उज्ज्वल भट्टराई

प्रत्येक पाइला उकालो चढ्दै
क्षितिज भरिका दृश्यहरु नजरले पिइँरहदा
हिउँले छोपिएका रहस्यमयी टाकुराहरु माझ
वाटोभरि मेरा हात तिमीलाई खोजिरहे

हिमचुली र अन्नपूर्णको आंगनमा
झिनु डाँडाको न्यानो बसन्ती उज्यालोमा
छोमरोङबाट पहिलो माछापुच्छ्रे हेर्दा
मेरा आँखाहरु तिम्रै यादमा अल्झिरहे

लालीगुराँसका जङ्गलहरू मगमगाएको बेला
वरिपरिवाटै हिमालको मौनता बीच
गगनचुम्बी चुचुराहरुले सुस्तरि कानेखुसी गर्दा
मेरा कानहरु तिम्रो स्वरको मिठास खोजिरहे

जब सूर्यको पहिलो किरणले हिमालहरु मुस्काए
सेता हिउँहरु लाजले अनायसै सुनौला भए
अन्नपूर्णको छाया मेरो औँला समाइ लजाए
तिमी नभए पनि हिमालहरुले तिम्रै नै रुप देखाए

त्यो लालित्यको आलिङ्गन माझ
सूर्यले हिमचुलीमा कोमल चुम्बन गर्दा
मेरो मन चाँहि तिम्रै मोहनीमा पो कल्पँदै रम्यो
औँलाहरु चिसो हिउँमै तिमीलाई खोज्न थाले

नीलगिरी र माछापुच्छ्रे माझ
अलौकिक प्राकृतिक सौन्दर्यबीच
घाम र हिमालको अद्भुत प्रेमलीला देख्दा
मलाई तिम्रै स्मृतिको सुगन्धले छोपिराख्यो

अन्नपूर्णको स्वर्गीय दायरामा रम्दा
आँखामा तिम्रो झझल्को उज्यालो भयो
हिमालको मौन संगीत मनभरि गुञ्जियो
हृदय तिम्रो स्मृतिले अनवरत धड्कियो !