युद्ध साहित्यका सर्जक काङमाङ नरेश राई लाहुरे हुन् । अर्थात् गोर्खा सैनिक हुन् । विश्व भाषामा भन्ने हो भने उनी गुर्खा सैनिक हुन् । यी विशेषणहरू नेपाली पहिचान हुन्; भने पानी पतिया इतिहास हो । र, कसरी यी विशेषणहरू नेपाली इतिहासको ढोका खोल्ने विश्वसनीय चाबी हुन् भन्ने कुरा ‘पानी पतिया’ पढेबाट प्रष्ट हुन्छ ।

आम मान्छेका लागि लाहुरे आर्थिक हिसाबले सम्पन्न मानिसको पहिचान मात्र हुँदै आएको छ । लाहुरेहरूले भोगेको विभेद, अन्याय र पानी पतियाको बारेमा आम मानिसलाई चासो कहाँ छ ?  जसरी विदेशिएका असी लाख दाजुभाइ दिदी बहिनीहरूको साहित्य कसले पढेको छ ? आधुनिक दासमा रूपान्तरित तिनको जीवनवृत्ति जान्ने जाँगर कसलाई छ ? तर त्यसको लागि पुग्दो लेख्नु चाहिँ पर्छ ।

काङमाङ नरेश राईले लेखे । प्राज्ञिक क्षेत्रले विदेशिएका युवा र लाहुरेहरूलाई हेय दृष्टिले हेर्ने गरेको पाइन्छ । त्यसकारण आत्मसम्मानको लागि पनि विद्रोह गर्न आवश्यक छ, लेख्न आवश्यक छ । पानी पतियाजस्ता कृतिहरूको जन्म दिन आवश्यक छ ।

मोफसलमा बसेर बालेनको गुणगान गाउनु भन्दा त आफ्नै नगरपालिकामा के भइरहेको छ भन्ने बारे चासो राख्नु राम्रो होला नि !

आफ्नो क्षेत्रको बारेमा आफूले लेखेन भने बाहिरका मान्छे आएर लेखिदिन्छन् । लाहुरे अर्थात् गोर्खा सैनिकहरूको बारेमा त्यही हुँदै आएको थियो । गोर्खाहरूलाई विदेशीले गुर्खा भन्नु पर्छ भन्ने सिकाए । जसरी नेपालको सान सगरमाथा अर्थात् चोमोलुङ्मालाई विदेशीले माउन्ट एभरेस्ट भनी सिकाए । नेपालीहरू यति कमजोर कि विश्वको सर्वोच्च शिखर सगरमाथा विदेशीले नै पत्ता लगाइदिए । र, एक ब्रिटिशरको नामबाट माउन्ट एभरेस्ट नाम रहन गयो । चोमोलुङमा शब्द पनि लिम्बू भाषाजस्तो सुनिन्छ, तर यसलाई पनि तिब्बतको स्थानीय भाषा भनेर उल्लेख गरिएको पाइन्छ ।

यो पङ्क्तिकारले प्रथम पल्ट मलेसियामा गुर्खाहरूको बारेमा लेखिएको अङ्ग्रेजी किताब पढेको थियो– ‘हु वन द मलायन इमर्जेन्सी’ ? नेपालीका बारेमा विदेशीले लेखेको पुस्तक । सो पुस्तक मलेसियामा लागु भएको सङ्कटकालमा लेफ्टिनेन्टको रूपमा काम गरेका, अझ भनौँ गुर्खा सैनिकहरूसँगै काम गरेका ब्रिटिशरले लेखेका थिए । विदेशमा तीन कुराले नेपालीलाई चिनिने गरेको छ । एउटा सगरमाथाले, दोस्रो बुद्धको जन्मभूमि भनेर र तेस्रो गुर्खाहरूको गौरवमय इतिहासले । मलेसियामा पनि त्यही भएको थियो । आफूलाई गुर्खाको सन्तानको रूपमा हेरिन थालेपछि उक्त पुस्तक पढ्ने प्रेरणा मिलेको थियो ।

सो पुस्तकको चर्चा गर्नुको अर्को कारण भनेको चाहिँ सो पुस्तकमा सन् १९४८ देखि १९६० सम्म चलेको मलेसियाको सङ्कटकालको समय गुर्खाहरूले त्यहाँ कम्युनिस्ट विद्रोहीहरूसँग गुरिल्ला युद्ध लडेका थिए; त्यसमा पनि १९५९ सम्म युद्धमा सक्रिय थिए भन्ने कुरा उल्लेख गरिएको छ । सोही तथ्यको बारेमा पानी पतियामा भने “सन् १९४८–१९५६ सम्म गोर्खा सेनाले मलेशियनहरूसँग लडेका थिए । सन् १९६३–६७ सम्म मलायामा भइरहेको कम्युनिस्ट विद्रोहीहरू  विरुद्ध गोर्खा सैनिक तैनाथ गरिएको थियो ।” भनेर उल्लेख गरिएको छ ।

