सामना म्यूजिक क्रियशन नेपालले डा. दामोदर पुडासैनी किशोरलाई राष्ट्रिय साधना साहित्य सम्मानले विभूषित गरेको छ । क्रियसनले यस वर्षदेखि साहित्य क्षेत्रमा पनि राष्ट्रिय साधना साहित्य सम्मान प्रदान गर्न सुरू गरेको हो ।
“डा. पुडासैनीले लामो समयदेखि अनवरत रूपमा नेपाली भाषा , साहित्य, कला र सामाजिक, आर्थिक, भौगोलिक तथा सांस्कृतिक क्षेत्रको संरक्षण, संवर्द्धन र स्तर उन्नति गर्न अतुलनीय रूपमा समाजोपयोगी कार्यमा गरिरहनुभएको योगदान अतुलनीय र अनुकरणीय भएकाले राष्ट्रिय साधना साहित्य सम्मान अर्पण गरिएको हो” – सामना म्यूज़िक क्रियसनले जनाएको छ ।
सामना म्यूज़िक क्रियसन नेपालले हरेक वर्ष सिनेमा निर्माण, निर्देशन, अभिनय, गीत लेखन, छायांकनजस्ता विधामा प्रतिस्पर्धा गराई उत्कृष्ट ठहरिएका सिनेमा र स्रष्टाहरूलाई वि.स. २०७५ देखि सामना म्यूज़िक अवार्ड प्रदान गरिँदै आएकोमा गत वर्षदेखि सोको अतिरिक्त नगद पुरस्कारसहित सामना म्यूज़िक रिवार्ड पनि प्रदान गर्दै आएको छ । सामना म्यूज़िक क्रियशनले नै नेपालमा पहिलो पटक गीतसंगीत र सिनेमा क्षेत्रमा अवार्डको सट्टा रिवार्ड प्रदान गर्न सुरू गरेको हो ।
सामना म्यूजिक क्रियसन नेपालकी अध्यक्ष सामना शाहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष एवं वरिष्ठ कलाकार भूवन केसी हुनुहुन्थ्यो ।
सामना म्यूजिक क्रियसनका संरक्षक शान्ति प्रियले भन्नुभयो, ‘स्रष्टाहरू सम्मानको भोको हुँदैनन्, साधनामा लागिरहन्छन् । ठूला ठूला सम्मान पाएर पनि दैनिक गुजारा गर्न धौधौ पर्ने हाम्रा स्रष्टाहरूको नियतिलाई मनन गरेर सामना म्यूजिक क्रियसनले नगद पुरस्कारसमेत अर्पण गर्न सुरू गरेको कुरा हो ।’
प्रमुख अतिथि भुवन केसीले जीवनको लामो समयसम्म साहित्य, कला र संस्कृतिको उन्नयनका लागि काम गर्ने स्रष्टाहरूलाई राज्यले गर्न नसकेको अवार्ड र रिवार्ड सामना म्यूजिक क्रियसनले प्रदान गर्नु महत्त्वपूर्ण कार्य भएको बताउनुभयो ।
राष्ट्रिय साधना साहित्य सम्मानबाट सम्मानित साहित्यकार डा. दामोदर पुडासैनी किशोरले राष्ट्रका निकायहरूले राम्रोभन्दा हाम्रो स्रष्टा भनेर पद, पुरस्कार र सम्मान दिइरहेको परिप्रेक्ष्यमा सामना म्यूज़िक क्रियसनले निजी स्तरमा स्वतन्त्र जुरीबाट छनौट भएका स्रष्टालाई यस किसिमको पुरस्कार र सम्मान गर्ने परम्परा थालनी गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
सो अवसरमा सामना म्यूजिक क्रियसनकी संस्थापक एवं अध्यक्ष सामना शाहले समाजलाई सकारात्मक परिवर्तन गर्न जीवनभर लागिरहने स्रष्टाहरूलाई नै राज्यले उचित कदर गर्न नसकेको, सम्मान र पुरस्कारको नाममा अनेकौँ विकृतिहरू फैलिरहेको बेला त्यसमा सुधार ल्याउने र स्वतन्त्र जुरीले मूल्याङ्कनका बहुआधारमा छनौट गरेका स्रष्टालाई निष्पक्ष ढङ्गले पुरस्कार र सम्मान गर्ने परम्पराको थालनी गरेको बताउनुभयो ।
कार्यक्रममा ठूलो सङ्ख्यामा साहित्यकार, कलाकार, राजनीतिज्ञ , समाजसेवी र सर्वसाधारणको उपस्थिति थियो । सो अवसरमा कलाकारहरूले गीत, सङ्गीत, नृत्य र अभिनय प्रस्तुत गरेका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 










