‘साहित्यपोस्टमा मेरो रचना किन छापिएन ?

प्रश्‍न हामीसँग भन्दा आफैँसँग सोध्‍ने कि ?’

साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाजीले माथिको प्रश्‍न र प्रतिप्रश्‍न मे २६ मा आफ्नो फेसबुक प्रस्थिति बनाउनुभएपछि त्यसमाथि नेपाली साहित्यमा रुचि राख्‍नुहुने लगभग ६० जनाको प्रतिक्रिया आइसकेको छ । कुनै समय २०४४ र ४५ सालतिर म आफैँ वेदना साहित्यिक पत्रिकाको कार्यकारी सम्पादक थिएँ । त्यसबखत साहित्यिक सृजनाहरू प्रकाशित गर्ने माध्यम हालको तुलनामा ज्यादै सीमित थियो भने वेदना प्रगतिशील धारको एक स्तरीय र अगुवा पत्रिकामध्येमा पर्दथ्यो । त्यसले गर्दा वेदनामा त्यतिखेरका स्थापित साहित्यकारका रचनाहरू प्रकाशित गर्नुपर्ने चाप र आवश्यकताको साथै नवोदित (काठमाडौँभित्र र बाहिरका) साहित्यकारका रचनाहरूलाई सीमित पेजभित्र अटाउनुपर्ने दायित्वसमेत रहेको थियो। उक्त परिस्थिति झेलेको आधारमा यतिखेर अश्विनीजीले राख्‍नुभएको प्रश्‍न र प्रतिप्रश्‍न दुवै निकै महत्त्वका र अर्थपूर्ण हुनुका साथै यस विषयमा थप चर्चा गर्नु पनि आवश्‍यक छ भन्ने लागेकाले उक्त प्रसङ्गलाई यहाँ कोट्याउने जमर्को गरेको छु ।

राजेन्द्रप्रसाद अधिकारी

सर्वप्रथम गहन र महत्त्वपूर्ण विषयमाथि चर्चा गर्नुपर्ने परिस्थिति एवम् विषय उठान गरिदिनुभएकोमा अश्विनीजीलाई धन्यवाद दिन चाहन्छु। यस प्रकारको छलफलले नै स्तरीय र जिम्मेवार साहित्य सृजनाका लागि प्रत्येक सर्जकहरूलाई झकझकाउने छ। नेपाली साहित्यको विकास र विस्तारमा थप बल पुर्‍याउनेछ। यसैगरी साहित्यिक अभिव्यक्तिहरूलाई पाठकसमक्ष पुर्‍याउनका लागि जिम्मेवार रूपमा लाग्‍नुहुने वा लाग्‍नुभएका सहित्यसेवीहरूका लागि थप जिम्मेवार र चनाखो रहनुपर्ने दायित्वसमेत थोपर्नेछ । हाल मूलभूतरूपमा‚ नेपाली परिवेशमा प्रेयूले बढी प्रश्रय पाइरहेको र श्रेयू पाखा परिरहेको अवस्था विद्यमान रहेकाले‚ निःस्वार्थ काम गरिरहेका अगुवा वा सेवीहरूले पनि प्रेयूलाई नै चेपिरहेको हो कि भन्‍ने शङ्काको कोणबाट हेरिने स्थिति रहेको छ । यस परिस्थितिलाई अगुवा वा सेवीहरूले झन् बढी जिम्मेवार र चनाखो भएर हेर्नुपर्ने हुन्छ । अगुवा वा सेवी भनेकै यही हो।

