पोखरा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यबारे त यहाँहरूलाई जानकारी भएकै हुनुपर्छ । म चाहिँ देवकोटाको साहित्यिक पक्षभन्दा देवकोटाको व्यक्तित्व कस्तो थियो, देवकोटाको आनीबानी कस्ता थिए, देवकोटाका रमाइला कुराहरु के के थिए, यस्ता विषयमा केन्द्रित हुन चाहेको हो मैले । म त्यतैप्रति नै आफूलाई केन्द्रित हुँदै लैजानेछु ।
अब महाकवि लक्ष्मीप्रसाद देवकोटा मेरो पिताजी पण्डित सोमनाथ घिमिरे व्यासका मित्र हुनुहुन्थ्यो । मेरो पिताजी पनि नेपाली साहित्य र अंग्रेजी साहित्यमा विद्वान् हुनुहुन्थ्यो, लेखक पनि हुनुहुन्थ्यो । हाम्रो मुलघर रामेछाप हो । रामेछापबाट पिताजी बेलाबेलामा भाषा पाठशालामा पढाउनुहुन्थ्यो र काठमाडौं आउने गर्नुहुन्थ्यो । त्यही आउने शिलशिलामा आफू साहित्य अनुरागी भएको हुनाले लक्ष्मीप्रसाद देवकोटासँग मेरो पिताजी चिनजान गर्न जानुभो । यो चाहिँ वि.स. १९९६ को घटना हो । त्योबेलादेखि पिताजीको देवकोटासँग परिचय भएको हो । परिचयमा प्रगाढता कसरी थपिँदै गयो भने मेरो पिताजी त्योबेला श्री ३ भीम शमशेरको टंगाल दरवारमा सम्बन्धित हुनुहुन्थ्यो । त्यहाँ पण्डितको कार्य गर्नुहुन्थ्यो । र त्यही टंगाल दरवारमा लक्ष्मीप्रसादकी साइली दिदी पनि कार्यरत हुनुहुन्थ्यो । दिदीको माध्यमबाट देवकोटासँगको मित्रतामा प्रगाढता थपिँदै गयो । यसरी आउने जाने क्रम चल्दै गयो ।
मेरो पिताजी धार्मिक कुराहरु लेख्ने । लेखेका कुराहरु देवकोटालाई देखाउनु जानुहुन्थ्यो । देवकोटाले त्यो हेरेर भन्नुहुन्थ्यो रे ‘पण्डितजी, तपाईंको चस्माको गलास कहाँको हो ? इन्डियन गलास हो कि युरोपियन ?’ । पिताजीले इन्डियन भन्नुभएछ । त्यसपछि देवकोटाले ‘इन्डियाको गलासको काम छैन, युरोपियन चस्मा लगाउनुपर्छ । तपाईंको लेखन रुढिबादी भयो । त्यो इन्डियन क्लासकै प्रभाव हो त्यसैले युरोपियन गलास लगाउनुस् तपाईंले अनि मात्र लेखहरु लेख्नुस्’ भन्नुभएछ ।
त्यो भन्नुको मतलब, तपाईंले आफ्नो लेखनमा दृष्टि विस्तार गर्नुस्, आधुनिक युगलाई सुहाउने खालको पनि लेख्नुस् भन्नृभएको होला भन्ने मलाई लाग्दछ । र यही प्रसंगमा पिताजीले भनेअनुसार देवकोटाको घरमा जानुहुन्थ्यो । देवकोटाको कविताहरू पनि सुन्ने, आफ्नो लेख रचना सुनाउने क्रम चलिरहन्थ्यो । हामी त केटाकेटी थियौं । म चाहिँ १९९८ सालमा जन्मिएको हुँ । मैले ६/७ वर्षदेखि देवकोटाजीलाई आफ्नो घरमा देख्ने अवसर पाएको हुँ ।
मेरो पिताजी संगीतमा शौख राख्नुहुन्थ्यो । उहाँ तबला पनि बजाउने हार्माेनी पनि बजाउने र देवकोटाजी पनि त्यस्तो संगीतमा चाख राख्ने, मेरो पिताजीको बैठकमा उहाँका केही मित्रको जमघट हुने गर्दथ्यो । त्यसमा देवकोटा, उहाँका काइला भाइ मधुसुदन देवकोटा, जनकराज शर्मा, रिदयराज शर्मा यिनीहरूको जमघट हुन्थ्यो । देवकोटाजी हार्माेनियम बजाउँदै गीत गाउन थाल्नुहुन्थ्यो, शास्त्रीय संगीत ।
