ह्रस्व-दीर्घ कसरी जान्ने ?

१. अन्तमा हिकार आएमा ‘चाहिँ’ शब्दबाहेक सबैमा दीर्घ लेख्ने, “चाहिँ” अव्यय भएकाले ह्रस्व लेखिएको ।
कोही यही
त्यही त्यहीँ
यहीँ कहीँ
उही उहीँ

कहिलेकाहीँ तानाशाही
जवाफदेही लापरबाही
कारबाही मनाही
सही सोही
दही मोही
गोही गवाही (साक्षी)
बताही बही
विरही सतही आदि ।
२. आज्ञार्थक क्रियापदका अन्तमा आउने उकार दीर्घ लेख्ने ।
जस्तै : आऊ, खाऊ, जाऊ, लगाऊ, देऊ, गराऊ आदि सबै ।
३. इच्छार्थक क्रियापद (प्रथम पुरुष, एकवचन) का अन्तमा दीर्घ लेख्ने, साथै चन्द्रविन्दुसमेतको प्रयोग गर्ने ।
जस्तै : लेखूँ, गरूँ, भनूँ, जाऊँ, खाऊँ, देखूँ आदि सबै ।
४. क्रियापदको भूतकालिक स्त्रीलिङ्गी रूपका अन्तमा आउने इकार दीर्घ लेख्ने ।
जस्तै : बहिनीले चिया बनाई । सुषमाले मलाई प्रेम-प्रस्ताव पठाई । आदि सबै ।
५. गरेर, भनेर, लेखेरजस्ता क्रियाविशेषणका रूपमा प्रयोग हुने गरी, भनी, लेखी आदि सबै दीर्घान्त हुने ।
जस्तै : उसले परिश्रम गरी (गरेर) पढ्नाले लोकसेवा उत्तीर्ण गर्यो । “म अन्याय सहन सक्दिनँ” भनी (भनेर) उसले उजुरी दिई ।
६. क्रियापद वा धातुका पहिलो अक्षर सबै ह्रस्व लेख्ने, साथै त्यस्ता धातुबाट बन्ने शब्दका जुनसुकै रूपमा पनि आदि (सुरु) अक्षर ह्रस्व नै लेख्ने ।
जस्तै : हिँड्नु, बिर्सनु, पिउनु, दिनु, लिनु, सिक्नु, हिँड्दै, बिर्सँदै, पिउँदै, हिँड्यो, पियो, दियो आदि सबै ।
७. प्रथम पुरुष-एकवचन-सामान्य वर्तमान कालको अन्तमा आउने उकार ह्रस्व लेख्ने ।
जस्तै : छु, हुँ, जान्छु, गर्छु, भन्छु, लेख्छु आदि सबै ।
८. क्रियापद वा धातुका अन्य रूपका बीचमा आउने सबै इकार वा उकार ह्रस्व लेख्ने ।
जस्तै : गरिन्छ, भनिन्छ, लेखाउँदै, पिउँदै, गरिएको, भनिएको, लेखिएको, पिइएको, पिएको, गरुँला, दिउँला, खाउँला आदि ।
९. सामान्यतया पुलिङ्गी नामका आदि (प्रारम्भ) र अन्तमा ह्रस्व लेख्ने ।
जस्तै : भाइ, दाइ, भिनाजु, फुपाजु, दाजु (तर दाजी), बाबु, बुवा आदि ।
१०. भाववाचक संज्ञाको बोध गराउन धातुमा आइ प्रत्यय लगाइने ।
जस्तै : लेखाइ, भनाइ, गराइ आदि सबै ।
तिम्रो लेखाइ निकै राम्रो छ । उसको काम गराइबाट नै संस्थाले प्रगति गरेको हो । यस भनाइमा कुनै सत्यता छैन ।
गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा जन्मनु भएका कवीन्द्र लम्साल पेसाले निजामती कर्मचारी हुनुहुन्छ। अङ्ग्रेजी र अर्थशास्त्रबाट स्नातक उत्तीर्ण गर्नुभएका उहाँ नेपाली भाषाप्रेमी हुनुहुन्छ। अनौपचारिक रूपमा लामै समयदेखि नेपाली लेखन शुद्धीकरण अभियानमा संलग्न रहनु भएका उहाँ २०७७ सालदेखि औपचारिक रूपमा यस अभियानमा लाग्नु भएको हो ।