अब सर्जक (लेखक र रचनाकार) को तर्फबाट कुरा सुरु गरौँ। नवोदित रचनाकारहरूलाई हौसला र प्रोत्साहन दिँदै अगाडि बढ्ने वातावरण सृजना गर्नुपर्ने नै हुन्छ। नयाँ लेखक हुनु स्वतः स्तरीय नहुने र पुरानो लेखक हुनु स्वतः स्तरीय हुने भन्‍ने होइन । उदाहरणका लागि वेदना पत्रिकाका पाठक राजेश खतिवडाले पाठक प्रतिक्रियामा लेख्‍नुभएको थियो, “प्रसिद्ध कवि दुर्गालाल श्रेष्ठको नामले स्थान पायो कि कविता ले ? वहाँ जस्तो वरिष्ठ कविबाट यस्तो रचनाको आशा हामीले गरेका थिएनौँ” (वेदना‚ २०४४‚ पूर्णाङ्क ३९)। वरिष्ठ लेखकले पनि आफ्नो रचना सार्वजनिक गरेपछि पाठकको प्रतिक्रियाको जिम्मेवारीपूर्वक अपेक्षा गर्नुपर्दछ र त्यस्ता प्रतिक्रियाको आधारमा आफ्नो लेखनको पुनर्मूल्याङ्कन गर्न पनि जरुरी हुन्छ । यही हो जिम्मेवार लेखन । लेखक पाठकसँग निरन्तर संवादमा रहनुपर्छ । अहिले प्रविधिमा भएको विकासले सामाजिक सञ्जालमार्फत यो सुविधा प्राप्त छ तर यही सुविधाले वास्तविक रूपमा जिम्मेवार लेखक र जिम्मेवार पाठकबिच भने झन् ठूलो खाडल खडा गरेको छ । कृत्रिम संवादको सरल र सस्तो माध्यम बन्न पुगेको छ । यस पृष्ठभूमिमा ‘साहित्यपोस्टमा मेरो रचना किन छापिएन ?’ भनि प्रश्‍न गर्नुहुने सर्जकको (कुनै आग्रह वा पूर्वाग्रह रहित हो भने) उक्त प्रश्‍नले समग्र नेपाली साहित्यका अनुरागीहरूलाई नै जिम्मेवारीपूर्वक त्यस्तो साहित्यकार वा सर्जकसम्म पुग्ने प्रयत्‍न गर्नुपर्ने देखाएको छ । अर्थात् प्रत्येक प्रकाशित रचनाहरूले‚ कुनै सर्जक जसले ‘मेरो रचना किन छापिएन ?’ भनि गरेको प्रश्‍नको जवाफ दिन सकोस् । उक्त प्रश्‍न साहित्यपोस्ट र अश्विनीजीप्रति मात्र नभएर वहाँको माध्यमबाट समग्र लेखक‚ पाठक र साहित्यकार उनिने धागो खै भनी प्रश्‍न गरेको हो भन्ने मलाई लाग्छ । अहिलेको हाम्रो साहित्यिक वातावरणमा उक्त प्रश्‍नको उत्तर दिन सजिलो छैन । यस्तोमा अश्विनीजी जस्ता साहित्यसेवीहरूले थोरै धैर्यका साथ स्वयम् सर्जक र पाठकहरूबाटै जवाफको प्रतीक्षा गर्नुपर्थ्यो कि भन्ने लाग्छ । किनकि सेवा गरेको कारण त्यस्तो सेवीका अगाडि झन् ठूलो जिम्मेवारी थपिएको हुन्छ । मानिसको भरोसा बढेको हुन्छ । सेवाको बोझ वास्तवमा पाकेको मीठो आँपको गह्रुङ्गो भारीजस्तै हो । भारी बिसाएर आँप अरूलाई खुवाउँदाको आनन्दजस्तै हो तर जसको भागमा बिग्रिएको आँप पर्छ उसले भने अवश्य नै गाली गर्छ । त्यो भने स्वाभाविकै हो । त्यसैले त महाकवि देवकोटा भन्छन् –

खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ?

आफू मिटाइ अरुलाइ दिनू जहाँ छ। (प्रश्नोत्तर)

नयाँ पहिचानविहीन सर्जकहरूका लागि आफ्नो सृजनालाई कसी लगाएर जाँच्नका लागि पनि सम्पादक प्रकाशकहरूसमक्ष पुग्‍न जरुरी हुन्छ भने सम्पादक प्रकाशकहरूचाहिँ स्थापित साहित्यकारहरूको माध्यमबाट पाठकहरूसमक्ष पुग्ने प्रयत्‍न गर्दछन् । यस चक्करमा नयाँका राम्रा रचना ओझेल पर्ने र स्थापितका कम राम्राले पनि स्थान पाउने सम्भावना भने रहन्छ नै । नयाँ लेखकहरूमा लेखरचना पठाइसकेपछि त्यसको भाग्यको बारेमा अर्थात् प्रकाशित हुने वा नहुने भए कहिलेसम्म होला वा अझै परिमार्जन गर्ने अवस्था छ कि वा प्रकाशित भइहाले पाठकको प्रतिक्रिया कस्तो रहला भन्नेजस्ता कुरामा छलफल गर्न मन बढी चञ्चल हुने गर्छ नै । यस्तो चञ्चलतालाई सम्बोधन गर्ने प्रक्रिया र स्थानको कतै अभाव पनि छ कि जस्तो लाग्छ । यस्तोमा नेपालभाषाको यौटा उखानजस्तै राति बाहिरबाट कसैले ढोका ढकढकाउँदा जसले हँ भन्छ उसैले ढोका खोल्नुपर्छ भनेझैँ अश्विनीजी जस्ता नेपाली साहित्यको सेवाका लागि ‘हँ’ भन्न उत्रनु भएका सहृदयी सेवीहरूका लागि बारम्बार ‘हँ’ भन्दै निद्राबाट उठ्दै ढोका खोल्नुको विकल्प नहुन सक्छ। हाम्रो अहिलेको सामाजिक साहित्यिक बनोट यस्तै छ ।

