कविता : गन्तव्यको खोजीमा

डा. चिन्तामणि शर्मा (असम)

उसलाई अचेल अचम्मको चाहना (?)

बोकिहिँडेको देख्न थालेको छु

गन्तव्य उसलाई मात्र थाहा छ

एउटा कुरा भन्न चाहान्छु-

हो हजुर, साँचो कुरा भन्न चाहान्छु

ऊ त त्यस्तो एकदमै थिएन

सबैको भरोसा थियो उसमाथि

तर समयको के भरोसा ?

परिवर्तन त प्रकृतिको नियमै हो

ॠतु बदलिए झैँ

उसलाई पनि बदलिन मन लाग्यो

ऊ मात्रै होइन,

एकहूल मानिस पनि

कसैको वास्ता नगरी

उसका पछिपछि कुदिरहेकाछन्, भेडासरी

अगुवा भेडो जुन बाटो जान्छ,

उसकै पछिपछि रमाउँदै कुदिरहेकाछन्

अरू भेडाहरू

प्राप्ति अप्राप्तिको बीचैमा त

अल्झिरहेको छ सारा संसार

सोचेका होलान् गन्तव्य

उसले नै पुर्याउनेछ भनेर (?)

तर एकदिन यस्तो आउनेछ

सोच्न बाध्य हुनेछन् र बुझ्ने पनि छन् उनीहरू,

अरूपनि छन् बाटाहरू

उनीहरूलाई गन्तव्यमा पुर्याउने ।

अध्यक्ष, विश्वनाथ कलेज