बालपनमा खेल्दै गर्दा
बाको आँखा छल्दै गर्दा
घैलाको पानी पोखिँदा
डालोको अन्न छरिँदा
आमाले ‘काम कसले बिगार्यो ?’ भनी सोध्दा
बा ‘खै, थाहा भएन’ भन्नुहुन्छ ।
जानीजानी झुट बोल्नुहुन्छ
बा झुट बोल्नुहुन्छ ।

मेरो छायाजस्तै मेरो पछि-पछि हिँड्नुहुन्छ
खुला आँखाले मेरै लागि दिउँसै सपना बुन्नुहुन्छ ।
गाँस, वास र कपासको लागि पल-पल सङ्घर्ष गर्नुहुन्छ
कसैले हालखबर सोध्दा केही ठिक हुँदैन
तर ‘सबै ठिक छ’ भन्नुहुन्छ ।
बा झुट बोल्नुहुन्छ ।

रोग, भोक र अभावले छुँदा
घरमा थोरै-थोरै खानेकुरा हुँदा
हामी भाइबहिनीहरूलाई बाँडेर खान भन्नुहुन्छ ।
आफू करुवामा पानी पिउनुहुन्छ र
केही नखाई ‘भोक छैन’ भन्नुहुन्छ ।
बा झुट बोल्नुहुन्छ ।

आफन्तबाट कोसेली पाएको
बजारबाट मिठो-मसिनो ल्याएको
आफू नखाई ‘मिलेर खाऊ’ भन्नुहुन्छ
‘मलाई मन पर्दैन’ भन्नुहुन्छ ।
बा झुट बोल्नुहुन्छ ।

अब आफैँ सक्षम र सबल हुनु छ
बालाई संसारकै सारा खुसी दिनु छ ।
त्यसैले म चाहन्छु
म र मेरो देशले छिटो मुहार फेरोस्
कसैका बाले पनि झुटो बोल्न नपरोस् ।
मेरा बाले पनि नपरोस्
बा ‘अब झुटो बोल्दिनँ’ भन्नुहुन्छ
तर बा झुट बोल्नुहुन्छ ।