तिम्रो बाजे पुस्ताले गरेको
राणा शासन विरोधी क्रान्ति

मेरा बाजे पुस्ताले गरेको
राणा शासन विरोधी क्रान्ति एकै थियो
प्रजातन्त्र आएपछि
तिम्रा बाजे मानपदवी र तक्पाले सम्मानित भए

प्रधान पञ्च
अञ्चलाधीश
राज परिवारको सदस्य
बने
मेरा बाजे उपचार नपाएर बिते

********

तिम्रो बा पुस्ताले लडेको
पञ्चायत शासन विरोधी जनआन्दोलन

मेरा बा पुस्ताले लडेको
पञ्चायत शासन विरोधी जनआन्दोलन
एकै थियो
बहुदलीय व्यवस्था आएपछि
तिम्रा बा धेरै पटक देशको नेतृत्वमा पुगे

मेरा बाले
शरीरभरि गोलीका छर्रा बोकेर बाँच्नु पर्यो

********

तिमीले लडेको राजतन्त्र विरोधी
जनयुद्ध

मैले लडेको राजतन्त्रविरोधी जनयुद्ध एकै थियो
तिमी पटक पटक
सांसद
मन्त्री
भएर
सिंह दरबार पुगिसक्यौ
म अझै सडकमा
समावेशिताको नारा लगाउँदै छु
त्यसैले यो देश कसको हो ?
तिम्रो हो कि
मेरो हो ?

सुदूरपश्चिम प्रदेश