

बिपल घले
मैले तपाईंहरूलाई सम्झाना पठाइनँ भने
सम्झनुस् म उभिरहेको छु
आँधीहरूबीच
जो मलाई जरैदेखि
खोजिरहन्छ उखेल्न।
बिर्सिएको ठान्नुहुन्छ भने बुझ्नुहोस्
म घेरिएको छु
अग्ला अग्ला पर्खालहरूले
जसलाई नाघ्नमै
समय र श्रम साधिरहेको छु।
बेपत्ता भएको बुझ्नुहुन्छ भने यति मानिलिनुस्
मेरो अस्तित्वमाथि
धावा बोलिरहेकाहरूसित
म युद्धरत छु
स्वअस्तित्व खातिर सङ्घर्षरत छु।
टाढा भएको गन्नुहुन्छ भने सम्झनुस्
म टाढा र नजिकको
केलाइरहेको छु हिसाबकिताब
र द्विविधामा परिरहेको छु।
सम्झनुको अर्थ यदि साँच्चै बुझ्नुहुन्छ भने
यति विश्वास गर्नुस्
छुटिएदेखि यता
यी आँधीहरू,यी पर्खालहरू,
यी सङ्घर्षहरू,यी हिसाबकिताबहरू,
यी सबैबीच पनि तर
सधैं मनमा तपाईंहरूकै
सम्झाना गरिरहेको छु।
कालेबुङ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१४ असार २०८३, आईतवार 




