पोखरा । ‘आख्यान लेख्नेहरुले सबैभन्दा बढी गैरआख्यान पढ्नुपर्छ,’ आख्यानकार छुदेन काविमोले भन्नुभयो । बुकवर्म फाउन्डेसनको आयोजनामा पोखरामा जारी एनसेल फाउन्डेसन १२औं नेपाल लिटरेचर फेस्टिभलको ‘आख्यानको स्रोत’ सेसनमा आख्यानकार छुदेनले धरातल, इतिहास थाहा नभई त्यसमा कल्पना गर्न नसकिने उल्लेख गर्नुभयो ।
‘धरातल, इतिहास थाहा नभई त्यसमा कल्पना गर्न सक्नुहुन्न । पहिला रिसर्च गर्ने हो । त्यसपछि कल्पना हाल्ने हो । त्यसरी पो उपन्यास बन्ने हो कि,’ उहाँले भन्नुभयो । उक्त सेसनमा आख्यानकार छुदेनसहित लेखकद्व विवेक ओझा र प्रगति राईले आख्यान कसरी लेख्ने ? आख्यानको स्रोत के के ? भन्ने विषयमा चर्चा गर्नुभयो । सेसनको सहजीकरण दीपक पराजुलीले गर्नुभएको थियो ।
लेखक विवेक ओझाले लेख्ने विषय आफ्नो फिलिङ्समा निर्भर हुने उल्लेख गर्नुभयो । मोमेन्ट वा परिस्थितिले पनि विषयलाई प्रभाव पार्ने उहाँको तर्क छ । ‘कुनै पनि पात्र होस् । कुनै पनि मोमेन्ट होस् । अथवा कुनै पनि परिस्थिति होस् । त्यसले सुरुमा दिमागमा क्लिक गर्छ,’ उहाँले भन्नुभयो, ‘कसरी गर्दो हो भनेर विचार गर्दाखेरि म के महशुस गरिराखेका छु । मेरो फिलिङ्समा चाहिँ निर्भर हुन्छ ।’

प्रगित राइ
लेखक प्रगति राईले आफुले आख्यान लेख्दा विषयअनुसार पात्र चयन गर्ने बताउनुभयो । काल्पनिक भएर पनि यथार्थ जनाउन सक्ने खालको पात्र चयन गर्नेमा उहाँले जोड दिनुभयो। ‘मैले एउटा विषय लिएको हुनाले त्यो विषय अनुसारको पात्र चयन गर्छु । जस्तो मैले छोरीलाई भविष्यको अधिकार अहिलेसम्म लेख्दै आएको छु । त्यसको लागि आफ्नो कथा लगाउनै पाउँदैन । किनभने मेरो छोरीहरु नै छैनन्,’ उहाँले भन्नुभयो । उहाँले थप्नुभयो, ‘त्यसकारण मैले विषयलाई सुहाउँदो नयाँ पात्र, काल्पनिक पात्रहरु । जो काल्पनिक भएपनि यथार्थ जनाउछ । त्यस्तो पात्रहरुलाई मात्र राख्ने गर्छु ।’
आख्यानकार छुदेनले कुनै विषयमा लेख्दा पहिला अनुसन्धानमा फोकस हुने बताउनुभयो । विषयसँग जोडिन सकिएपछि सुहाउँदो पात्र निस्कने उहाँको तर्क थियो । ‘यो विषयमा लेख्छु भनिसकेपछि मैले के गर्छु भने अनुसन्धानमा फोकस गर्छु । रिचर्स गर्ने हो । ठाउँलाई बुझ्ने हो । त्यो गर्दा के हुन्छ भने त्यो विषयमा लेखिराखेको छु,’ उहाँले भन्नुभयो ।

विवेक ओझा
‘त्यो विषय जहाँसँग जोडिएको छ । त्यो भूगोलसँग पनि प्रेम भएर जाने। त्यसपछि जन्मिएको पात्रको सम्बन्ध बनेर जाने ।’ लेखनको यात्रा सुरु भएपछि केके कुरा आवश्यक हुन्छ अनुसन्धान गर्दै जाने आकार लिएपछि बल्ल लेखाईको यात्रा सुरु हुने लेखक ओझाले सुनाउनुभयो ।
‘कथा लेखन हो भने कथाको आकार लिन्छ । उपन्यास लेख्ने हो भने उपन्यासको आकार लिन्छ । जब यो विषयमा आख्यान लेख्छु भनेर दिमाग आउँछ, ‘त्यो विषयका हरेक कुराहरु हामीलाई थाहा नहुन पनि सक्छ । त्यसपछि बल्ल लेखनको जर्नि सुरु हुन्छ जस्तो लाग्छ । कुन कुन कुरा आवश्यक हो । त्यो अनुसन्धान गर्ने हो ।’
लेखक प्रगतीले अहिलेको समाजलाई परिकल्पना गरेर लेख्दा अहिलेको समाजलाई काम लागेपनि भविष्यको जेनेरेसनले बुझ्न नसक्ने सुनाउनुभयो । ‘जो समाज छ । यो समाजलाई अझै अर्को तरिकाले परिकल्पना गरेर म चाहिँ लेख्छु । त्यो चाहिँ वतर्मान समाजका लागि काम लाग्यो । यो वर्तमान समाजलाई यस्तो खालको हुनुपर्छ भनेर परिकल्पना गरेर मैले परिवर्तन गर्छु । अहिलेको समाजलाई काम लाग्ला । तर, ५० वर्षपछिको जेनेरेसनले अहिलेको समाजलाई कसरी बुझ्छ त ?,’ उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो, ‘डिटेलमा कसरी बुझ्ने भन्दाखेरि जो लेखकले वर्तमान समाजलाई चित्रण गरेर उतारेको हुन्छ । त्यो किताब चाहिँ अली बढी काम लाग्दो हुन्छ ।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










