म जुत्ता हुँ
तिमी लगाउँछौ
सानदार बनेर हिँड्छौ
तिमी मेरो मुखमा
खुट्टा छिराउँछौ
सिङ्गो शरीरलाई
लात्तीले थिच्दै हिँड्छौ
म थिचिन्छु, किचिन्छु
तर मक्ख पर्छु

म जुता हुँ
तिमी लगाउँछौ
र चट्टानमा हिँड्छौ
तातो कालोपत्रेमा डामेर हिँड्छौ
चिसो हिउँमा कामेर हिँड्छौ
मेरो शरीरमा
फोहोरी खुट्टाले छामेर हिँड्छौ
जति चोट दिए पनि
म चुप्प लाग्छु र सहन्छु

म जुत्ता हुँ खुट्टामा हुन्छु
तिमीलाई आराम दिनु मेरो धर्म हो
तिमी दुर्गन्धको कुण्डमा हिँडाउँछौ
म लुरुलुरु हिँड्छु
तिमी कुहिएको मन र भ्रष्ट
आत्मा बोकेर मन्दिरको द्वारमा जान्छौ
र मलाई बाहिरै राखेर
भित्र ईश्वर समक्ष पुग्छौ
अनि कुकर्मको प्रायशचित्तका खातिर
मनमनै भन्छौ – अपराध सहस्र भाजनम् …..

म रिसले आगो बन्न खोज्छु
फेरि सम्झन्छु
म त एउटा जुत्ता हुँ
मामुली जुत्ता
दास- कारिन्दा
तिमीले मुखमा खुट्टा खाँदेपनि
तिमीले दुर्गन्धको कुण्डमा जाकेपनि
चुपचाप हिँडिदिने
अलिकति नसा र अलिकति आशाले
तिम्रा खुटामै
गाँसिने , तिम्रा खुट्टामै टाँसिने
म एउटा अभिशप्त जुत्ता हुँ

तिमी सुकिलो पहिरनमा
घिनलाग्दो मन बोकेर भिडमा
बसेको बेला
मेरो एउटा क्रुद्ध साथी
जब बुरुक्क उफ्रिन्छ
र झिलक्क गर्दै
एउटा चिल्लो गालामा पड्किन्छ
अनि म निरीह जुत्ता
दिलभित्रबाट मुस्कुराउँछु
र गम्छु –
ए ! ” जुत्ताहरू ” को पनि
विश्वासको पर्खाल ढलेछ ।

बुद्धशान्ति-२ जयपुर, झापा