देवेन्द्र सुर्केली द्वारा लिखित ‘मलेसियामा नेपाली साहित्य’ पुस्तकमा “सन १८७५ मा बेलायती साम्राज्यको अधीनमा मलेसियामा परेका राज्यमा स्थानीय फौजविरुद्धको लडाइँमा गोर्खा फौजले पहिलो पटक मलेसिया भूमि टेकेको हो ।” भनी उल्लेख गरिएको छ ।

यी तथ्यहरूले मलेसियामा मात्र पनि गोर्खा सैनिकहरूको गौरवमय इतिहास लामो रहेको र आजसम्म जीवित रहेको भन्ने बुझिन्छ । जीवित यस अर्थमा पनि कि त्यहाँ आज गुर्खा सैनिकहरूको सन्तानहरूको एक समुदाय नै बसेको छ । त्यहाँको नागरिकता लिएर मलेसियन नागरिक भएर बसेका नेपालीहरूको सङ्ख्या करिब २००० रहेको कुरा ‘मलेसियामा नेपाली साहित्य’ पुस्तकमा उल्लेख गरिएको छ ।

करिब ४० देशमा युद्ध लडिसकेका गुर्खा सैनिकहरूको बारेमा विस्तृत रूपमा लेखेर १९१ पेजको पानी पतियामा अँटाउन सम्भव पनि देखिँदैन ।

पानी पतिया गोर्खा सैनिकहरूको आन्तरिक कथा हो । तर यसले कसरी नेपालको सिङ्गो इतिहासलाई छोएको छ भन्ने कुरा ‘पतिया’ शब्दबाट मात्र पनि थाहा हुन्छ । पतियाको अर्थ आफ्नो जातबाट पतीत भएका व्यक्तिले आफ्नो जातमा मिल्नको लागि गरिने सुद्धि हो । जात व्यवस्थामा आधारित नेपाली समाजमा गैर हिन्दू गोर्खा सैनिकहरूलाई कसरी हिन्दू संस्कृतिको अभ्यास गराइयो, हिन्दू धर्म लादियो भन्ने कुरा पानी पतियामा राम्ररी केलाइएको छ । यसका अलावा गोर्खा सैनिकहरूभित्र श्रम शोषणका कुराहरू, विभेदहरू यस पुस्तकले बलियो रूपमा आफ्नो विषय बनाएको छ ।

‘हामी वीर छौँ 

तर बुद्धु छौँ

हामी बुद्धु छौँ

र त हामी वीर छौँ

हामी बुद्धु नभईकन वीर कहिल्यै हुन सकेनौँ ।’ 

– हामी (भूपि शेरचन)

प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा गोर्खा सैनिकको रूपमा नेपालीहरू विश्वभरि फैलिए । वीरताको गाथा लेखे । विदेशीले नेपालीहरूको प्रशंसामा अनेक उचाल्ने स्लोगनहर बनाए । अनेक कुरा लेखिदिए । अत्यन्तै प्रतिष्ठित भिक्टोरिया क्रस पुरस्कार दिइए । ‘हु वन द मलायन इमर्जेन्सी’मा “गुर्खाहरू साहसी, इमानदार र आत्मविश्वासी हुन्छन् । ती कमै झूट बोल्छन् र चोर्छन् । युद्धमा पनि कमै हार्छन् ।” भनी लेखिएको छ ।

अर्काको देशका खातिर ज्यान दाउमा राखेर लड्नु, र ज्यान गुमाउनु सायद बुद्धु हुनुको परिणाम नै हो । पानी पतियामा लड्ने र ज्यान गुमाउनेहरूको कथा पढ्दा कहाली लाग्छ ।

गोर्खा भर्तीदेखि पानी पतिया, गोर्खा सैनिकमाथि गरिएको असमान व्यवहार र तिनले नेपाली समाज र राजनीतिमा गरेको योगदानहरूको बारेमा चर्चा पानी पतियामा गरिएको छ । यस पुस्तकको सबै भन्दा रोचक कुरा भनेको चाहिँ गोर्खाहरूको कोणबाट नेपालको इतिहास बुझाइनु हो । पुस्तकलाई निबन्धात्मक इतिहास भनिए पनि लेखकले आफ्ना निजात्मक अनुभूतिहरू कमै लिपिबद्ध गर्ने काम गरेका छन् । यद्यपि पुस्तक पढ्दै जाँदा कहीँ रोकिन मन लाग्दैन । सुरुमा विषयलाई चसक्क छोएर केही परतिर त्यसको विस्तृत रूपमा चर्चा गर्नाले पुस्तक रोचक बनेको छ ।

समग्रमा पानी पतिया पढ्नैपर्ने पुस्तक हो । सङ्ग्रह गर्नैपर्ने पुस्तक हो ।