दुई दिनको (सेप्टेम्बर १३ र १४‚ २०२५) लागि बसिरहेको होटेल छोडेर श्रीलङ्काको कोलम्बो शहरमा अलि सस्तो होटेल खोज्नु पर्ने थियो। होटेल खोज्ने क्रममा होटेल फेयरवे कोलम्बोको वेब साइटमा पनि आँखा गयो। “रोबोट प्रविधि सहितको श्रीलङ्काको पहिलो होटेल” भन्ने लेखेको देखेपछि‚ रोबोटसँग साक्षात्कार हुनका लागि यसैमा बस्ने निधो गरेँ। होटेलको वेबसाइटमार्फत नै‚ पैसा होटेलमै आएपछि तिर्ने गरी‚ दुई रातको लागि कोठा बुक गरेँ। सेप्टेम्बर १३ को दिन अपरान्ह होटेलमा गएपछि चेक इनको औपचारिकता पूरा भयो। रुम नं ७१६ को कार्ड लिएँ र कोठामा जान लिफ्टको स्वीच थिचेँ। लिफ्टभित्र पनि रोबोटसँग खाना मगाउनका लागि आवश्यक जानकारी राखिएको रहेछ। त्यसले मेरो उत्सुकतालाई झनै बढायो। रातको खाना रोबोटमार्फत मगाएर खाने निश्चित गरेर टुकटुकमा कोलम्बो शहर घुम्न निस्किएँ।
साँझ होटेल फर्किएपछि रिसेप्सनको देब्रेतिर चार्जिङ प्वाइन्टमा बसिरहेका दुईवटा रोबोटले मेरो ध्यान तान्यो। म तिनको नजिक गएँ। होटेलका स्टाफ मेरो नजिक आए। मैले रोबोटको परिचय मागेँ। दुबै रोबोट उस्तै तर अलि साना ठूला थिए। यौटाको नाम R1D1 र अर्को अलि ठूलोको नाम Bear Bot रहेछ। केको आधारमा नामाङ्कन गरिएको थियो त्यो भने थाहा भएन। म रोबोटले काम गरेको हेर्न उत्सुक थिएँ तर त्यसका लागि कसैले खाना अर्डर गरेको हुनपर्यो। त्यहाँ कुरेर मात्र पार लाग्ने देखिएन। “तपाईं आफ्नो कोठामा जानुस् र त्यहीँबाट अर्डर गर्नुस्‚ उसले कोठामै ल्याइदिन्छ” होटेलका स्टाफले भने। म कोठामा फर्किएँ।
आठ बजेतिर‚ रोबोटमार्फत खाना अर्डर गर्नका लागि कोठामा राखिएको निर्देशन बमोजिम क्यूआर कोड स्क्यान गरेँ। मोबाइलमा खानाको सूची देखा पर्यो। मसरुम सुप र चाइनिज भेज फ्राइड राइस सेलेक्ट गरेँ। श्रीलङ्कन रुपैयाँ ३ हजार १ सय ४६ को बिल देखियो‚ फोनमा आएको निर्देशन बमोजिम इनपुट हाल्दै गएँ। नेपालको बैंकले भेरिफाइ गर्ने पालो आयो। ओटिपी आयो मोबाइलमा‚ ओटिपी राखेपछि अर्डर समरी देखियो मोबाइलमा। सोचें, अर्डर कन्फर्म भयो।

