‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार – २०७९’ को अन्तिम सूचीमा राम विन्दु श्रेष्ठको संस्मरणात्मक कृति ‘मेरा सोभियत सम्झनाहरू’ पर्न सफल भएको छ । पहिलो पुस्तकको रूपमा गैरआख्यान लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका लेखकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को अन्तिम सूचीमा ‘मेरा सोभियत सम्झनाहरू’ पर्न सफल भएको हो ।
पुरस्कारको अन्तिम सूचीमा राम विन्दु श्रेष्ठको संस्मरणात्मक कृति ‘मेरा सोभियत सम्झनाहरू’सँगै डा. शिवराज भट्टराईको संस्मरणात्मक कृति ‘राँको बालेर यात्रामा’ र डा. अवनिभूषण उपाध्यायको आत्मवृत्तान्त ‘मुटुसँग सहयात्रा’ रहेका छन् । अन्तिम सूचीमा छानिएका तीन कृतिमध्ये एकलाई ५० हजार रुपियाँ राशिको ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार- २०७९’ प्रदान गरिनेछ ।
‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार – २०७९’ का लागि ०७९ सालभरि प्रकाशनमा आएका ९ गैरआख्यान विधाका कृतिहरू प्राप्त भएका थिए । पहिलो चरणमा ९ गैरआख्यान विधाका कृतिहरूबाट ५ कृतिको सूची जारी गरिएको थियो । विशेष मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा उक्त सूचीमा समावेश ५ कृतिमध्येबाट उत्कृष्ट तीन कृतिको ‘अन्तिम सूची’ जारी गरिएको हो ।
‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार – २०७९’को विजेताको घोषणा सार्वजनिक समारोह आयोजना गरी गरिने साहित्यपोस्टका प्रधानसम्पादक तथा मूल्याङ्कन समितिका संयोजन अश्विनी कोइरालाले जनाउनुभएको छ । उहाँले भन्नुभयो, ‘अन्तिम सूचीमा परेका तीन गैरआख्यान विधाका कृतिहरू अलग विशेषताका साथ उत्कृष्ट छन् । तीन कृतिमध्ये सर्वोत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने कुरामा हामी प्रतिबद्ध छौं । सार्वजनिक समारोहको आयोजना गरी पुरस्कृत कृति र स्रष्टाको घोषणाका साथै पुरस्कार वितरण गरिनेछ ।’
कोइरालाका अनुसार, गुरूपूर्णिमाको अवसर पारेर आउँदो असार १८ गते साहित्यपोस्टले विशेष सार्वजनिक समारोहको आयोजना गर्नेछ । उक्त समारोहमा ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’, ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ गरी तीनै विधाका पुरस्कारको विजेता घोषणासहित पुरस्कार तथा सम्मानपत्र वितरणसमेत गरिनेछ ।
‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ पुरस्कारको प्रायोजन अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले गर्नुभएको हो । राणाकालमा समाज परिवर्तनका लागि जलसमाधि लिएकी योगमायाका विषयमा विस्तृत अध्ययन गर्नुभएका उत्तमप्रसाद पन्त साहित्यकार पारिजातसँग लामो समय रहनुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।