हाँसु भने ओठमा हाँसो छैन
राेऔँ भने आँखामा आँसु छैन।
एक मुठ्ठी मुस्कान ओठको लागि
कहाँबाट ल्याऊँ ?
एक अञ्जुली आँसु आँखाको लागि
कहाँबाट ल्याऊँ ?
आँसु झार्नु र मुस्कान छर्नु,
यसको लागि खै !
के काम गर्नु ?
अँधेरी रातमा निद्रा खै कुन्नी कहाँ भाग्छ ?
अन्धकारमा किन मन पटक–पटक थाक्छ ?
तर कसले देखेको छ र पीडाको भुमरीमा,
म रोएको ?
आँसुको भेल बिर्सेर आफ्नै मनका पीडाले
आँसुकै अनगिन्ती दाग धोएको ।
कस्तो हो यो रोग ? खै ! कहाँ होला उपचार ?
न शान्ति हुन्छ, न रमाइलो हुन्छ,
यो हो कस्तो अत्याचार।
अदृश्य व्यथा आँखै अगाडि लुकेको छ,
हुँदो हो असह्य पीडा,
भन्दैन त्यो मन दुखेको छ।
यहाँ जिन्दगी नै सुकेको छ,
अनि हाँसो र आँसु लुकेको छ।
जिन्दगी एउटा बुझ्न नसकिने चलचित्र बनेको छ,
“सत्य हाँसोलाई लुकाएर झुटो हाँसोमा रमाउनु परेको छ।”
हकिकत वचनलाई मेटेर बनावटी शब्दमा
विश्वास दिलाउनु परेको छ ।
यो कस्तो जुनी हो ?
मौलिकताको दुनियाँबाट तानेर जाली,
सृजनात्मक संसारमा जीवन चलाउनु परेको छ।।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१८ मंसिर २०८२, बिहीबार 