अब देवकोटाजी विरामी हुनुभयो । क्यान्सर रोगले ग्रसित हुनुभयो । मेरो पिताजी टंगाल दरबारसँग सम्बन्धित भएको हुनाले यहाँका राणाहरुको घर कलकत्तामा पनि थियो । त्यो देवकोटालाई पनि थाहा थियो । देवकोटाले ‘पण्डितजी रोगको उपचार गर्न जानुपर्यो । रानी समून्द्रकुमारीको घर हामीलाई उपचार गर्न जानुछ । केही बस्ने व्यवस्था तपाईंले मिलाइदिनुहुन्छ कि’ भनेर भन्नुभएछ । पिताजीले ‘हुन्छ नि, किन नहुनु’ भनेर मिलाइदिनुभयो । उहाँ उपचारका लागि कलकत्ता जानुभयो ।
एकदिन देवकोटाका भाइ मधुसुदनले मेरो पिताजीलाई भन्नुभएछ, ‘पण्डितजी, तपाईंलाई दाइले भेट्न खोज्नुभएको छ । एकपटक अस्पताल जानुपर्यो ।’ अनि पिताजी त्यहाँ जानुभयो । जानेबित्तिकै देवकोटाजी जुरुक्क उठेर तल झर्नुभएछ । ‘म बंगभूमिमा मर्ने भएँ । मलाई आफ्नै भूमिमा पशुपतिनाथ, पवित्र बागमती नदिमा पुग्ने त्यहाँ मर्ने, त्यहाँ जल्ने इच्छा छ । मलाई त्यहाँ जाने व्यवस्था मिलाइदिनुस्’, भनेर देवकोटाले ढोग्नै खोज्नुभएछ । त्यसपछि पिताले उठाउनु भयो ।
त्यसपछि परिवारप्रति जंगिदै देवकोटाले के भन्नुभएछ भने, ‘यिनीहरु मलाई उपचार गर्न आएका हुन् र यहाँ ? कलकत्ता शयर गर्न आएका हुन् । यहाँ मलाई बिरामीलाई छोडेर घुम्न जान्छन् । देख्नुभो, अहिले मलाई पागल भन्छन् । देखिहाल्नुभयो होला नि !’ भनेर पिताजीलाई भन्नुभएछ ।
अनि पिताजीले ‘मैले के सहयोग गर्नुपर्यो ?’ भन्दा मेरो नेपाल पुग्ने खर्चपर्च जति ल्याएको थिएँ । सकियो । परिवारसहित काठमाडौं पुग्ने खर्चको व्यवस्था तपाईंले गर्दिनुपर्यो भन्नुभएछ ।
पिताजीले देवकोटाको भाइलाई सोध्नुभएछः हामीलाई काठमाडौं जान कति लाग्छ । उहाँले ५ सय भए पुग्छ भन्नुभयो । ल म त्यति त दिइहाल्छु नि दिनुभएछ । र महाकविले के भन्नुभएछ भने, ‘मैले तमसुक लेख्दिनु पर्यो ।’ त्यसपछि मेरो पिताले भन्नुभएछ, ‘मैले तमसुकलाई पत्याएर दिएको हो र ? मैले त मेरो मित्र लक्ष्मीप्रसाद देवकोटालाई पत्याएर दिएको हुँ । तमसुक समसुक चाहिँदैन मलाई । सक्नुभयो भने फिर्ता गरिदिनु होला, सक्नुभएन भने मलाई केही चाहिँदैन ।’
फेरि महाकविले भन्नुभएछ, ‘म त बाच्दिनँ, मरिहाल्छु । व्रमश्वो खाएर मर्छु कि भन्ने डर लाग्छ मलाई । भनेर जबरजस्ती गरेर देवकोटाले लेख्नुभएछ । अगाडि रहेका किताब र पत्रिकामा लेख्नुभएछ – मैले सोमनाथ घिमिरे व्याससँग ५ सय भारु सापट लिएको छु । त्योचाहिँ मेरो सन्तानले तिरिदिनु’ । ४/५ वटा किताब र पत्रपत्रिकामा लेख्नुभएछ । यो लेखेपछि देवकोटाले भन्नुभएछ, ‘यो देखेपछि मेरो सन्तानले तपाईं पैसा तिर्छन् । अनि मलाई शान्ति मिल्छ ।’
(पोखरामा जारी ११औं नेपाल लिटरेचर फेस्टिभलमा रोचक घिमिरेले ‘महाकवि : महाआख्यान’ विषयक सेसनमा राखेको विचारको सम्पादित अंश)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।