ओ सुन्दरी !
म तिमीलाई असाध्यै प्रेम गर्छु
जसरी सौन्दर्यले हिमाललाई प्रेम गर्छ
जसरी गतिले नदीलाई प्रेम गर्छ
जसरी बादलले बर्षातलाई प्रेम गर्छ ।
ओ रूपवती,
म तिमीलाई असाध्यै प्रेम गर्छु।
प्रेम गर्नु व्यापार होइन,
जसरी आस्थाको व्यापार हुन्छ ।
राजनीतिमा प्रेम गर्नु दलाली होइन,
जसरी सम्मानित अदालतमा
न्यायको दलाली हुन्छ ।
प्रेम गर्नु चाकडी पनि होइन,
जसरी राष्ट्रसेवक कहलिएका
शक्ति–केन्द्रको चाकडी गर्छन् ।
उहिले श्रमिकको हाड घोटेर
शाहजँहाले ताजमहल बनायो
र प्रेमिकालाई कैद गर्यो
दरबारमा कसैले लेख्यो कविता ?
र प्रेमिकालाई गीत बनायो
पटक्कै मन परेन मलाई !
त्यो दरबार र फाल्तु लाग्ने गीत !
प्रेम गर्नु भनेको
विचारको सम्मान गर्नु हो
तिमीले लेखेका कविताझैं
सुन्दर आदर्शको अनुसरण गर्नु हो
स्वयम् तिमीले
पक्रिएको उज्यालोको आलोकलाई
बचाइराख्नु हो !
ओ सुन्दरी !
म तिमीलाई असाध्यै प्रेम गर्छु !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
४ माघ २०८२, आईतवार 




