मेरी आमा बनेको दिन
उनीलाई असह्य पीडा भएको दिन हो
रगत धारा बगाएको दिन हो
म प्रतिको दायित्व आफ्नो शिरमा बोक्दै
आफूले पीडाको ढोका उघारेको दिन हो
तर त्यो दिन हरेक वर्ष मनाउँछिन् मेरो
जन्मदिन भनेर

मलाई थाहा छ
बुढेसकालमा छोरो परदेशी हुँदा
जीवन भर नङ्ग्रा खियाएर
साहुको ऋण तिर्न नसक्दा
आमाको मनमा धाँजा फाटेको छ
तर भगवान्सँग प्रार्थना गरिरहन्छिन्
सन्तानको ओठ पनि नफुटोस् भनेर

आमाले बगाएको पसिनाको सागरमा
अपि हिमाल ऐना हेर्न आउँछ
कुनै बगर छैन जहाँ उनको पैतालाले
नटेकेको होस्
कुनै पाखा छैन जहाँ उनका हात
नबजारिएका हुन्
कुनै ढुङ्गा छैन जसले आमालाई नचिनेको होस्
कुनै माटो छैन जहाँ उनको पसिना
नमुछिएको होस्
कुनै मन्दिर छैन जहाँ मेरा लागि वर नमागिएको होस्
कुनै ऋषिमुनि छैनन् जसले आमाको जति
भक्ति र तपस्या गरेको होस्

मलाई सहरिया बनाइन् तर
आफ्नो फरिया फेर्न सकेकी छैनन्
मेरो भविष्यको लागि आफ्नो प्राण
दाउमा राखिन्
तर इमान बेचिनन्
कयौँ रातहरू भोकै कटाएकी छिन्
कयौँ बर्सात् ओतबिनै बिताएकी छिन्
मलाई छहारी दिई ग्रीष्मको घाममा रापिएकी छिन्

लाग्छ
भारीको दाम्लोले आमाको निधारका भाग्यरेखा मेटिइसके
आफू हारी रहिन् बारबार
तर प्रार्थना गरी रहिन् मेरा सन्तान
जितुन् यो दुनियाँ भनेर ।

शैल्यशिखर ४, दार्चुला