पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेको हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रुचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन गर्न साहित्यपोस्टले यो स्तम्भलाई निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ ।यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न छ वटा पुस्तक प्राप्त भएका छन् ।
=============
१. आत्माको अदालतमा – ऋषिराम पाण्डेय

लेखक ऋषिराम पाण्डेयको आध्यात्मिक उपन्यास हो ‘आत्माको अदालतमा’ । पाण्डेयले पूर्वजन्म र आध्यात्मिक खोज, सनातन मार्ग अनुसार जीवन जिउने कलालाई यस उपन्यासको मूल विषय बनाउनुभएको छन् ।
”मेरो मनले कहिल्यै उपन्यास लेख्नुपर्छ भन्ने सोचेन । तर मलाई बलात् लेख्नुपर्छ भन्ने आभाष कुन स्रोतबाट प्राप्त भयो, अहिले पनि म अचम्मित नै छु ।” पुस्तकमा लेखक पाण्डेय लेख्नुहुन्छ, ”मेरो हृदयलाई अनुप्राणित गराएर मबाट यो उपन्यास लेख्न बाध्य बनाउने सृष्टिको त्यस्तो अनौठो शक्ति भनौं या अदृष्य मार्गदर्शक भनौ त्यसप्रति म करूणा र प्रेमले भरिन्छु । म फगत माध्यम मात्र हुँ यो लेखनको । मलाई ऊर्जा भरिदिएर यो धरामा स्वर्गको परिकल्पनालाई सार्थक बनाउने भूमिका निर्वाह गर्ने त्यो असिम र अनन्त सत्तालाई मेरो कोटीकोटी नमन । … परमपिता परमेश्वरप्रति धेरैधेरै कृतज्ञ छु । प्रकृति जसले यो जगतका सबै प्राणीहरूमा पञ्चतत्त्वद्वारा सिञ्चन गरेको छ, त्यसप्रति म धन्यवादी छु ।पिता पिताम्बर पाण्डेय र माता गीता कुमारी पाण्डेयलाई जति धन्यवाद दिए पनि कम हुन्छ । जीवनसाथी गीता पुडासैनीका प्रति आत्मादेखि नै आभार व्यक्त गर्छु ।”
स्याङ्जा जिल्लाको आलमदेवी गा.वि.स कोटाकोट बेसीमा जन्मिनुभएकाे ऋषिराम पाण्डेयले पाटन बहुमुखी क्याम्पसबाट स्नातकोत्तर गर्नुभएकाे छ । २०६३ सालबाट नै अध्यात्मको मार्गमा हिँड्न शुरू गर्नुभएकाे उहाँले त्यही समयदेखि नै शाकाहारी हुने निधो गर्नुभयाे । विभिन्न प्रकारका योगहरू सिक्दै र अभ्यास गर्दै उहाँ निरन्तर अगाडि बढिरहनुभयाे । उहाँको अध्यात्मप्रतिको रूचिका कारण विभिन्न धार्मिक ग्रन्थहरूको अध्ययन तथा तीर्थयात्रामा उहाँले समय खर्च गर्नुभएकाे छ । भारतको तीर्थयात्रा गर्ने क्रममा उहाँले बद्रिनाथसम्मको यात्रा गर्नुभएकाे थियाे । हाल उहाँ सरकारी सेवामा हुनुहुन्छ । उहाँको पहिलो पुस्तक सकारात्मक जीवन प्रसङ्ग प्रकाशित छ । आत्माको अदालतमा उहाँको दोस्रो कृति हो ।
