बुढापाकाहरू
वृद्धाश्रम जान बाध्य भएपछि नै
भत्किएका हुन् पिँढीका डिलहरू,
मक्किएका हुन् घरका धुरीखम्बाहरू,
फुटेका हुन् मौरीका घारहरू,
भाच्चिएका हुन् दलिन र मूलखम्बाहरू,
बिग्रिएका हुन् लोग्ने–स्वास्नी,
बा–आमा र छोराछोरीका पवित्र सम्बन्धहरू।
बुढापाकाहरू
समाजमा देखिन छोडेपछि नै बज्न थालेका हुन्
मन्दिरमा उरन्ठेला गीतहरू,
बढ्न थालेका हुन् हत्या, हिंसा
र आत्महत्याका घटनाहरू,
च्यातिन थालेका हुन्
कलिला नानीहरूका यौनाङ्गहरू,
कुल्चिन थालेका हुन् कुरान, बाइबल, त्रिपिटक
र गीताका पानापानाहरू,
मेटिन थालेका हुन् हृदयबाटै मातृत्व
र वात्सल्यका अमिट छापहरू।
बुढापाकाहरू चौतारीमा देखिन छाडेपछि नै
हराएका हुन् सोरठीका भाकाहरू,
बिटुलिएका हुन् युवतीहरूका सिउँदोका सिन्दूरहरू,
बदलिएका हुन् भजन, चुड्का र टुक्काहरू,
बसाइँ सरेका हुन् गाउँखाने कथाका सुनका गाउँहरू।
बुढापाकाहरू बोल्न छोडेपछि नै बिक्न थालेका हुन्
विलासी स्न्याकहरू, गन्हाउन थालेका हुन्
गाई भैँसीका गोरसहरू, ठडिएका हुन् मदिराका बोतलहरू,
ढलेका हुन् आस्थाका पर्खालहरू,
बाँझाे भएका हुन् विवाहित युवतीका पाठेघर
अनि खेत, बारी र बगैँचाहरू,
बज्रिएका हुन् प्रदेशी युवाहरूका मुटुमा बज्र प्रहारहरू,
चिसिएका हुन् बज्दा बज्दैका सारङ्गीका धुनहरू,
आएका हुन् बैन्ड–बाजाहरू,
हराएका हुन् नौमती र पञ्चे बाजाहरू।
बुढापाकाहरू वृद्धाश्रम जान बाध्य भएपछि नै
भत्किएका हुन् पिँढीका डिलहरू।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










