बालसाहित्य लेखनका क्षेत्रमा विश्वमा आइरहेको नयाँ प्रवृत्तिका बारेमा विस्तृत विचार गोष्ठी सम्पन्न भएकाे छ । नेपाल बालसाहित्य समाज र नेपाल प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा ‘बालसाहित्यको वैश्विक गति : परिवर्तन र प्रगति’ विषयक गोष्ठी सम्पन्न भएकाे हाे ।
कार्यक्रममा ‘बालसाहित्यको वैश्विक गति : परिवर्तन र प्रगति’ शीर्षकको गोष्ठीपत्र प्रस्तुत गर्दै समालोचक महेश पौड्यालले आज हिजोका औपदेशिक र धार्मिक विषयभन्दा फरक धारमा बालसाहित्य लेखिन थालेको बताए । उनले भने, “हिजो बालबालिकालाई दिन हुँदैन भनिएका कतिपय विषय बालसाहित्यमा अहिले स्वीकारिन थालिएको छ । यो प्रवृत्ति नेपाली बालसाहित्यमा पनि देखिएको छ । अहिले विश्व बालसाहित्यमा वातावरण, विज्ञान, समता, युद्धलगायतका कतिपय विषयले प्रवेश पाएको छ ।”
कार्यक्रममा बालसाहित्य सर्जक अनन्त वाग्ले र प्राज्ञ परिषद् सदस्य अमर न्यौपानेले टिप्पणी गर्दै गोष्ठीपत्रले अत्यन्त महत्त्वपूर्ण विषय समेटेको बताउँदै केही सुझावहरू प्रस्तुत गरे ।
सभापतिको आसनबाट उपकुलपति विमल निभाले समयानुसार बालसाहित्यमा नयाँ विषयले प्रवेश पाउनु स्वाभाविक भएको बताए । बालसाहित्य विभागबाट भइरहेका कार्यबारे पनि उनले जानकारी दिए ।
नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले ‘पठन संस्कृति ह्रास भयो भन्ने तर स्वयंले कति किताब पढ्ने गरेका छौं र हामी कति जनाको घरमा सानो भए पनि पुस्तकालय छ ?’ भनी प्रश्न गरे । उनले थपे, “नेपाली साहित्यको पाठक तयार गर्नकै लागि पनि अब बालबालिका केन्द्रित सिर्जनात्मक कार्यक्रम गर्नुको विकल्प छैन ।”
नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीलको सञ्चालन र समाजका महासचिव विजयराज आचार्यले स्वागत भाषण गरेको उक्त कार्यक्रममा डा. भरतकुमार भट्टराई, कार्तिकेय घिमिरे, भोलाकुमार श्रेष्ठ, इन्द्रप्रसाद अधिकारी, वैरागी जेठालगायतले जिज्ञासा राखेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।