वि सं २००२ साल मंसिर २९ गते साँगा दिन ताप्लेजुङमा जन्मिएका नकुलकाजी नेपाली साहित्य लेखनमा वि सं २०१९ सालमा यौवन तृष्णा कवितासंग्रह मार्फत देखा परेका साहित्यिक सर्जक हुन् । पेशाले आजीवन पत्रकारिता रोजेका नकुल काजी झापाका सशक्त कलमजीवि पत्रकार रहेका छन् । काजी विज्ञान विषयमा स्नातक भए पनि नेपाली भाषा साहित्यको उत्थानमा जीवनको उत्तरार्ध चरणमा पनि उत्तिकै सक्रियताका साथ लागिरहेका छन् ।

काजीका हालसम्म प्रकाशित कृतिहरूको सूचिलाई हेर्ने हो भने यौवन तृष्णा (कवितासंग्रह २०१९  ) जीवन प्रश्न (कथासंग्रह) , मुना (खण्काव्य २०२०), सागर (उपन्यास २०३५), समस्या (उपन्यास २०२५), शान्ति (उपन्यास २०३६), गौरी (उपन्यास २०२७), विद्रोह बोल्छ (खण्डकाव्य २०३७), मेरो देशको कविता (कविता संग्रह २०३६), सगरमाथाको शान्ति सन्देश (२०३१),  युद्धको दुर्व्यसन (कवितासंग्रह २०६६) क्रान्तिको पहिलो चरण (उपन्यास २०६८) र गणतन्त्र, गौंथलीको बाऊ ( निबन्धसंग्रह २०६९) र घरहरू भत्किरहेछन् (उपन्यास २०७१), भालुभुत्ते मपाइँ (हाँस्यव्यंग्य उपन्यास २०७७), राजनीति उगाल (हाँस्यव्यंग्य उपन्यास २०७८) र पञ्चायती झापा २०७८ संस्मरणात्मक लेख संग्रह जस्ता गहकिला कृति रहेका छन् ।

नकुल काजीले विसं २०२७ सालदेखि झापा जिल्लालाई कर्मथलो बनाएर व्यावसायिक पत्रकारिता शुरू गरेर यही झापाली माटोमा व्यावसायिक पत्रकारिताको महाविद्यालयका रूपमा झापाली पत्रकारितालाई स्थापित हुने वातावरण बनाउन पुगे । स्तरीय भाषा , चोटिलो व्यङ्ग्य, समसामयिक विकृति विसंगतिप्रति प्रहार गर्न खप्पिस काजी राष्ट्रवादी स्वर उराल्ने सशक्त सर्जकका रूपमा आफूलाई दर्शाउने सफल स्रष्टा हुन् । काजीको पछिल्लो कृतिका रूपमा पञ्चायती झापा झापाली राजनीतिको पञ्चायतकालीन अवस्थाको दस्तावेज बनेर आएको छ ।

काजीले नेपाली राजनीतिको ३० वर्षे महत्त्वपूर्ण खण्डका रूपमा रहेको पञ्चायत कालको यथार्थ चित्रण गरेर संस्मरणात्मक शैलीमा ऐतिहासिक कृतिको प्रकाशन गरेका छन् । राजाको प्रत्यक्ष शासन मानिएको निर्दलीय पञ्चायत भित्र जनताका सेवक भएको प्रचार गर्दै पञ्चहरूले राजा र जनताको बीचमा कोरेको दूरी प्रष्ट पार्दै काजीले ऐतिहासिक कृति पाठक सामु ल्याएका हुन् । कृतिमा इतिहासका रूपमा रहेको पञ्चायतको शासन शैली कसरी चल्थ्यो ? दरबार जनताबाट कति टाढा थियो ? जनताका पक्षमा रहेका पञ्चहरूको हविगत कस्तो थियो ? सत्य बोल्ने वा सत्यमा रमाउने पञ्चले कतिसम्म प्रताडित भएर काम गर्नु पर्थ्यो जस्ता प्रश्नको उत्तरका रूपमा तयार भएको पञ्चायती झापा वर्तमान राजनीतिसँग पनि तुलना गर्दै संस्मरण गरेर तयार भएको कृति हो ।

खास गरी दुई तिहाईको नजिक रहेको केपी ओली नेतृत्वको कम्युनिस्ट भनिएको सरकारका काम र राजाको संरक्षणमा रहेको पञ्चायत सत्ताको शैली मिल्दोजुल्दो देखिएको तुलनात्मक प्रतिक्रिया लिएर आएको यस कृतिले सत्ता शासकको नहुने जनताको हुने सत्यलाई प्रष्ट्याउन खोजेको छ । पञ्चायत, प्रजातन्त्र पुनर्स्थापना काल र संघीय लोकतान्त्रिक गणतन्त्र कालसम्मको राजनीतिका विकृत पक्ष बीचमा तुलना गरेर तयार भएको यस कृतिले ४० वर्षको नेपाली राजनीतिका नकारात्मक प्रवृत्ति खोतल्ने प्रयास गरेको छ ।

