राजेन्द्र कार्की (क्यानडा)

बन्दुकलाई शंका लाग्यो
पक्कै यो लौरो होइन
यो कुनै छद्मवेशी हुनुपर्छ
सोध्यो
लौरो !
तिमी साँच्चिकै लौरो हौ त
के को लौरो हौ
काठको
बाँसको
बेतको

लौरोले भन्यो
धन्दा नमान
हो म लौरो हुँ
ढोडको पनि होइन
लौहको पनि होइन
त्यो बाहेक जेको ठाने
म केवल समान्य लौरो हुँ

फेरि
शंका पनि नगर
ऐस आराम
अनि सुख भोगको लागि
क्रान्ति भनेर भ्रान्ति छर्दै
शान्त बुद्ध भूमिमा
बारुद पड्काउने छद्मवेशी होइन
समृद्धिको दुन्दुभि बजाएर
डन र गन अघि पछि लाउदै
सामन्ती भन्दा धेरै माथि पुगेर
फेरि तिनै गरिवका खुन पसिना चुसेर
आफै समृद्ध बन्ने
छद्मवेशी क्रान्तिकारी होइन
दाँया बायाँ अघि पछि साइरन बजाउँदै
घण्टौँ ट्राफिक जाम गराउने
आजीवन सानसौकतमा बाँच्ने
गणतन्त्रका पिर्के बिर्के राजा रानी होइन

अनि फेरि बन्दुकले प्रश्न गर्यो
अनि के हौ त

बेसहाराको सहारा हुँ
निराधारको आधार हुँ
धार विनाको जनधार हुँ
बिर्तावालको लागि त्रास हुँ
हताशको दुनियाँमा सानो आश हुँ
निराशाको कालो बादलमा बतास हुँ
पलायन युवाको हिम्मत भर्ने साहस हुँ

फेरि लौरोले थप्यो
वितृष्णाले ल्याएको भेल हुँ
कुशासनले उब्जाएको बेमेल हुँ
अभिमानीलाई दण्ड दिने छडी हुँ
स्थापितलाई विस्थापित गर्ने कडी हुँ
जनघातीको टाउकोमा बज्ने वस्तु हुँ
बन्दुक जस्तै छद्मभेषी भए आफै अस्तु हुँ ।