अन्तरिम सरकारका
मन्त्रीहरूलाई बधाई दिन सकिनँ।
शहीदको रगत अझै सुकिसकेको छैन,
घाइतेहरूको घाउ आलै छ।
अहँ,
यो वियोगका बेला

कसरी बधाई दिन सक्छु?

यो बेला
यो बधाई शब्दले
घाइतेहरूको घाउ चहराउँछ,
पोल्छ,
नुन-चुक छर्केजस्तै।
झोला बोकेर स्कुल
गएको छोरो आउने आशामा
कुरेर बसेका
आमा-बाका आँखा अझै
ओभाएका छैनन्।
ती आँसुहरूको
अवमूल्यन गर्दै,
खरानीमाथि उभिएर
मन्त्रीहरूलाई
खादा र माला लाउन

कसरी सक्छु र?

छ महिनापछि
यदि जनता हाँस्न सके भने,
देश पनि मुस्कुरायो भने,
त्यो दिन बधाई दिउँला।
आज होइन।
यसो भन्दा चित्त नदुखाउनु है मन्त्रीज्यू।