गुरुङको जब एउटा मान्छे हराउँछ र प्रकाश थाम्सुहाङको शब्दथुम लाई प्रदान भइसकेको छ।
यसैगरी, ९० प्रतिस्पर्धी कवितामध्ये १० कविता राष्ट्रिय कविता महोत्सवका लागि छनोट भएका छन्।
रिजन मायालुकाे (इलाम) छातिभित्र पृथ्वी , राजु उवरकोटीकाे (दोलखा) भूपरिवेष्ठित चेतना, दीपा मग्रातीकाे (सुनसरी) संग्रहालयमा थन्किएको खापसियो, किशन पौडेलकाे (हेटौंडा) पसिनाको सौन्दर्य, बाबुराम श्रेष्ठकाे (सिन्धुली) अभिशप्त जिन्दगी, आरती आचार्यकाे (म्याग्दी) रातो रङ्ग, याम मगरकाे (रोल्पा) सपनाहरूको आँखाबाट, विनेश राई मिन्जाईकाे (सुनसरी) फर्किन्छु अब देश, सून्य नयनकाे (गोरखा) दिशाहीन समयको प्रेतात्मा, शुचराकाे (खोटाङ) देशको ठेगाना
महोत्सवमा उत्कृष्ट ३ कविता छनोट गरिने छन्। प्रथमलाई प्रमाणपत्र, स्वर्णपदकसहित नगद २१ हजार, द्वितीयलाई प्रमाणपत्र, रजतपदकसहित नगद १९ हजार र तृतीयलाई प्रमाणपत्र, कास्यपदकसहित नगद १८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
कवि विमल गुरुङको स्मृति
कवि तथा पत्रकार विमल गुरुङकाे २०४८ साल बैशाख २४ गते धादिङको जुकेपानीमा सवारी दुर्घटनामा निधन भएकाे थियाे। उहाँकाे एक किलो जंगल, आत्मघोषणा र शहरको प्रगाढ मौनता गरी तीन कविता संग्रह प्रकाशित छन्। उहाँका पिता, पूर्व ब्रिटिश गोर्खा लाहुरे पूर्णबहादुर गुरुङ र परिवारले २०४९ सालमा जग्गा खरिद गरी धरानको बुद्धचोकमा दुई तले पुस्तकालय भवन निर्माण गरेर सार्वजनिक पुस्तकालय सञ्चालन गर्दै आएकाे छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

