सत्यम् – लक्ष्मण वियोगी
कथाकार लक्ष्मण वियोगीको कथा संग्रह हो ‘सत्यम्’ । वियोगीले पुस्तकमा रैथाने शैली, लोकजीवन, लोकसंस्कृति र पर्यावरणीय चेत समेटेर कथा लेख्नुभएको छ ।
”सत्यम् देशको सांस्कृतिक परिभ्रमण गराउने अधुनातन कथासङ्ग्रह हो ।” पुस्तकमा प्रा.डा दयाराम श्रेष्ठलेख्नुुहुन्छ, ”यसमा विशेष गरेर पश्चिम नेपालको लोकजीवनका अन्तःसौन्दर्यहरूलाई प्रासङ्गिक बनाएर स्थानीय भाषा र भाषिकाका साथै लोकभाकाका स्वर लहरीहरूलाई अक्षरहरूमा अभिलेखन गरिएका छन् । यस सङ्ग्रहमा कथा-स्रष्टा लक्ष्मण वियोगी सांस्कृतिक सहचारी बनेर स्थानीय भूगोल, लोकसंस्कार र ग्राम्य-संस्कृति पाठकसमक्ष सम्प्रेषण गर्न अग्रसर भएका छन् । उनले द्वन्द्व कथाहरूमा होस् वा प्रेम-प्रणय विषयक कथाहरूमा होस्, मान्छेले आफ्नो मृत्युको छाया नजिकै देख्दा अनुभूत गर्ने सवेग र संवेदनाहरूलाई रोचक शैलीमा आख्यानीकरण गरेका छन् । रागात्मक लय-सौन्दर्यले अत्यन्त आकर्षक बनेको यस कृतिमा कथाकारको ‘दुःखान्त चेतना’, कथानक प्रसिद्धि नै बनेको छ ।”
त्यसैगरी, पुस्तकमा प्रा.डा गोविन्दराज भट्टराई लेख्नुहुन्छ, ”लक्ष्मण वियोगीको साहित्यिक प्रतिभासँग परिचित हुँदै छु । उनको मौलिक लेखनको आकर्षणले छुदै गर्दा सत्यम् कथासङ्ग्रह लिएर आएका छन्, यसले उनलाई अमर गराउने छ । मूलतःस्याङ्जा परिवेशका यी कथा बाल-वयका जीवन्त स्मृतिचित्र हुन् । कुनै यौवन र प्रेमका बाडुल्कीले भरिएका र माओवादी त्रासदीले समाज आक्रान्त भएका बेलाका छन् । कथामा ग्राम्य परिवेशका जीवन्त पात्र उठाएर तिनको सोच, संस्कृति, सङ्घर्ष, चेतना र बोलीसँगै दुरुस्त परिवेशमा प्रस्तुत गरेका छन् । स्याङ्जाका अलावा काठमाडौँ, बर्दिया र अछामको चित्र बोकेका कथा पनि छन्, एउटा पर्यावरणीय चेतले भरिपूर्ण छ । हरेक कथा जीवन्त, हृदय छुने र कलापूर्ण छन् । उनले खिचेका ग्राम्य परिवेशका चित्र र ती निर्दोष पात्रको बौली, तीसँग जडित कथाहरूले छोएको मन अझै अशान्त छ । कसरी यस्तो कलाशिल्प आर्जन गरे वियोगीले म छक्क पर्छु । नयाँ पुस्ताका उनी, समकालीन नेपाली कथाका एक प्रतिनिधि स्वर हुन् ।”
पुस्तकलाई पेज टर्नर प्रा.लि.ले प्रकाशन गरको हो । १५ ओटा कथा समेटिएको पुस्तकको मूल्य चार सय ५५ रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१२ कार्तिक २०८२, बुधबार 