रोबोटहरु चार्जीङ स्टेशनमा‚ अर्डर कुर्दै। (फोटोः लेखक)
म रोबोटले खाना बोकेर हिँडेको शुरुदेखि कै गतिविधि हेर्न चाहन्थें। त्यसैले अर्डर गरेको केही बेरपछि तलै गएर रोबोटले काम गरेको देखिने गरी बसें। निकैबेर भइसक्यो कुनै सारसुर देखिएन। मैले रिसेप्सनमा भनेँ। माथि रहेछ रेष्टुरेन्ट‚ फोन गरेर सोधे अनि भनेँ “तपाईंको अर्डर कन्फर्म भएको छैन। पैसा पनि प्राप्त भएको छैन।” कहाँ के बिग्रियो, थाहा भएन। पैसा काटियो कि काटिएन भन्ने पनि यकिन भएन। मानिस र प्रविधि बीच अझै भरपर्दो समायोजन हुन चाहिँ बाँकी रहेछ भन्ने लाग्यो। रोबोटले काम गरेको हेर्ने मेरो उत्साह मर्ने अवस्थै थिएन।
“तपाईंहरू यहीबाट अर्डर गरिदिनुस् र मेरो रुममा लेखिदिनुस् न‚” मैले भनेँ।
“रोबोटको अर्डर यसरी त मिल्दैन‚ सिस्टम नै फरक छ ।” रिसेप्सनका कर्मचारीले भने। मैले हार मानिनँ, “यस्तो पनि हुन्छ र ? ल बोलाउनुस् को छ अर्को मान्छे !”
यति भनेपछि बैंकको एटिएम कार्ड घोट्ने हाते मेसिन बोकेर कोही त्यहाँ आए। उनले मेरो कार्ड मागेँ- “कार्ड त कोठामा छ। अहिले अर्डर लेख्नुस्‚ पैसा म माथि गएर दिन्छु”। रिसेप्सनका तीन चार जनाले खासखुस गरे अनि कुनै तरिकाले मिलाए। अब भने मेरो अर्डर भयो। मेरो रहर पूरा हुने छाँट देखियो। मैले सोचेको थिएँ रोबोटले रेष्टुरेन्टबाट सोझै मेरो कोठामा खाना ल्याउँछ। होइन रहेछ‚ माथि रुफटपमा रहेको रेष्टुरेन्टबाट कसैले तलसम्म खाना ल्याएर रोबोटमा रहेको ट्रेमा राखिदिने रहेछ। अनि त्यसलाई निर्देशन दिएपछि चाहिँ स्वचालित रूपमा‚ वाइफाईको सहयोगमा रोबोटले काम गर्ने रहेछ। यसको मतलब रोबोटको सेवा दक्ष र प्रभावकारी बनाउन अझै बाँकी रहेछ‚ त्यो होटेलमा। अहिले भने एक आकर्षण मात्र थपिएको रहेछ।
माथि रेष्टुरेण्टबाट मैले मगाएको खाना तल आइपुग्यो। त्यसलाई त्यहाँका कर्मचारीले रोबोटमा राखे अनि टच स्क्रीनको माध्यमबाट निर्देशन दिएपछि‚ स्वचालित भयो। अब रोबोट हिँड्न थाल्यो। मैले उसको पिछा गरेँ। “एस्क्युज मी‚ क्यान आई पास थ्रु” भन्दै अडियो रोबोट। फोटो खिच्दै हिँड्दा मैले उसको बाटो छेकेको रहेछु। मानिसले जस्तो धक्का लगाएन‚ ठेलेर पनि हिँडेन अनि रिसाएन पनि। आफ्नो बाटो ‘क्लियर’ नभएसम्म अडियो। म साइड लागेँ, ऊ अघि बढ्यो। उसलाई तोकिएको लिफ्टको अघिल्तिर गएर उभियो। लिफ्टसँग संवाद भयो वाइफाइमार्फत्। लिफ्ट तल भूइँ तलामा आएर रोकियो अनि ढोका खुल्यो। “दि एलिभेटर इज एराइभ्ड‚ एन्टर दि एलिभेटर” आफैंभित्रबाट लिफ्टभित्र पस्नका लागि निर्देशन लियो र आज्ञाकारी भई लिफ्टभित्र पस्यो। लिफ्टको ढोका बन्द भयो।
म हतार हतार अर्को लिफ्टबाट सातौं तलामा गएर उसलाई पर्खिएँ। निर्देशन (कमाण्ड) लिँदै अनि सम्हालिँदै अघि बढ्ने हुँदा रोबोटभन्दा पहिला म माथि पुगिहालें। रोबोट एक्लै होटेलको प्यासेजमा खाना लिएर हिँड्यो। मोडिन पर्ने ठाउँमा सजिलै मोडियो र मेरो कोठा ७१६ नम्बर अगाडि गएर रोकियो। यहाँनेर हामी दुबैलाई अलमल भयो। उसमा गरिएको प्रोग्रामिङ अनुसार ढोकामा पुगेर रोकिए पछि मेरो मोबाइलमा ओटिपी आउनुपर्ने हुन्थ्यो, र त्यो ओटिपी पाएपछि मैले ढोका खोलेर उसको माथिल्लो भागमा रहेको डिस्प्लेमा ओटिपी हालेपछि मात्र ट्रे खोल्न मिल्ने हो‚ अर्थात् खाना डेलिभरी हुने हो। तर अर्डर मेरो मोबाइलबाट भएको थिएन। मैले ओटिपी पाएको थिइनँ।

