रुनु हुन्न आमा संसार डुल्नु पर्छ मैले
पीडा बिसाउने काख भुल्नु पर्छ मैले

धेरै माया नदेऊ मुटु काम्न सक्छ ऐले
भित्र रुँदा पनि बाहिर खुल्नु पर्छ मैले

करेसामा चिरबिराउने मन भए पनि
बिरानो ठाँउमा चारा बटुल्नु पर्छ मैले

हाँसो भर्ने ओठले आँशु पिउँदै अब
जीवन सुम्पी भाग्य खोतल्नु पर्छ मैले

हत्केलामा प्राण राखी हिँडे म आमा
जीवनको पूरा मूल्य असुल्नु पर्छ मैले ।