कालेबुङ, भारतमा जन्मनुभएका कवि राकेश क्रान्तिकारी शिक्षण पेशामा आबद्ध हुनुहुन्छ । हालसालै उहाँको पहिलो कवितासंग्रह ‘अनाम प्रेमिका’ बजारमा आएको छ । क्रान्तिकारीका कविताहरूमा केही अराजक छन्, केही उन्मुक्त, केही पारस्परिक छन् भने केही नियम प्रतिकूल । इमानदार अनुभूतिलाई शब्दहरूमा उनेर पारदर्शी कवितात्मक झलक प्रस्तुत गर्नु उहाँको विशेषता हो ।
कविले ‘हाम्रो किताब घर’ साहित्यिक संस्थासँग आबद्ध रहँदै साहित्यिक प्रस्तोताको जिम्मेवारी वहन गर्दै आउनुभएको छ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानी –
प्रकाशकीयमा तपाईंलाई ‘व्यावहारिक कवि’ भनेर लेखिएको छ । कविता लेख्नु र कवितालाई व्यवहारमा बाँच्नु—यी दुई बीचको सम्बन्धलाई तपाईंं कसरी परिभाषित गर्नुहुन्छ ?
– म आफैँ चाहिं भित्र जे छु, बाहिर त्यही हुने सक्दो कोशिश गर्छु । आम पाठकले मेरा अक्षरहरू मार्फत मलाई पनि चिनून् भन्ने लाग्छ । मलाई मभित्र अरू कोही हाल्नु छैन । मैले जे भोगेको छु, जे देखेको छु र बोध गरेको छु त्यही लेख्छु । मलाई दुइटा मान्छे भएर बाँच्नु छैन । मेरो यही व्यवहार देखेर प्रकाशकले मलाई यही शब्द भने होलान् ।
कविता लेख्नु र कवितालाई व्यवहारमा बाँच्नु एकदमै महत्त्वपूर्ण कुरो हो, अचेल लेखनमा साम्यवादी अनि व्यवहारमा सामन्तवादीहरू थोरै छन् भन्न मिल्दैन । यस्तो व्यवहारले पाठकलाई धोका दिन्छ ।
पुस्तकको शीर्षक ‘अनाम प्रेमिका’ छ । तर संग्रहभित्र प्रेमको प्रतिरोध चाहिँ बलियो छ । यो विरोधाभास भएन ?
– ‘अनाम प्रेमिका’ भित्र प्रेमको प्रतिरोध चाहिँ हैन, बलियो प्रेम छ । समाजप्रति, राष्ट्रप्रति, श्रमजीवीप्रति, प्रेम उत्पन्न भएर नै शासकहरूबाट यी तमाम प्रेमिल चीजहरू बचाउन यी कविताहरू लेखिएका हुन् । प्रेम नै नभए म किन कविता लेख्थे हुँला र ?
अनाम प्रेमिका पछि तपाईंको कविता यात्रालाई पाठकले कुन दिशातिर गएको देख्न सक्छन् ?
– खै, यही समाजभित्र छु, यताबाट भाग्न सकिन्न, यात्रा यतैतिरको हुनेछ ।
पीडा, क्रोध र विद्रोहले भरिएको कविता ‘रुन्चे’ हुन्छ भन्ने धारणा तपाईंलाई कति जायज लाग्छ ?
– कसैको पीडा, क्रोध, विद्रोहलाई कवितामा ल्याउनेहरूलाई रुन्चे भन्ने महामहिमलाई म केही भन्न चाहन्न । संसारमा पीडा, क्रोध, विद्रोहको कविता नभएको भए, फूल, प्रेम, शान्तिका कविताको कुनै अर्थ हुन्थेन । वास्तवमा आम पाठकले रुन्चे हो कि हाँस्ने हो भन्ने कुरा कविता पढेपछि खुट्याउने छन् ।
तपाईंको कवितामा व्याख्या पनि देखिन्छ । कवितामा व्याख्या कति आवश्यक हुन्छ ?
– कहीँ कतै रहेछ, पछि थाहा भो तर कविता लेख्दै गरेको विद्यार्थी हुँ, सुधार्दै जानु मेरो कर्तव्य हो । व्याख्या आवश्यक छ छैन भन्ने कुरा चैं मैले पाठकलाई छोडिदिएँ ।
तपाईंका कवितामा प्रगतिवादी चेत पाइन्छ । प्रगतिवादले मात्रै कवितालाई साँचो अर्थमा कविता बनाउँछ ?