पुस्तकलाई पाँचपोखरी प्रकाशन गृहले बजारमा ल्याएको हो । दुई सय २८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य तीन सय ७५ रुपियाँ रहेको छ ।
=============
२. काजगको कुमारीत्व – त्रिविक्रम पाण्डे

कवि त्रिविक्रम पाण्डेको कवितासंग्रह हो ‘कागजको कुमारीत्व’ । पाण्डेका प्रायः कविता प्रेममा केन्द्रित छन् । कविहरूको मस्तिष्क हुँदैन भन्नेहरूलाई उहाँले कविताबाटै जवाफ दिनुभएको छ ।
”साहित्यतर्फ निरन्तर लहसिँदै म बाल्यकालबाटै साहित्य अध्ययन-लेखनमा पूर्णतः आकर्षित भएँ । पाठक हुँदै अन्ततोगत्वा म जे-जस्तो भए तापनि साहित्यकारमा दरिन पुगें ।” पुस्तकमा पाण्डे लेख्नुहुन्छ, ”… मेरो लेखनमा मस्तिष्क-पक्षभन्दा बढी हृदय-पक्ष हावी भएको र मैले नारी-पात्रलगायत यो समाज एवम् मानव समुदायका विभिन्न चरित्र अनि विविध पात्रहरू बनेर समेत आफ्ना भाव-विचारहरूलाई कविताको रूप दिएको यथार्थ पुस्तक अध्ययन गर्नुहुने जो-कोहीले महसूस गर्नुहुनेछ भन्ने मैले ठानेको छु । पठन संस्कृतिले कोल्टे फेरेर आधुनिक मुहार पुस्तिका (Face Book) अर्थात् अनलाइन पुस्तकहरू अध्ययन गर्ने बानी परेकाहरूको जमातमा भौतिक त्यो पनि कविताको पुस्तक लिएर उपस्थित हुनु निःसन्देह चुनौतीपूर्ण कुरा हो। आफूले सिर्जिएका सिर्जनाहरू आफ्ना सन्तानसरह लाग्दा रै’छन् । अतः जन्म दिएपछि कर्म दिनुपर्ने कर्तव्य सम्झेर यथासक्य सिर्जित निरन्तर अगाडि बढ्दै जाने प्रतिबद्धता व्यक्त गर्दछु ।”
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । एक सय एकानब्बे ओटा कविता समेटिएको पुस्तकको मूल्य पाँच सय रुपियाँ रहेको छ ।
====================
३. सपनाको जीर्णोद्धार – बाउसे

कवि कृष्ण बाउसेको कवितासंग्रह हो ‘सपनाको जीर्णोद्धार’ । बाउसेले कवितामार्फत सत्तालाई प्रश्न गर्नुभएको छ, सामाजिक विसङ्गति प्रति खबरदारी गर्नुभएको छ ।
”यसबेला मलाई अङ्ग्रेजी साहित्यका प्रख्यात अमेरिकी कवि वाल्ट विट्म्यानको खुब याद आइरहेको छ ।” पुस्तकमा बाउसे लेख्नुहुन्छ, ‘लिभ्स अफ ग्रास’ उनको प्रख्यात कवितासङ्ग्रह । कविको जीवनकालमा यस पुस्तकको नौ संस्करण निस्किएको रहेछ र उनले हरेक संस्करणमा प्रसस्त सम्पादन गर्नुका साथै केही नयाँ कविता थप्ने र केहीलाई हटाउने गरेका रहेछन् । त्यसो गरेर उनले ‘लिभ्स अफ ग्रास’का पाठकलाई हरेक संस्करणमा नयाँ स्वाद दिएका रहेछन् । यस सङ्ग्रहको तयारी गर्दा मैले पनि सहसा उनको यस पक्षको अनुसरण गरेको छु आफ्ना केही पुराना कवितालाई नयाँ रूप दिने सन्दर्भमा । नयाँ कवितालाई प्राथमिकता साथ समेटेपछि किन सङ्ग्रहको