
तिम्रो साथ यो जीवनको खाली क्यानभासमा
अङ्कित एक सजीव चित्र हो।
बिहान तिमी बिउँझँदा
मलाई तिमी निहारिरहन मनपर्छ।
पहिलो पल्ट आँखा खोल्दै, लजाउँदै,
मुसुक्क हाँसेको हेर्न मनपर्छ,
मेरा खुसीहरू – तिम्रा मुस्कान बनेर फुल्छन्।
साँझ आँगनका पहेँला फूलहरूमा
टोलाउँदै, रमाउँदै गरिरहेकी तिमीलाई,
अनायासै आँखा छोपिदिँदा तिमी तर्सेर
धड्किँदो मुटु लिएर पानी छ्याप्न म तिर दगुर्दा
मेरा खुसीहरू – तिम्रा ती कदम बनेर अँगाल्छन्।
तिमीसँग प्रिय कलाकारको कन्सर्टमा जाँदा,
तिमी उनीहरूसँगसँगै गीत गाउँछ्यौ।
तिम्रा पाखुराहरू सङ्गीतको लयमा बगिरहन्छन्,
कम्मर धुनका भावसँगै झुमिरहन्छन्।
आनन्दमा तिमी फर्किएर मलाई पुलुक्क हेर्दा
मेरा खुसीहरू – तिम्रा आँखाका चमक बनेर चुमिरहन्छन्।
यसरी मेरा खुसीहरू तिमीमै फुल्छन्।
हात समाएर समुद्र किनारमा हिँड्दा,
साना गल्तीहरूमा सँगै मरिमरी हाँस्दा,
तिम्रो उपस्थितिले सप्तरङ्गी रङ भरेको यो जीवन,
तिमी विना जीवनका सबै चित्रहरू अधुरा लाग्छन्।
जहाँ रङहरू हराएर कालो-सेतो मात्र रहन्छन्,
मेरा खुसीहरू – तिमीसँगै जीवनका रङहरू कोरिन्छन्।
यसरी मेरा खुसीहरू तिमीमै फुल्छन् – सधैँ
तिमी सँगै हुँदा इन्द्रेणी भएर सजिन्छन् – सधैँ सधैँ
संसारको रङ्ग तिम्रो साथमा हो,
म त केवल तिम्रो खुसीको प्रतिविम्ब पो!



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

