आधुनिक साहित्यको सबैभन्दा कान्छो विधा र आत्मप्रकाशनको एउटा प्रयत्नको रूपमा निबन्धलाई लिइन्छ । निबन्ध एउटा ठूलो छाता भएकाले यसलाई आत्मपरकता वा निजात्मकताका आधारमा, वस्तुपरकता वा परात्मकता आधारमा र शिल्पशैलीगत लगायतका आधारमा वर्गीकरण गरिएको पाइन्छ । यही आत्मपरकता वा निजात्मकताको एउटा भेद संस्मरणात्मकतालाई लिएर ‘दूबो’ प्रकाशन गरिएको देखिन्छ ।
यस किसिमका निबन्धमा अतीतका, विगतका वा केही समय पूर्वका अविस्मरणीय स्मृतिहरूलाई आत्मप्रकटीकरण गरिएको हुन्छ । जीवनमा घटेका वा भोगिएका महत्त्वपूर्ण क्षण, घटनाबाट भएको अनुभूतिको प्रकटीकरण यस प्रकारको निबन्धमा पाइन्छ । यस प्रकारका निबन्धमा स्मृतिको प्रबलता रहेको हुन्छ ।
संस्मरणहरू केवल विगतको बयान मात्र होइनन्, ती अनुभवका बीउ पनि हुन् । जसले वर्तमानलाई गहिराइ दिन्छ र भविष्यलाई सजग बनाउँछ । यसले न केवल लेखकहरूका जीवन भोगाइ दिन्छ, तर पाठकहरूलाई आत्मचिन्तन, आत्मपरीक्षण र आत्मीयता अनुभूति गराउँछ । संस्मरण कुनै पनि कालखण्डको वा घटनाको अभिलेख हो । यस्तै अभिलेखहरूको सङ्ग्रह ‘दूबो’ वि.सं. २०५५ सालदेखि भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्धन सक्रिय रहेको नेपाली साहित्य समाज उर्लाबारी, मोरङले प्रकाशन गरेको छ ।
संस्मरणहरू पढ्दा साँच्चै यस्तो लाग्छ धनञ्जय सर– ‘मान्छेलाई इतिहास बन्न ठूलै घटना घट्नुपर्छ भन्ने भ्रम छ । इतिहास जिन्दगीको टेकिसकेको एउटा पाइला हो । आफ्नै छाया मात्र हो । त्यही पाइलाको छायाले जीवनको रङ बदलिदिन्छ । आफ्नै छायाले आफैँलाई हल्लाइरहन्छ ।’
केटाकेटीहरूले फिल्मी सपना देखिरहेका बेलाको समय थिरेन्द्र दाहालले गरीबीको ताण्डव नाच विवश भएर धीत नमरुन्जेल हेरिरहेका छन् बेलौरीका कुकुडा बढ्या कि नाइँ भट्टजीमा । जुनेली रातमा जूनसँग घरभित्रसँगै बसेर रक्सी पिउँदै धान नाच्ने । धेरै अघिको साँझमा यो लोक छोडिगएको आफ्नो मायाको आँसुलाई झरीमा प्राप्त गर्न भिज्दै हिँड्ने सांस्कृतिक फ्यान्टासी कवि अमर नेम्बाङसँग कवि मुनाराज शेर्माको भेटको इतिवृत्तान्त अमर नेम्बाङका सम्झनाहरूमा रहेको छ । तीन किलाससम्म पढ्दा नेपाली कागतमा बाँसको कलमले लेख्दालेख्दा फुल्टिनमा मसी हालेर लेख्न थालेपछि त अस्कोटको माथ्लो गोजीमा भिर्दाको आनन्द पुण्यप्रसाद खरेलको मेरो सम्झनाको हाम्रो सिकाइमा छ ।
