साहित्यपोस्ट प्रतिनिधि, भर्जिनिया ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यानसस च्याप्टर, अमेरिकाको आयोजनामा सुबिन भट्टराई लिखित उपन्यास ‘इजोरिया’ माथि परिसंवाद कार्यक्रम गत सम्पन्न भएको छ ।

क्यानसस च्याप्टरकी अध्यक्ष कमला न्यौपानेको सभापतित्वमा गत शनिबार सम्पन्न कार्यक्रममा पत्रकार तथा निबन्धकार जयदेव गौतमले उपन्यास ‘इजोरिया’ विषयक समीक्षात्मक टिप्पणी गरेका थिए ।

जुम प्रविधिको प्रयोग गर्दै भर्चुअल रूपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै समीक्षक गौतमले उपन्यासमा उल्लेख गरिए जसरी ‘इजोरिया’ आञ्चलिक उपन्यास नभएको जिकिर गर्दै सवा लाखभन्दा धेरै शब्द समेटेर तयार भएको किताबमा डेढ–दुई सय ओटा शब्द जनकपुर क्षेत्रमा बोलिने गरेअनुसार राख्दैमा सिङ्गो किताब आञ्चलिक हुन नसक्ने उल्लेख गरे । बरु आञ्चलिकताको थोरै चटनी भने किताबमा कमोबेश केही पाइने पनि उनले बताए ।

समीक्षक गौतमले झण्डै पाँच सय पृष्ठ लामो किताबमा पात्रपात्रा धेरै नरहेको र मूलपात्रका रूपमा नायिका सिम्रीक, उसको साथी बुचकुन रामबली, अर्को साथी ठाकुर, सिम्रीकका बाबु शङ्कर र आमा रमिला र दिदी शिरीष र बहिनी सभ्यता र भाइ सन्देश आदि रहेको र कथानकलाई अगाडि बढाउन सहयोगी हुने अरू करिब एक दर्जन पात्रपात्रा रहेको उल्लेख गर्दै अगाडि भने, “उपन्यासमा मधेशमा बोलिने कतिपय हिन्दी शब्दहरू गलत ढङ्गले लेखिएका छन् । धेरै ठाउँमा आएका मधेश–बोलीचालीका शब्दहरू बेप्रसङ्गमा जबर्जस्ती प्रयोग गरेको महसुस हुन्छ । अनेक ठाउँमा भाषालाई प्रभावपूर्ण पार्ने नाममा दिइएका तुलनात्मक प्रसङ्गहरू पनि उचित छैनन्, जस्तो एक दृष्टान्त– पृ.६।– ‘डायरीमा एक अन्तिम अनुच्छेद लेखिन्’ (अन्तिम अनुच्छेद पनि कतिवटा हुन्छन् र ?) ।। पृ.६।– ‘भित्तामा एउटा झ्याल छ’ (झ्याल त भित्तामै हुन्छ, भुइँ वा छतमा त हुँदैन) ।। पृ.१६०–१६२… ‘ठस्स गन्हाउने अनुहार…’, ‘साउने आकाश जस्तो ढाडिएको अनुहार…’ (?????) ।। पृ.२५३।– ‘आकाशमा ताराहरू फोका झैं उठेका थिए’ (तारा पनि फोका सरी हुन्छन् र ?) ।। यसरी सम्पादनमा यथेष्ट ध्यान नदिइएकाले अनेक स्थानमा भाषामाथि राइँदलो भएको अनुभूति जोकोही भाषप्रेमीले सहजै गर्न सक्छ ।”

उपन्यासकी मूलपात्र सिम्रीककी दिदी शिरीषले घरमै झुण्डिएर आत्महत्या गरेको र समग्र किताब यही आत्महत्या किन गर्नु परेको हो भन्ने सिम्रीकको खोजको वरिपरी घुम्दै त्यसको रहस्योद्घाटन गर्दै र त्यस आत्महत्याका लागि खास दोषी रहेको व्यक्तिलाई अदालतले बेकसुर भन्दै रिहा गरेपछि रहस्यमय ढङ्गले हत्या भएको प्रसङ्गमा उपन्यास समाप्त भएको उल्लेख गर्दै समीक्षक गौतमको भनाइ थियो, “उपन्यासमा अनेकअनेक घटना र प्रसङ्गहरू अत्यन्त अस्वाभाविक र बिल्कुलै नहुने किसिमका छन् । क्याम्पस पढ्ने हुर्किसकेकी अध्ययनशील छोरीलाई बाबुले सधैँ रक्सी खाएर थप्पड्याउने, लात्तीले भकुर्ने, कपाल लुछ्ने, मुखमा थुकीदिने, गोदामामा थुन्ने आदिआदि गरिरहन्छ । यस्ता अनेक प्रसङ्ग छन् ।”

गौतमको निष्कर्ष थियो, “यी र यावत कमी–कमजोरी रहे पनि उपन्यास पढ्नका लागि ठीक छ । पढ्न शुरु गरेपछि छोडीहाल्न मन लाग्दैन । किनभने भाषा सरल छ र सलल बगेको छ । घटना वर्णन वा कथानकको विस्तार पनि यदाकदा ‘सस्पेन्स थ्रिलर’ शैलीमा भएको छ । एउटै कुरा वा तथ्यलाई धेरै वाक्यहरूको सहयोगले भनिएको छ । यसले गर्दा पनि खासगर भावुक मनहरूलाई यो उपन्यासले राम्रैसँग आकर्षित गर्न सक्छ ।”

अनेसासका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष लालगोपाल सुबेदीले शुभकामना व्यक्त गरेको परिसंवाद कार्यक्रममा कतिपय सहभागीहरूले उपन्यासकार भट्टराई र समीक्षक गौतमसँग विभिन्न जिज्ञासा राखेका थिए । छलफलकै क्रममा उपन्यासकार सुबिन भट्टराईले केही वर्षको तयारीपछि सार्वजनिक हुन सकेको आफ्नो उपन्यास ‘इजोरिया’ अहिलेसम्ममा अस्सी हजार प्रति छापिइसकेको जानकारी गराएका थिए ।
०००