आज अचानक
चोटा–कोठाको भित्तामा टाँगिएको
जीर्ण क्यानभासको पुरानो तस्बिर
उसै–उसै फिक्का–फिक्का देखेँ ।
सायद
अब नयाँ रङ फेर्नुपर्छ
समय बदलिसक्यो ।

तर,
नयाँ रङहरू…
चाँपजस्तै
सेताम्य फूलकी आमालाई
वृद्धाश्रममा छाडेर
कान्छा कुद्दै छ हतासिएर
चाँपको सुगन्ध भुल्दै
हातभरि रातो कागजी गुलाब लिएर
उही प्यारी कान्छीलाई फकाउन !

म त मनलाई मान्ने मान्छे ।
मौन मनले भन्यो
अब उस्तै छाडिदिऊँ पुराना तस्बिर
समाजले रङ फेरिसकेछ ।
यताउता खोजेँ
ती कुची पनि हराइसकेछन्
अनि त मैले
तस्बिरहरू फिक्का–फिक्का नै राखेँ ।