भुइँमान्छे

 

भुइँमान्छे

भिसा देऊ सरकार
खाडी जान्छु
रेमिट्यान्स पठाउँला
तिमी देश चलाउनू
सके तातो हावा खान्छु
नसके
बन्द बाकसमा फर्केर आउँला..!

यो देश
बेइमानहरूको देश हो
इमानदारहरू संसद् भवनअगाडि
दिउँसै जिउँदै जल्छन्
घरको छानो फेर्ने सपनाले खाडी पुगेकाहरू
बन्द बाकसमा
खात लागेर
घर फर्कन्छन्

सहकारीको किस्ता तिर्न नसकेर
सप्तरीका रामदेव मरिक
रुखमा झुन्डिन्छन्
अनि
विभिन्न नामका सन्धि गरेर
देश बेच्नेहरू
सधैँ सत्ता र शक्तिको बुई चढेर
इमान्दारहरूको मृत्यु पर्खेर बस्छन्

ओ गिद्धहरू हो !
दिनहुँ थपिएका लास गनेर बस
उधिन चिहान पुगेका मुर्दाहरू
जति सक्छौ लुछ
डुङडुङती गन्हाउने हाडछाला
मैले मृत्यु रोजेर पठाएको रेमिट्यान्समा सधैं
तिम्रो हारालुछ
अनि
लास गन्न तँछाडमछाड
याद राख गिद्दहरू
चिहानघाटमा
उडिरहेको धुवाँले
तिमीलाई एकदिन अवस्य पोल्ने छ ।