बुहार्तनको यौटा उदेकलाग्दो नमूना
भरेभोलि भएकी यौटी महिला
घाँस पातमा जान्छे
सकी नसकी डोको भर्छे
पत्कर सोहोर्छे
पेटको सन्तानको बोझ एकातिर
पिठ्यूँको भारीको बोझ अर्कातिर
पसीनाको भेल कानको जर्वूटातिर
पिठ्यूँको पसीनाको बोझ
मैलो पेटिकोटतिर
छैन खुट्टामा चप्पल
यो टेक्कर भन्सारी हो
राजधानीबाट तीनघण्टा टाढा
सुविधा र सुखबाट तीन युग टाढा
खुट्टामा बिझेको नीलकाँडाको खीलको पीडा
पेटको पीडा
राम्ररी सुत्न नसकेको पीडा
सग्लो जन्मेला नजन्मेला सन्तान
त्यो अर्कै पीडा
जन्मेर जानेहरूको सम्झना छ
जन्मेर बस्नेहरूको माया छ
के होला कसो होला
त्यसको घुमाउने भूमरी छ ।

तर्तरी पसिनाको धारा चुहाउँदै
जसै ऊ आँगनमा पुग्छे
जसै आँगनको बीचमा पुग्छे
खपी नसक्नुको व्यथाले
चेतनाको अर्ध मृतावस्थामा पुग्छे
पिठ्यूँको भारी यथावत् छ
पेटको भारी यथावत् छ
धमिलो हुँदै गएको दृष्यलाई कुल्चँदै
जसै भारी बिसाउँछे पिंढीको डिलमा
त्यतिनै बेला
हो त्यति नै बेला
बिसाउन पुग्छे आँगनमै
पेटको नौ महिनाको भारी पनि
काकोहोलो मच्चिन्छ घरभरि
कुरा पुग्न पाएको हुँदैन छिमेकमा
अचानक पीडाको घनघोर जङ्गलमा
उसले सुन्छे यौटा आवाज
चिहाँ ! चिहाँ ! चिहाँ !

त्यो चिहाँ चिहाँ चिच्याउने बालक मै हुँ
पहाडको त्यो अनकन्टारमा
चिहाँ चिहाँ गर्ने बालक
आज अमेरिकाको कोलाहलमा
सपनाको पहाड उक्लिरहेछ
त्यो पिठ्यूँको भारी बोक्ने जननी
अहिले स्मृतिको आकाशमा कतै होलिन्
धरतीमा नभएपछि आकाशमा
नभेटिने नदेखिने संसारमा गएपछि
स्मृतिमा, मात्र स्मृतिमा
आमा ! मेरी आमा !
मलाई यो दुनियाँ देखाउने आमा
अब यो दुनियाँमा कतै छैन ।

०००