डेब्यु गैरआख्यान कृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’का लागि उत्कृष्ट ५ गैरआख्यान विधाका कृतिहरूको सूचीमा लालबहादुर कार्कीको संस्मरण ‘कर्मरेखा’ पर्न सफल भएको छ ।
उमेरले ७० वर्ष काटिसकेका अवकास प्राप्त शिक्षक लालबहादुर कार्कीको पहिलो पुस्तक हो ‘कर्मरेखा’ । ‘साहसः मृत्युलाई जित्ने’, ‘सिकाइः भोगाइका बाटाहरुमा’ र ‘सम्बन्धको धार’ गरी तीन खण्डमा प्रस्तुत संस्मरणसङ्ग्रहको केन्द्रमा कार्कीको शिक्षण पेसाको अनुभव र जीवन भोगाइको वृत्तान्त छ । जीवनका सजिला–अप्ठ्याराहरुको सन्तुलन यो कृतिमा केन्द्रीय आदर्शका रुपमा देखापरेका छ ।
२७ शीर्षकमा संस्मरणहरु सङ्ग्रहित कृतिलाई बीएन पुस्तक संसारले प्रकाशनमा ल्याएको हो ।
छानिएका अन्य डेब्यु गैरआख्यान कृतिहरूमा डा. अवनिभूषण उपाध्यायको आत्मवृत्तान्त ‘मुटुसँग सहयात्रा’, राम विन्दु श्रेष्ठको संस्मरण ‘मेरा सोभियत सम्झनाहरू’, नीलकमलको ‘सुरसङ्गीतका केही साधक’ र डा. शिवराज भट्टराईको ‘राँको बालेर यात्रामा’ रहेका छन् ।
यो सूची पहिलोपटक पुस्तक लेखी नेपाली साहित्यमा औपचारिक पाइला चालेका नयाँ लेखकका २०७९ सालमा प्रकाशन भएका ९ गैरआख्यानका पुस्तकहरूबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टीमले छानेको हो ।
यो पुरस्कारको राशि ५० हजार रूपैयाँ रहेको छ ।
‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को प्रायोजन अनुसन्धानदाता एवं शिक्षा व्यावसायी उत्तमप्रसाद पन्तले गर्नुभएको छ । राणाकालमा समाज परिवर्तनका लागि जलसमाधि लिएकी योगमायाका विषयमा विस्तृत अध्ययन गर्नुभएका पन्त साहित्यकार पारिजातसँग लामो समय रहनुभएको थियो ।
यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ । र, तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल कृतिमध्ये उत्कृष्ट एकलाई ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ प्रदान गरिने छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२८ जेष्ठ २०८३, बिहीबार 