नाम नै नयाँ नराख्ने भन्ने कुरा चाहिँ मेरो निर्णयको विषय बनेको हो । ‘यस्तो उद्घोष गर्छु’ नामक मेरो पुरानो कवितासङ्ग्रहको नयाँ संस्करण निकालियो भने त्यसमा यसमा सामेल कविताहरूले स्थान पाउने छैनन् नै । … यसबेला म आफ्ना कवितालाई पर्यावरण जोगाउने आवाज बनाउने प्रयास गरिरहेको छु । त्यसैले अब मैले लेख्ने कविता यो सङ्ग्रहका जस्ता हुने छैनन् नै । यस कारण पनि आफ्ना पुराना सिर्जनालाई पाठक माझ पुर्याउन यो सङ्ग्रह प्रकाशित हुन आवश्यक थियो ।”
पुस्तकलाई स्वदेश प्रकाशन प्रा.लि. ले बजारमा ल्याएको हो । ४५ ओटा कविता समेटिएको पुस्तकको मूल्य दुई सय ५० रुपियाँ रहेको छ ।
================
४. नथाकेका पाइलाहरू – विष्णुप्रसाद पन्त

लेखक विष्णुप्रसाद पन्तको संस्मरणग्रन्थ हो ‘नथाकेका पाइलाहरू’ । पन्तले पुस्तकमा शिक्षा र जीवनको अभिन्नता, शिक्षाले जीवनमा पार्नुपर्ने प्रभाव जस्ता विषय बारे लेख्नुभएको छ ।
”नथाकेका पाइलाहरूमार्फत विष्णुप्रसाद पन्त सर नेपाली समाजका एक स्मरणीय प्रतिनिधि पात्रका रूपमा देखापर्नुभएको छ ।”, डा. शैलेन्दुप्रकाश नेपाल लेख्नुहुन्छ, ”सबैसँग मित्रवत् व्यवहार गर्नु, दुःखीप्रति सहानुभूतिशील बन्नु, समस्यालाई सहजीकरण गरेर समाधान गर्नु जस्ता विशेष लक्षण उहाँमा देखापर्छन् । सफलताको कडी यो पनि हो । यस कृतिमा उल्लेख गरिएका प्रत्येक विषयसन्दर्भ मार्मिक छन्, स्मरणीय छन् । अमृतबहादुर श्रेष्ठ तथा घटराज भट्टराईका जीवनका अन्तिम प्रसङ्गहरू पढ्दा आँखा रसाउँछन् । तसर्थ पनि यो कृति मार्मिक बनेको छ ।”
त्यसैगरी, पुस्तकमा कलानिधी दाहाल लेख्नुहुन्छ, ”यस कृतिको दृष्टिबिन्दु मूलतः तीन क्षेत्रमा विभाजित भएर फैलिएको छ । जन्मिएर हुर्केपछि शिक्षा आर्जनका लागि आफैंले गर्नुपरेका कठोर सङ्घर्षात्मक यात्राको बेलीबिस्तार पहिलो खण्डमा देखापर्दछ । चेतना आर्जनको टुङ्गो लागेपछि राजधानीमा स्थापित भएर आर्थिक विपन्नताका कारण पहिलेदेखि होमिदै आउनुपरेका व्यक्तिसामु ठाडो शिर बनाउन गर्नुपरेका सानादेखि ठूलासम्मका कठोर अवस्थाको हृदयविदारक विवरण यसको दोस्रो खण्डअन्तरगत अङ्कित भएको छ । दुवै क्षेत्रको उचाइ उक्लेपछि समाजसामु आफ्नो परिधिनिर्माण गरेर जानअनजान दुवै अवस्थामा गरिएका समाजसेवाका विवरण अटाएको खण्ड हो- तेस्रो खण्ड । यसमा लेखकले आफ्ना यात्राका क्रममा दिल छोएका मर्मस्पर्शी व्यक्तित्वहरूको समेत सम्झना गरेका छन् । यस्ता सम्झनामा राखेकामध्ये दुई व्यक्ति घटराज भट्टराई र प्रयागराज वाशिष्टचाहिँ आफ्नो जन्मजात वा प्रकृतिले दिएको साहित्यिक व्यक्तित्वबाट विमुख भई भौतिक क्षेत्रमा लागेर व्यक्तित्व विनाश गरेका व्यक्ति ठान्छु म ।”
