एकछिन थाक्नु हुन्न तिमी,
पुग्नुपर्छ पारि गोधूली।
लेख्नुपर्छ देशले बिर्सेको कथा,
त्यसैले हिँड् दौड,
भोलि आफ्नै नामको
सुनौलो इतिहास लेख्नुपर्छ।
तिमीले लेख्नुपर्छ देश,
आफ्नै छातीको भित्री तहमा
एक मुठ्ठी माटो बोकेर।
अञ्जुलीभरि भर्नुपर्छ राष्ट्रियता,
अब नथाकी हिँड् दौड,
झिस्मिसेमै पुग्नुपर्छ कालापानी,
आफ्नै आमाको चीत्कार सुन्न।
माथि देउरालीमा पुगेर हेर्नुपर्छ,
तल–बेसिका धेरै घेराहरू
मिसिएको छेउमा उभिएर
एउटा नयाँ सङ्कल्प गर्दै
रोप्नु छ भाइचाराका बेर्नाहरू।
त्यसैले हिँड् दौड,
पुग्नु छ,
आफ्नै हराएको देश खोज्न।
विदेशीएका अन्तरेको व्यथा सुन्नु छ,
सान्नानीको फाटेको चोली टाल्नु छ,
जन्तरेको टुक्रिएको मनमा
मलम पट्टी लगाउनु छ।
त्यसैले हिँड् दौड,
हामी सबै लिपुलेकमा गएर
आफ्नै स्वाधीनताको झण्डा उचाल्नु छ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१८ मंसिर २०८२, बिहीबार 




