दाङ । संविधान दिवसको  अवसरमा दाङको घोराहीस्थित गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलले  निबन्ध प्रतियोगिता सम्पन्न गरेको छ। ‘वर्तमान समयमा संविधानको महत्त्व’ विषयमा आयोजित उक्त प्रतियोगितामा कक्षा ११ र १२ का २५० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको विद्यालयले जानकारी दिएको छ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले नेपालको संविधान, त्यसको ऐतिहासिक महत्व, वर्तमान समय सन्दर्भमा त्यसको आवश्यकता र भावी पुस्ताले अंगीकार गर्नुपर्ने जिम्मेवारीबारे आफ्ना धारणा प्रस्तुत गर्नुभएकाे थियाे। विद्यार्थीहरूले निबन्धमार्फत संविधानले राष्ट्र निर्माणमा पुर्‍याएको योगदान, नागरिक अधिकार र कर्तव्य, लोकतान्त्रिक मूल्य र समाजमा त्यसको भूमिका जस्ता विविध पक्षलाई समेटनुभएकाे थियाे ।

निर्णायक मण्डलमा नेपाली विषयका विज्ञ तथा शिक्षाविद् डा. टीकाराम उदासी, एच. एन. पाण्डे र यम रेग्मी रहनुभएकाे थियाे। उहाँहरूको निर्णयअनुसार कक्षा १२ की छात्रा खम्बु डाँगी प्रथम स्थानमा चयन हुनुभएकाे छ । त्यस्तै, अमिशा खत्री द्वितीय स्थानमा तथा कक्षा ११ की छात्रा नविना घर्ती मगर तृतीय स्थानमा रहेकाे विद्यालयले जनाएको छ। विजेताहरूलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो।

कार्यक्रम विद्यालयका व्यवस्थापन संयोजक एमबी केसीको संयोजनमा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल मानसिंह घर्तीले संविधानको महत्त्वबारे प्रकाश पार्दै भन्नुभयो, “संविधानको महत्व प्रत्येक क्षणमा रहन्छ। झन् अहिलेको परिप्रेक्ष्यमा यसको आवश्यकता अझ बढी बढेको छ। संविधानले नागरिकका हक अधिकार मात्र होइन, विद्यार्थीहरूको हितसमेत सुरक्षित गरेको हुन्छ। यदि विद्यार्थीहरूले संविधानको महत्त्वलाई बुझ्न सके भने उहाँहरू असल नागरिक बन्न सक्छन्।”

विद्यालयका प्रिन्सिपलले संविधानलाई देशको मार्गदर्शक दस्तावेजका रूपमा व्याख्या गर्दै, त्यसले मात्र राष्ट्रलाई सही दिशातर्फ अगाडि बढाउन सक्ने धारणा राख्नुभयो। उहाँका अनुसार, संविधानको हकहित बुझ्ने र त्यसलाई पालना गर्ने नागरिक बन्नु नै विद्यार्थीहरूको प्रमुख जिम्मेवारी हो।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूको प्रस्तुति र उत्साह प्रशंसनीय रहेको विद्यालयले जनाएको छ। कार्यक्रमले विद्यार्थीहरूमा संविधानप्रतिको ज्ञान, सरोकार र जागरूकता बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।