पुस्तकभित्र पञ्चायतको पतन पञ्चभलाद्मी कहलिएका जनविरोधी कार्यकर्ताको भुलभुलैयाका कारण भएको ठहर गरेको पुस्तकले पछिल्लो काल खण्डमा राजसंस्था र बहुदलीय प्रजातन्त्रको अस्तित्व समाप्त गर्न त्यही व्यवस्थाका चंखेचुरे नेता कार्यकर्ता जिम्मेवार रहेको समेत खुलासा गरेको छ ।

पुस्तकका समीक्षक चुडामणि वशिष्ठका भनाइ जस्ताको त्यस्तै राख्दा, “कुनै पनि शासन व्यवस्था समाप्त हुँदै जानुका लक्षण के के हुन् भन्ने कुराको छनक दिँदै लेखकले पञ्चायतले बेलगाम छोडेका उद्दण्ड मण्डलेहरूसँग वर्तमान पार्टीहरूका छाडा तिघ्रे, पाखुरे, कौडे-कन्दने, टपे-टाटे, जुल्फे-कुण्डले, झ्याप्ले-झोले र खोयेहरूसँग तादात्म्य देखाएको छ ।”

अर्का समीक्षक गोपाल गिरीका भनाइ समेटेका यी शब्द राख्दा, “ऐतिहासिक दस्तावेज रहेको पुस्तकले वि सं २०२८ सालको झापा काण्ड, सुखानी हत्याकाण्ड, पाटाकाण्ड, झोडाकाण्ड, मेची पुलकाण्ड जस्ता इतिहास समेटिएको पुस्तकमा कीर्ते-काइते, दलाहा-पेलाहा, सामन्ती, ढोँगी, छली, शोषक जस्ता दरबारियाको हुकुम फर्माउने काठमाडौंलाई नेपाल मान्ने शाह र राणाका हुक्के लाउकेहरू चन्द्रगढीलाई झापा जिल्ला भनेर साँढे हुने प्रवृत्तिको चित्र उतारेको पुस्तक हो ।

पुस्तकका समीक्षक द्वयका भनाइलाई आधार मान्ने हो भने पनि यो पुस्तक पञ्चायतकालीन झापाको शासकीय शैली प्रस्तुत गर्ने महत्त्वपूर्ण कृति हो । झापाको मुहारबाट नेपालको राज्य सत्ताको चित्र देखाउने यस पुस्तकले बितेर गएको राज्य प्रणालीले चलिरहेको राज्य व्यवस्थालाई समेत गिज्याउने अवस्था देखा पर्दै गएको संकेत दिएको छ ।

११८ पृष्ठको १८ खण्डमा संरचित यस पुस्तकको भूमिका चूडामणि वशिष्ठ र गोपाल गिरीले तयार पारेका छन् । ३० वर्षे पञ्चायतकालीन झापा कस्तो थियो ? पञ्चहरू कस्ता थिए ? नेता कर्मचारीहरूले जनतालाई कसरी दुःख दिन्थे ? सामन्तीहरूको कीर्ते काइते, कानुनी जालझेल,शोषण–दमन कुन हलसम्मको थियो ? खमार काण्ड, पाटा काण्ड, झोडा काण्ड, सुखानी हत्या काण्ड के प्रयोजनका लागि कसरी घटित भएका थिए र त्यसको परिणाम के निस्क्यो जस्ता ऐतिहासिक सन्दर्भको इतिहास जान्न बुझ्न फलदायी पुस्तक बनेको छ ।

२०३५ साल पछिका पुस्ताले पञ्चायतकाल सुनेपनि स्मरण गर्न सक्ने गरी अनुभव गर्न पाएका थिएनन् । त्यो पुस्ताले यस पुस्तकमा पञ्चायत अनुभव गर्न पाउने वातावरण काजीले तय गरिदिएका छन् । पञ्चायती झापाको आँखीझ्यालबाट त्यसवेलाको सिङ्गै देशको शासन व्यवस्थालाई नियाल्न सकिने यो पुस्तक रोचक भएको पाठकले अनुभव गर्ने छन् । लेखन शैली रोचक र घोचक दुवै रूपमा रहेको यस पुस्तकले नेपाली राजनीतिको महत्त्वपूर्ण काल खण्ड देखाउने प्रयास गरेको छ ।