यस संस्मरणसङ्ग्रहमा युवाराज नयाँघरेको मुसीसँग सेल्फी, प्रा.डा. गोपालप्रसाद भण्डारीको दक्षिण भारतको स्मृति यात्रा, यज्ञ परिश्रमीको मेरो अप्राकृतिक बानी, हेम अधिकारीको गरिस् पो त विमान, रुमानी कुरुङको इलामले दिएको पुनर्जन्म, चूडामणि पौडेलको परिचित त्यो अनुहार, राजकुमार सुब्बा अनिश्चितको बुबाको प्रिय गीत पानको पात र म, कृष्ण उदासीको मेरा आँखामा अक्षर रोपिदिने गुरुआमा, बाँस्कोटा धनञ्जयको दस रुपियाँको नोट, गगन योक्पाङ्देनको लुङ्माहिम काइँलाको अधुरो सपना, विश्व कुइँकेलको कुमार दाइ हुनुहुन्थ्यो, शम्भुप्रसाद भट्टराईको हर्षविस्मयको अविस्मरणीय त्यो क्षण, हरि गौतमको मन, मुना आत्रेयको उज्यालो खोज्दै अन्धकारभित्र, जीत कटुवालको रतुवामाईदेखि कचनकवलसम्म, रमेश घिमिरेको एक यात्रा, रेवतीप्रसाद घिमिरेको काकीको ढोयो, कुवेर लामिछानेको ढाक्रे र पेरुङ्गे, अम्बिका दाहालको सुट्केश खाई ? जीतेन्द्र न्यौपानेको सङ्घर्ष हो जीवन, भद्रमाया निरौला शान्ताको मेरो मेचीकाली यात्रा, मेघनाथ बन्धुको चिसापानीमा बोतलको पानीमा घुल्न नसक्दा, चेतन अधिकारीको अनि हामी यसरी बसाइँ सर्यौं, कला न्यौपानेको स्मरणमा हजुरबुबा, नवराज निरौलाको अनि म टुहुरो भएँ, बिन्दु दाहालको बाल्यकालका केही स्मरणहरू, रीता घिमिरेको रहस्यमय शुक्रबार, बिना लामिछानेको मन नघुमेको महाकुम्भ यात्रा, ममता घिमिरेको डर लुकाउने ठाउँ नपाएपछि, ज्ञानप्रसाद निरौलाको अस्ट्रेलिया भ्रमण, प्रा.डा.गोविन्दराज भट्टराईको त्यसपछि यो जीवनले क्षीरसागरमा हामफाल्यो, दिलिप राई सगरको मेरो अरपे जीवन, रोजगारी र केस्रा, दिनेश पौडेलको आमा ! आकाश किन त्यति पर सरेको ? गरी २४० पृष्ठमा ३६ वटा संस्मरणहरू रहेका छन् ।
सङ्ग्रहमा समेटिएको हरि गौतमको ‘मन’ लाई संस्मरण भन्न मिल्ने आधार झिनो छ । प्रायः कृतिहरूमा लेखकीय, सम्पादकीय र प्राविधिक गरी तीनै प्रकारका त्रुटि हुने गरेका छन् । सङ्ग्रहभित्र रूकुम, राती, अन्तर्राष्ट्रिय, काठमाण्डौ, सेर्मा, टाँण, प्रकृती, अर्थानुपत्ती, पृय, तपाई, रोमान्चित, रमाईलो, पुर्णतया, तराइ, लाइ, बिक्रि, सङ्ग, महीमा, बिरोधाभाष, बिषय, सम्बन्धि, बिगत, बस्तु, सन्चयन, यसैवीच, काठमाण्डौ, दोश्रो, महत्व, हाँजिर, द्वित्तीय, आई एस्सी, आइ ए, आइ कम, सेर्पा, आफु आदिको हिज्जेमा र सोही अनुसार, बाढी लगायतका, गोरखा पत्रलगायत पदयोगमा ध्यान दिन सकेको भए संस्मरणहरूमाथि न्याय हुने थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