खास गरी नवोदित लेखकहरूका लागि वहाँका रचनाहरू सुन्ने र छलफल गर्ने वातावरण तयार गर्न पनि आवश्‍यक देखिएको हो कि ? वा लेखकहरूमा आफ्ना रचनामा खेल्न र प्रकाशनका लागि पठाउनुभन्दा अगाडि एक्लै पढेर परिमार्जन गर्ने धैर्य पनि नभएको हो कि ? भनी सोच्नुपर्ने पनि हुन्छ । एकपटक कुनै कविको फेसबुकमा प्रविष्ट कवितामा प्रयोग भएका विम्ब र प्रतीकहरूको प्रयोग र सामञ्जस्यप्रति जिज्ञासा राख्दा पाएको जवाफले अबको समयको कविता नबुझिने हुन थालेको हो भन्ने प्रश्‍न आफैँभित्र पनि उठेको थियो र त्यो प्रश्‍न अझै जीवितै छ । मैले लेखिदिए अब भएन र कविता ? कति सरल र कति गहन प्रश्‍न गर्छन् कहिलेकाहीँ कवि लेखकहरू ? मोहन कोइरालाको ‘फर्सीको जरा’ जस्तै ‘समग्र प्रयोगवादी कालको एउटा साझा प्रतीक र साझा दृष्टान्त ।’ पाठकले नबुझेरै सर्वाधिक चर्चित बनेको कविता (विप्लव ढकाल‚ नागरिक‚ २७ जेठ २०७४) जस्तै । कुनै समयका कवि नबुझिने कविता लेखेरै पनि चर्चित रहे ।

लेखरचनाहरूको लोकप्रियता‚ स्तर‚ चर्चा र त्यसले समाजमा पार्ने प्रभाव सम्भवत फरक-फरक कुराहरू हुन्। लेखक कवि आफैँलै आफ्नो स्थान बनाउने हो तर यो हदसम्मको चेतनास्तरमा नआइपुगेका साँच्चैका नवोदित लेखकहरूले भने बिनाछलकपट प्रश्‍न गर्ने हिम्मत राख्नैपर्ने देख्छु – ‘मेरो रचना किन छापिएन ?’ र यस प्रश्‍नको जवाफ दिनु एक कदम अगाडि रहेका कोही पनि लेखकहरूको साझा दायित्व हो भन्ने पनि मलाई लाग्छ । यस अर्थमा अश्विनीजी वा साहित्यपोस्ट कसरी एक्लो उभिन सक्छ र ? साहित्यपोस्ट लगायत विभिन्न पत्रपत्रिकाहरूमा लेख रचना छापिएका वा छापिने गरेका सबै लेखकहरू यस प्रश्‍नको जवाफ दिन तयार हुनुपर्ने हुन्छ । ठूला एवम् प्रभावशाली पत्रपत्रिकाहरूले समेत यस प्रश्‍नको मर्ममाथि विचार गर्नुपर्ने देखिन्छ।

‘मेरो रचना किन छापिएन ?’ आग्रह र पूर्वाग्रहबिनाको प्रश्‍न हो भने उक्त प्रश्‍न सरल अनि अवोध पनि छ ? जसमा‚ समग्रमा नेपाली साहित्यको भविष्यको प्रश्‍न समेटिएको छ । प्रज्ञाप्रतिष्ठानहरूजस्ता साहित्यका भीमकाय अड्डाहरूले यस्ता प्रश्‍नहरूको जवाफ तयार गर्छन् कि गर्दैनन्‚ थाहा छैन । धेरै पहिला प्राज्ञ नयराज पन्तज्यूले महाकवि देवकोटाको साहित्यमा गणितको प्रभाव भन्ने विषयमा दिनुभएको प्रवचनजस्तै अर्को प्रवचन कुनै प्राज्ञबाट प्रज्ञाप्रतिष्ठानको प्रवचन कक्षमा सुन्ने इच्छा थियो तर कहिले पूरा हुन्छ त्यो पनि थाहा छैन । ‘नेपाली साहित्यमा धेरै यथार्थवादी लेखकहरू देखापरे र धेरैले नेपाली जीवनको खुला यथार्थ चित्रण गरिसकेका छन् तर फेरि पनि नेपाली साहित्यको फाँटभित्र अझै गोर्की र लुसुन देखापर्न नसकेको हुनाले आजको लेखनमा धेरै अभावहरूको अनुभव हुन गएको छु (साहित्य कस्तो हुनुपर्छ ?) भन्ने पत्रकार एवम् साहित्यकार शक्ति लम्सालको अभाव पूर्ति गर्ने तर्फ पनि नेपाली लेखक‚ सम्पादक र प्रकाशकहरूको एकीकृत एवम् समन्वयकारी प्रयासको खाँचो छैन र ?