पुस्तकलाई विष्णुप्रसाद पन्तले प्रकाशन गर्नुभएको हो । एक सय २७ पृष्ठमा समेटिएको पुस्तकको मूल्य तीन सय ५० रुपियाँ रहेको छ ।
=====================
५. जिन्दगी एक यात्रा – सपना लामिछाने (देउजा)

कवि सपना लामिछाने (देउजा) को कवितासंग्रह हो ‘जिन्दगी एक यात्रा’ । लामिछानेले कवितामा आम मान्छेको दैनन्दिन भोगाइ, मिलन, विछोड र आम मान्छेले देख्ने सपनाहरू समेट्नुभएको छ ।
”सपना लामिछानेका कविताहरूले व्याख्यामा भन्दा सूत्रमा विश्वास गर्दछन् ।” डा. दामोदर पुडासैनी लेख्नुहुन्छ, ”एउटा राम्रो कविताले धेरै स्रोत र सम्भावना उजागर गर्दछ । कथा वा निबन्ध जस्तो आफैँ सबै व्याख्या गरिरहँदैन । सपना लामिछानेका यस सङ्ग्रहका कविताहरू अध्ययन गर्दा एक शब्द, एक वाक्य, एक वाक्यांश वा एक अनुच्छेदले अनेक कोण-प्रतिकोणका अर्थ प्रक्षेपण गर्न सक्षम देखिन्छन्, जुन सूत्रको रूपमा प्रकट हुन्छन् र मानव मस्तिष्कमा लामो समयसम्म रहिरहन्छन् । कविको सफलता त्यसैमा निर्भर रहन्छ ।”
त्यसैगरी, पुस्तकमा प्रा.डा. उषा ठाकुर लेख्नुहुन्छ, ”राष्ट्रिय एकता, अखण्डता, युद्धको विरोध, शान्तिको चाहना विश्वबन्धुत्वको भावना र कवयित्रीका आशावादी जीवन दृष्टिले पाठकवृन्दका मन मस्तिष्कलाई झंकृत गरेका छन् । हार्दिकताले भरिपूर्ण यी कविताहरूले हामीभित्रको सुषुप्त चेतनालाई जगाउन सफल भएका छन् । कवितामा प्रयोगमा आएका प्रकृतिका सुन्दर विम्बहरू सराहनीय छन् । भावनामा प्रगाढता छ, अनुभूतिमा गहिराइ छ, शैली आकर्षक छ र प्रस्तुतिमा निखार छ । जागरण, आध्यात्मिक चेतना र दार्शनिकताले भरिपूर्ण यी कविताहरू प्रेरणादायी र सन्देशमूलक छन् ।”
त्यसैगरी, लेखक लामिछाने लेख्नुहुन्छ, “जिन्दगी एक यात्रा कवितासङ्ग्रहको रूपमा यो मेरो पहिलो प्रयास हो । मलाई कृतिकारका रूपमा उठाउन मेरा परिवार, इष्टमित्र र आफन्तहरूको महत्त्वपूर्ण भूमिका रहेको छ । यो उहाँहरूबाट प्राप्त प्रेरणाको उपज हो । समय, परिवेश, परिस्थिति र आफूभित्रको अलिकति रहर, अलिकति चाहना र भोगाइको परिणामस्वरूप यो कृति सङ्ग्रहको रूपमा आएको हो। अरू कुरा के लेखौ ? मैले रचना गरेका कविताहरू आफै बोलिरहेका छन् । तसर्थ मेरो मनका भावनालाई कृतिको रूपमा जन्माउन प्रेरणा र उत्साहको फूल बर्साउने मेरा प्यारा छोरा, बुहारी र छोरीहरू, इष्टमित्र, आफन्त र आत्मीय मित्रजन एवं शुभचिन्तकहरूप्रति कृतज्ञ छु ।”
