
लमजुङ । स्पन्दन साहित्य समाज, लमजुङ क्याम्पसको आयोजनामा शनिबार लमजुङ क्याम्पस सभाहल, सुन्दरबजारमा सागर खड्काद्वारा लिखित उपन्यास ‘राईपाली भन्ज्याङ’ माथि विमर्श कार्यक्रम तथा आख्यान लेखन कार्यशाला सम्पन्न भएकाे छ ।
कार्यक्रमको अध्यक्षता स्पन्दन साहित्य समाजका अध्यक्ष कमल भण्डारीले गर्नु भएको थियो भने प्रमुख वक्ताका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य एवं आख्यानकार अमर न्यौपानेको उपस्थिति रहेको थियो। ‘राईपाली भन्ज्याङ’ उपन्यास साहित्यपोष्ट उत्तम आख्यान पुरस्कार २०८० बाट सम्मानित कृति हो, जसका लेखक सागर खड्का लमजुङ क्याम्पसका पूर्वविद्यार्थी समेत हाे ।
कार्यक्रममा लेखक खड्काले उपन्यास लेख्दाका अनुभवहरू साझा गर्दै, परीक्षाको दबाबबीच पनि सिर्जनात्मक हुटहुटीले आफूलाई लेख्न बाध्य पारेको र सोही हुटहुटीको परिणामस्वरूप ‘राईपाली भन्ज्याङ’ जन्मिएको कुरा उल्लेख गर्नुभयो। उपन्यासमा प्रयोग भएको सरल भाषा, काव्यात्मक चेत, विषयवस्तुको गहिराइ र शीर्षक चयनका कारणबारे पनि उहाँले स्पष्ट पार्नुभयो।
प्रमुख वक्ता अमर न्यौपानेले आख्यान लेखनमा जीवनका अनुभव, अध्ययन र कल्पनाशक्तिको संयोजनले गहिरो प्रभाव पार्ने बताउँदै, कृषि अध्ययनरत विद्यार्थीहरूलाई रुख, हाँगा, पातजस्ता तत्वहरूलाई पात्र बनाएर साहित्य सिर्जना गर्न प्रेरित गर्नुभयो। उहाँले विज्ञान र कलाको समन्वयले साहित्यमा नयाँ आयाम थप्ने धारणा राख्नुभयो।
कार्यक्रममा क्याम्पसका प्रमुख प्राचार्य नरेन्द्रबहादुर सिंह, केशरबहादुर खत्री, सविन कार्की, गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चका उपाध्यक्ष दिवाकर भट्टराई लगायत अनेक साहित्यिक र शैक्षिक व्यक्तित्वहरू तथा विद्यार्थीहरू — उत्सिका सिग्देल, सुलोचना अधिकारी, स्वस्तिका आचार्य, ऋतु श्रेष्ठ, प्रवीणा भण्डारी आदि — गरी ५० भन्दा बढी सहभागीहरूको उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन तथा सहजीकरण अनुशा परियारले गर्नुभएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