– मैले लामो समयदेखि सङ्गत गरेका प्रायः सबै आदरणीयहरू प्रगतिवादी धाराका छन्, जो भोका, नाङ्गा, पीडित, शोषितको पक्षमा रहेर साहित्य मात्र लेख्दैनन् तर प्रखर रूपमा सडकमा आउँछन् । साँचो अर्थमा भन्नु हो भने आम मान्छेको खास दुःखलाई सम्बोधन गर्नेमा प्रगतिवादी साहित्य अग्र स्थानमा छ । संसार प्रगतिशील छ, तब सम्पूर्ण कुरो प्रगतिशील हुने भइगयो, प्रगतिवाद चाहिं उन्नत खाले विचार हो जसले समाजलाई सही दिशामा लान्छ ।
हालसम्म उक्त कृतिप्रति पाठक तथा समालोचकबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
– समालोचक, अनि केही पाठकहरूबाट प्रतिक्रिया आएको छ, सकारात्मक नै छ ।
भारतीय नेपाली कवि भएर हेर्दा नेपाली साहित्यप्रति युवाहरूको उपस्थिति के कस्तो पाइरहनुभएको छ ?
– अहिले ठ्याक्कै भन्नुपर्दा सकारात्मक दिशातिरै छ तर चुनौतीपूर्ण छ, मान्छेको मनको भावना लेखिदिने मेसिन आएपछि त्यसलाई उछिन्न भने अलिक सजिलो छैन । प्रायः हामी अचेल कृत्रिम खुशी, कृत्रिम जिन्दगी बाँचिरहेका छौँ, यसमा फुत्किन सके मात्र केही असल चीज आउँथ्यो कि ! जेहोस् कविता लेख्ने बढिरहेका छन्, पढ्नेहरू पनि सन्तोषजनक रूपमा नै आइरहेका छन् । पठन संस्कृति बढाउन चैं बरु काम गर्न पर्ला ।
तपाईंका कविताहरू पाठक हुँदै पीडित र शोषित वर्गसम्म पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। सीमित पाठकवर्गको अवस्थामा पनि कविता सामाजिक परिवर्तनको औजार हुन सक्छ भन्ने तपाईंको भरोसा केमा आधारित छ ?
– भरोसा हैन पूर्ण विश्वास छ, किनभने धेरै अघिदेखि नै जुनै पनि आन्दोलन होस् त्यहाँ कविताको उपस्थिति सशक्त ढङ्गमा भएको छ । कविता हरेक मान्छेलाई सही चेतना प्रवाह गर्ने सजिलो र सशक्त माध्यम हो ।
नयाँ लेखकका रूपमा कृति प्रकाशन गर्दा केकस्ता चुनौतीहरूको सामना गर्नुपर्यो ?
– चुनौती त धेरै थियो, फेरि मेरो सङ्ग्रहलाई मेरा नजिकका साहित्यिक मित्रहरूले हेरेका थिए, र सम्पादन गर्न अह्राएका थिए । केही पुनः लेखन गरेँ, केही छाँटकाँट गरेँ, धेरै पटकको सम्पादन पछि बल्ल प्रेसमा गयो । कविता लेख्न भन्दा त्यसलाई चिटिक्कको बनाउन बढो चुनौतीपूर्ण रहेछ ।
अन्त्यमा मैले सोध्न छुटाएको र तपाईंलाई केही भन्नु छ भने ?
– जीवनमा धेरै कुरो छुट्छ । प्रश्नै गर्नु हो भने त कति होलान् होलान् तर अहिले यति नै ठीक छ । अँ साँच्चि, तपाईंलाई कवितासंग्रह चैँ कस्तो लाग्यो ?
जङ्गल
उसले रूखको जमात देख्यो
कतै कटुस,
कतै चिलाउने,
अनि जङ्गल घोषणा गर्यो ।
एउटा ठूलो बोर्ड बनाइयो
लेख्यो–
‘कृपया यहाँ नआउनु होला !
यहाँ हिंस्रक भालुहरू हुन्छन्
तिमीलाई चिथोरेर मार्न सक्छन्
यहाँ डरलाग्दा सर्पहरू हुन्छन्
तिमीलाई डसेर मार्न सक्छन्
यहाँ भयानक बाघहरू हुन्छन्
तिमीलाई जिउँदै खान सक्छन् ।’
उसले घरको जमात देख्यो
कतै महल
कतै घर
अनि शहर घोषणा गर्यो
एउटा ठूलो बोर्ड बनाइयो
अनि लेख्यो –
‘सावधान जङ्गलकाहरू
यहाँ पाइला टेक्दै नटेक्नू
यहाँ भालुजस्तै
सर्पजस्तै
बाघजस्तै
जुकाजस्तै
तर हेर्दा एउटै देखिने
मान्छेहरू बस्छन्
यो जङ्गल
त्यस जङ्गलभन्दा
भयानक हो ।’
– ‘अनाम प्रेमिका’बाट



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ फाल्गुन २०८२, सोमबार 










