
असोज । साहित्यकार पद्मप्रसाद शर्माको बीसौँ कृति ‘चेष्टा’ कथा सङ्ग्रह दाङको घोराहीमा सार्वजनिक गरिएको छ । नेपाल निवृत्त शिक्षक समाज घोराही नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रममा पुस्तक विमोचनसँगै गुरु सम्मानको विशेष कार्यक्रम पनि गरिएको थियो ।
कार्यक्रम नगर समितिका अध्यक्ष वलदेव अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो भने नेपाल निवृत्त शिक्षक समाज दाङका अध्यक्ष गोविन्द पौडेल प्रमुख अतिथि रहनु भएको थियो ।
मुख्य अतिथि पौडेलले शर्मा लामो समयसम्म शिक्षकको रूपमा सेवा गरे पनि साहित्यमा पनि समान रूपले योगदान दिइरहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले “निवृत्त जीवन निष्क्रिय नभई सक्रिय बनाउनुपर्छ” भन्दै पुस्तकले नयाँ सन्देश दिएको टिप्पणी गर्नुभयो ।
विशिष्ट अतिथि पूर्व शिक्षक एवम् साहित्यकार विनोद पोखरेलले आफ्ना शिष्यले सक्रियता देखाएकोमा गर्व महसुस भएको बताउँदै, “शर्माको कलम अझ रचनात्मक यात्रामा अघि बढ्ने विश्वास छ” भन्नुभयो । त्यस्तै, मावि रझेनाका प्रधानाध्यापक उद्धव न्यौपानेले पुस्तकमा रहेको वंशावली भागले आफन्तबीच परिचय र चिनजानको माध्यम बनेको टिप्पणी गर्नुभयो ।
राप्ती साहित्य परिषद दाङका अध्यक्ष यम रेग्मीले कथा सङ्ग्रहको समीक्षा गर्दै, शर्मा सातवटा विधामा कलम चलाउने बहुआयामिक लेखक भएको बताउनुभयो । उहाँले साहित्यसँगै सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएको चर्चा गर्नुभयो ।
सोही अवसरमा राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष कमलमणि देवकोटा, पत्रकार रञ्जिता अधिकारी, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, नेपाल निवृत्त शिक्षक समाज दाङका सचिव दामोदर पाण्डे लगायत वक्ताहरूले शर्माको साहित्यिक यात्रा र सामाजिक योगदानबारे उच्च मूल्याङ्कन गर्नुभयो ।
लेखक शर्माले धन्यवाद मन्तव्य दिँदै आफ्ना गुरु विनोद पोखरेललाई विशेष सम्मान गर्नुभएको थियो । कार्यक्रम घोराही नगर समितिका उपाध्यक्ष नुमाकान्त न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने संचालन नगर समिति सदस्य कमलराज पोखरेलले गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