नयाँ सर्जकलाई माझ्ने कसले र कसरी ? यो प्रश्‍न पनि ‘मेरो रचना किन छापिएन ?’ भन्ने प्रश्‍न जत्तिकै अप्ठ्यारो प्रश्‍न हो। सुप्रशिद्ध साहित्यकार पारिजातको अनुभव छ – ‘म चौथो कक्षाको छात्रा रहेको बेला हाम्रो गाँउमा यौटा हस्तलिखित पत्रिका निस्कने भयो र मैले पनि एउटा कविता टुक्राटुक्री मिलाएर पद्यको रूपमा ल्याएँ‚ जो मेरो मनको कुरा पटक्कै थिएन। त्यो कविता छन्दहीन भएको हुँदा सम्पादक मण्डलबाट अस्वीकार गरियो।’ वहाँ थप्‍नुहुन्छ ‘आखिर कविता लेख्‍न सुरु गरेँ र ती कविताहरू निराश र दुःखद जीवनका अभिव्यक्ति मात्र थिए‚ जसलाई आज म कविता मान्न तयार छैन । कविताको पाठक सुकन्यामात्र हुन्थी’ (पहिलो साहित्यिक अभिव्यक्ति)। नवोदित लेखकहरूले पारिजातको यस अनुभवबाट धैर्य गर्ने शक्ति लिनुपर्दछ । लेख्दैमा कविता वा साहित्य नहुन सक्छ । यहाँनेर जीविकोपार्जनका लागि आफ्नो छुट्टै पेशा व्यवसाय गर्दै साहित्यसेवामा समर्पित सम्पादक प्रकाशकको तर्फबाट पनि सोच्नै पर्ने हुन्छ । धेरैभन्दा धेरै रचनाका लागि ‘सुकन्या’ हुने कोसिस गर्दागर्दै पनि व्यवहारिक रूपमा त्यसो गर्न सक्ने सम्भावना नहुन सक्छ । वहाँहरूको धैर्यको बाँधलाई टेवा दिने जिम्मेवारी पनि लेखकहरूकै हो भन्ने पनि भुल्नु हुँदैन।

‘मेरो रचना किन छापिएन ?’ भन्नेजस्ता प्रश्‍नहरूले हामीलाई अझ दायित्वबोध गराउँदै थप जिम्मेवार बन्न झकझकाउने हुँदा त्यस्ता जिज्ञासाहरू राख्‍न सक्ने वातावरणचाहिँ सृजना गर्नैपर्ने हुन्छ। वि.सं. २०४५ सालमा वेदनाले नेपाल भाषा अङ्क प्रकाशित गरेको थियो र त्यसको उद्देश्य नेपाल भाषा नबुझ्ने पाठकहरूलाई नेवारी भाषामा साहित्य रचनामा भएका उपलब्धिहरूको सानो झलक प्रस्तुत गर्नुरहेको थियो । त्यस अङ्कको प्रकाशनपछि दरशा पन्थीले पाठक प्रतिक्रिया पठाउनुभएको थियो र वहाँको प्रश्‍न थियो – ‘नेपाल भाषाका आजका जीवित पिँढीका लेखकहरूलाई मात्र प्रस्तुत गरेको चाल पाइयो । के यति मात्रै पर्याप्त छ त ?’ (वेदना‚ २०४६‚ पूर्णाङ्क ४४)। यस्ता प्रश्‍नहरू माया हुन् पाठकका जसरी ‘साहित्यपोस्टमा मेरो रचना किन छापिएन ?’ भन्ने प्रश्‍न माया हुन् लेखकका अश्विनीजी प्रति‚ साहित्यपोस्ट प्रति मेरो दृष्टिकोणमा । तर पनि अहिलेको प्रेयूलाई च्याप्ने र श्रेयूचाहिँ मासिँदै जाने हाम्रो समग्ररूपमा देखिएको प्रणालीको प्रभावबाट साहित्यपोस्टजस्ता साहित्यिक माध्यमहरू बच्दै अगाडि बढ्न सकून् र यसैको माध्यमबाट भोलि फेरि गर्व गर्नलायक साहित्यकारहरू पैदा होऊन् । मलाई लाग्छ नयाँमात्र होइन आजका ‘स्थापित’ लेखकहरूका निमित्त समेत अश्विनीजीको प्रश्‍न ‘प्रश्‍न हामीसँग भन्दा आफैँसँग सोध्‍ने कि ?’ एक यक्ष प्रश्‍नको रूपमा रहेको छ र समयले यसको उत्तर दिने नै छ।