पुस्तकलाई सुचक प्रकाशनले बजारमा ल्याएको हो । ५६ ओटा कविता संग्रहित पुस्तकको मूल्य दुई सय १५ रुपियाँ रहेको छ ।
=======================
६. ज्ञवाली सूक्तिसङ्ग्रह – डा रामप्रसाद ज्ञवाली

लेखक डा. रामप्रसाद ज्ञवालीको सूक्तिसङ्ग्रह हो ‘ज्ञवाली सूक्तिसङ्ग्रह’ । ज्ञवालीले सूक्तिहरूमा वैचारिक सशक्तता र युगीन महत्त्वलाई प्राथमिकतामा राख्नुभएको छ ।
”कवि ज्ञवालीको एउटा पनि कविता सूक्तिविहीन हुँदैन।” पुस्तकमा डा. देवी नेपाल लेख्नुहुन्छ, ”फुटकर कविताको कुनै पद्यमा वा काव्यांशमा सूक्ति आउनु सामान्य कुरा हो तर एउटा दुईहरफे वा चारहरफे सिर्जनामा सिङ्गो महाकाव्यसरहको शक्तिशाली भाव अटाउन सक्नु चानचुने कुरा होइन । त्यही अनुपम क्षमता कवि ज्ञवालीको कवित्वमा पाइन्छ । ५० को दशकमा शुरु त्योभन्दा महत्त्वपूर्ण सूक्तिपूर्ण कवित्वको पनि पुनर्जागरण भएको छ । वर्तमानका कवि र कविताहरूको शक्ति नै सूक्तिपूर्ण काव्यिक अभिव्यञ्जना बन्ने गरेको छ। नेपाली छन्दकवितामा यस परिवेशको निर्माणमा कवि ज्ञवालीको विशिष्ट योगदान रहेको देखिन्छ ।”
त्यसैगरी, पुस्तकमा विनयकुमार शर्मा लेख्नुहुन्छ, ”डा. रामप्रसाद ज्ञवाली नेपाली साहित्यका अत्यन्त ऊर्जावान् कवि तथा समालोचक हुन् । खरो तर स्पष्टवक्ता स्वभावका कारण उनका विचार, जीवनदर्शन र लेखाइ पनि त्यस्तै हुनु स्वाभाविक लाग्छन् मलाई । साहित्यसेवामा मान्छे भावुक र दयावान् नरही निरन्तर लाग्नै सक्दैन । समाजसेवा र मानवहित नै कविहरूको वास्तविक सपना पनि हो । आफ्नो सपना पूरा गर्न नै साहित्यसिर्जना गर्दछन् र गरिरहेका हुन्छन् । यसै क्रममा कवि ज्ञवालीबाट सूक्तिहरूको सङ्ग्रह प्रकाशन गर्ने चाहानाको विकास हुनु पनि स्वाभाविक नै लाग्छ मलाई ।”
त्यसैगरी, पुस्तकमा लेखक ज्ञवाली लेख्नुहुन्छ, ”यो कृति आकारमा सानै भए पनि मलाई उत्साहित बनाउन र आफूलाई आनन्दित पार्न चाहने पाठकहरूका लागि यसमा अनेक कुरा छन् नै साथमा मेरो आलोचना गर्न चाहने पाठकका लागि पनि यहाँ अनेक कुरा छँदै छन् । खास गरी पुनरावृत्ति आलोचनाको मुख्य विषय हुन सक्छ । यो कुरा थाहा भएर पनि प्रत्येक पुनरावृत्तिमा बेग्लै सौन्दर्य र बेग्लै स्वाद छ भन्ने लागेकाले तिनलाई यहाँ समावेश गरेको हुँ । यसबापत हुने आलोचना मेरा लागि स्वीकार्य नै छ ।”
पुस्तकलाई ऐरावती प्रकाशन प्रा.लि ले बजारमा ल्याएको हो । एक सय साठी ओटा सूक्ति समेटिएको सङ्ग्रहको मूल्य एक सय पच्चिस रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 










