एउटै सानो वृत्त
तर त्यसभित्र समेटिएको छ
सारा ब्रह्माण्डको पहिलो स्पन्दन।
यहीँ फूटेको थियो सृष्टिको पहिलो चाह,
यहीँ जन्मेको थियो प्रेम
र यहीँ देहले बुझेको थियो —
आफू माटो होइन
ऊर्जा हो
ज्वाला हो।
नाभि त्यो द्वार हो
जहाँबाट पृथ्वीको शक्ति माथि उठ्छ
कुण्डलिनी झैँ रीढको प्रत्येक सीढी चढ्दै
सहस्रारसम्म पुग्छ।
यही बाटो हो
जहाँ स्त्री र पुरुष शक्ति र शिव बन्छन्
र मिलेर एक ब्रह्मस्वरमा रूपान्तरित हुन्छन्।
नाभिको चारैतिर देहको भाषा मौन बन्छ
शब्द हराउँछन्
र रहन्छ केवल —
श्वास र कम्पनको संवाद।
प्रियले जब नाभिमा श्वास राख्छ,
त्यो स्पर्श होइन
दीक्षा हो — देह होइन
आत्मा नै काँप उठ्छ ।
सृष्टिमा पुनः प्रवेशको त्यो क्षण हो।
यहीँ योग छ —
जहाँ वासना र ध्यान एकै धारामा बग्छन्।
नाभिको भित्र मातृत्व बस्छ
बाहिर प्रणय खिल्छ
र बीचमा आत्माको अधूरो वलय
जो हरेक जन्ममा पूरा हुन खोज्छ।
नाभि — न त मात्र शरीरको झिल्ली हो
न त केवल इच्छा गाँठो
यो त त्यो बिन्दु हो —
जहाँ ब्रह्म र मनुष्य एक–अर्कालाई चिन्छन्
बिना शब्द, बिना नाम
केवल अनुभूतिको स्पन्दनले।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१८ मंसिर २०८२, बिहीबार 