कोठामा खाना पुर्याउन जाँदै‚ प्यासेजमा रोबोट
म उसको अगाडि गएँ र ट्रे खोल्न खोजें‚ खुलेन। मैले उसको माथिल्लो भागमा रहेको डिस्प्लेमा एक दुईपटक टच गरेँ। पछि कुनै तरिकाले ट्रे खुल्यो‚ यद्यपि त्यो प्रोग्राम अनुरुप (नियम संगत) थिएन। मैले खानेकुरा निकालें र ढोका खोलेर कोठामा राखें। मलाई खानेकुरा जतनसँग राख्नुभन्दा पनि रोबोट फर्केको पनि हेर्नु थियो। त्यसैले मेरो ध्यान रोबोटमाथि नै केन्द्रित थियो। हतार हतार खाना कोठाको कुनै कुनामा छोडेर म उसको हरकत हेर्नतिरै लागें।
कमाण्ड बिग्रिएकोले ऊ अलमलियो। म पनि उभिइरहेँ। भएन भनेर‚ फेरि दुई चारपटक उसको माथिल्लो भागमा रहेको स्क्रीनमा टच गरेँ। एकछिनपछि ऊ आफैं सम्हालियो वा तलबाट उसको सुपरभाइजरले उसलाई सम्झायो‚ थाहा भएन। ऊ मेरो ढोकाबाट फर्किने तरखर गर्यो। म पल्लोपट्टि सरें र उसको गतिवधि नियाल्न थालें। ऊ फर्कियो। खुरुखुरु लिफ्ट भएतिर गयो र तोकिएको लिफ्टको अगाडि पुगेर अडियो। लिफ्ट नआउञ्जेल मानिस जस्तो अधैर्य भएन। एकदम अनुशासित‚ चुपचाप पर्खिरह्यो। माथिल्लो तलामा जान लागेका कुनै दम्पति लिफ्टमा रहेछन्। रोबोटले सातौं तलाको स्वीच दवाइसकेकाले‚ लिफ्ट सातौं तलामा रोकियो र ढोका खुल्यो। ती दम्पति आफ्नो अगाडि अरु नै केही उभिएको देखेर हच्किए अनि सम्हालिए। यसो हेरे‚ “ए हे‚ सेभेन्थ फ्लोर” भने। “यू मे कम” भनें मैले बाहिरबाट। “वि गोइङ एइट्थ फ्लोर” भने अनि लिफ्टभित्र पसे‚ लिफ्टको ढोका बन्द भयो। रोबोट अनुशासित भएर‚ विना कुनै प्रतिक्रिया आफ्नो ठाउँमा उभिरह्यो। मानिस भएको भए‚ “एस्क्युज मी” भन्दै त्यसैमा बसेर आठौं तला हुँदै फेरि तल झर्थे पक्कै पनि । मानिस र रोबोटको काम गर्ने तरिका पनि फरक हुने नै भयो । पछिका समयमा रोबोटलाई नै मानिसहरूले पछ्याउँदै जानेछन् भन्ने लाग्यो अनि सोचें पनि- मानिसले रोबोटलाई सिकाउने होला कि रोबोटबाट मानिसले सिक्ने ?

रोबोटमा खाना राख्दै
सातौं तलामा आएर लिफ्टको ढोका खुलेपछि‚ फेरि आवाज आयो- “दि एलिभेटर इज एराइभ्ड‚ एन्टर दि एलिभेटर”‚ रोबोट आफ्नो शरीर मिलाउँदै लिफ्टभित्र पस्यो। लिफ्टको ढोका बन्द भयो। म बल्ल होसमा आएँ। कोठामा खाना कस्तो अवस्थामा होला भन्ने सोच्दै कोठातिर लागेँ। रोबोटको गतिविधि नियाल्ने क्रममा कोठा खोल्ने कार्ड भित्रै परेछ। फेरि तल रिसेप्सनमा गएर भनें। मास्टर कि लिएर ढोका खोलिदिए। “तपाईंहरूलाई धेरै दुःख दिएँ है मैले‚ सरी” भनें र रोबोटले डेलिभर गरेको खाना खान थालेँ। मानिसलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोट प्रविधिसँग आत्मसात गर्दै धेरै अगाडि बढ्नु पर्ने नै छ। कतिपय देशमा त ड्राइभर विनाका गाडीहरू चल्न थालिसकेको यो समयमा हाम्रो देशका जनतालाई छिटोभन्दा छिटो यस्ता प्रविधिसँग साक्षात्कार एवम् अभ्यस्त गराउने कसरी होला भन्ने सोचाइले भने लामो समयसम्म मलाई बिथोलिरह्यो‚ मलाई पिरलिरह्यो।

खाना पुर्याएर तल फर्कन लिफ्ट कुर्दै रोबोट



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१३ कार्तिक २०८२, बिहीबार 









