बा भन्नुहुन्छ
छोरा !
तिमी त कानुन पढ्ने मान्छे, मलाई भन्देऊ न
नेपालको कानुन दैवले जानून् किन भनिएको ?
बाको प्रश्नले नाजवाफ भएको म
एकैछिन सोच्छु र भन्छु
बा !
यहाँ, गल्ती गर्नेले सजाय पाउँदैन
सजाय पाएकाले गल्ती गरेकै हुँदैन
पहुँचवालाले प्रमाण बनाउँछन्
त्यही प्रमाणको आधार लिन्छन्
न्यायमूर्तिहरू फैसला बनाउँछन्

शक्तिवाला बनावटी प्रमाणले मुद्दा जित्छ
बिचरो पीडित तमासा हेर्छ, ट्वाँ पर्छ
यो सबै कसैले बुझ्दैनन्
कसैले नबुझ्ने भएर भनिएको होला
बा!
नेपालको कानुन दैवले जानून्

नेपालको कानुन, नेतालाई लाग्दैन
नेपालको कानुन, जनतालाई छोड्दैन
धनी नेता कानुनलाई टेक्छ
विचरो गरिबलाई अन्यायले छेक्छ

विस्मृत सांसद कानुन बनाउँछन्, बनाएकै छिन भुल्छन्
बबुरा न्यायाधीश कानुन पढ्छन्, नजिरमै डुल्छन्
बनेको कानुन न नेताले बुझ्छन्
बनेको कानुन न न्यायमूर्ति जान्दछन्
जनताले बुझ्ने त कुरै भएन

नेता, न्यायाधीश, जनता कसैले कानुन नजानेपछि
बाँकी रहेका त्यै दैव त हुन्
त्यसैले !!
भनिएको होला
बा !
नेपालको कानुन, दैवले जानून् !!

तुल्सिपुर मेट्रो कलेज (दाङ)