मञ्च रातो कपडाले सजिएको थियो । मञ्चको बीचमा निलो आसनमाथि बसेका एक बालक– सुमित श्रेष्ठ । उमेरले सानै तर आँखामा गहिरो एकाग्रता । तबलामाथि हातका औँला, मनमा संगीतको अनुशासन । उनको छेउमै हार्मोनियमसँग बसेका थिए शान्त, गम्भीर र आत्मविश्वासले भरिएका गुरु प्रेमचन्द्र ओझैया ! उनी तबलाका गुरु, धेरै वाद्यवादकहरूका पनि गुरु, नेपाली तबला वादनका अग्ला व्यक्तित्व ।
किराँतेश्वर संगीताश्रमले आयोजना गरेको त्यो बाल शास्त्रीय संगीत प्रतियोगिता प्रतिस्पर्धा थिएन, त्यो गुरु–शिष्य परम्पराको सजीव उत्सव जस्तै थियो । धेरै बाल प्रतिभा त्यहाँ आएका थिए । आफ्नो परीक्षणको अन्तिम घडी अधैर्यपूर्वक पालो पर्खिरहेका थिए । बाल शास्त्रीय संगीतको यो बेग्लै उत्सव थियो ।
सुमितका साना औँलाहरू जब तबलामाथि नाच्न थाले, त्यो ताल थिएन– साधनाको प्रतिफल थियो । जस्तो– धिन..धिन..ता, तिरकिट..धिन…ताङ ! यी प्रत्येक तालसँगै उनको मुहारमा अनुशासन झल्किन्थ्यो र आँखामा आत्मविश्वासको चमक ! त्यो सानो शरीरभित्र लुकेको ठूलो संगीत मन मञ्चभरि फैलिँदै स्रोतादीर्घासम्म फैलिरहेको थियो । गुरुको साथ, जीवनको आधार यौटा सांगीतिक साँझ ।
गुरु प्रेमचन्द्र ओझैयाको हार्मोनियमले ताललाई मात्र साथ दिएको थिएन, शिष्यको हरेक कम्पनलाई भरोसा प्रदान गरिरहेको थियो । कहिले मुस्कान, कहिले गम्भीर दृष्टि गुरुको नजरमा प्रस्तुति होइन, आफ्नो साधनाको उत्तराधिकारी झल्किरहेको स्वतः महसुस हुन्थ्यो ।
त्यो क्षणमा गुरु र शिष्य दुई व्यक्ति थिएनन्, एउटा निरन्तर बग्ने संगीत परम्परा थिए । शास्त्रीय संगीतको जगमा पलेटी कसेर संगीतको आनन्द बाँडिरहेका थिए । २०८२ साल माघ १० गते शनिबारको साँझ हिउँदे चिसोले पनि फुर्सद सँगालेर त्यहाँ न्यानोपन भरिदिएको थियो । दर्शकको घुइँचो निकै थियो । जाडोको साँझ चिसो बतास पनि शान्त थियो । त्यसैले दर्शक पनि चुपचाप संगीत–श्रवणको आनन्दमा लट्ठ थिए ।
पछाडि चित्रित शिव ताण्डव नृत्यको महसुर चित्र, प्राकृतिक दृश्य–हरियाली, जनावरहरू, शान्त परिवेश– मानौँ संगीतसँगै प्रकृतिले पनि ताल दिइरहेको थियो । माइक ध्वनि प्रवाहका माध्यम थिए तर असली प्रतिध्वनि त श्रोताको हृदयमा गुञ्जिरहेको थियो । त्यो सानो बालकको तबला कहिले सललल नदीझैँ बग्थ्यो, कहिले पहाडझैँ दृढ भएर उभिन्थ्यो । कहिले शिव ताण्डव नृत्यको बेतोड प्रवाहझैँ हातका औँलाहरू तबलाको तालुमा चल्थ्यो । ती सामान्य ध्वनि–तरङ्गका प्रवाह थिएनन् । तिनमा गुरु ओझैयासँग दिनदिनै सिकेका सीपको परीक्षण पनि थियो । असल चेलाको चर्तिकला त्यहाँ सार्वजनिक भइरहेको थियो ।
म त्यो दृश्य हेर्दै सोचिरहेँ– आजको यो बालक भोलिको संगीत साधक हुनेछ ।
हामी नयाँ–नयाँ प्रविधिको कोलाहलमा हराउँदै जाँदा पनि हाम्रा परम्परागत गीतसंगीतका सुमधुर लयहरूमा लहरिन छाड्दैनौँ । अझ शास्त्रीय संगीतका झंकार त सम्पूर्ण सांगीतिक संसारकै गुरु हो । यिनै बाजा बजाउने यस्ता सुमितहरू हाम्रा संस्कृतिका उज्याला हुन् ।
तबलाको प्रत्येक चोटसँगै म आफ्नै बाल्यकाल सम्झिँदै थिएँ– जहाँ संगीत मनोरञ्जन होइन, जीवनको अनुशासन थियो । गुरुको छायामा हुर्किएको शिष्य माटोमा रोपिएको बीउजस्तै हो– समयसँगै विशाल वृक्ष बन्छ ।
किराँतेश्वर संगीताश्रमको त्यो प्रतियोगिता मञ्चमा उभिएका बाल कलाकारहरूको परीक्षा मात्र थिएन, त्यो नेपाली शास्त्रीय संगीतको भविष्यको झल्को थियो ।
सुमित श्रेष्ठको तबला वादनमा मैले ताल सुनेको होइन– मैले समर्पण देखेँ, संस्कार देखेँ र सम्भावनाको उज्यालो भविष्य देखेँ । गुरु प्रेमचन्द्र ओझैयाजस्ता साधकहरूको मार्गदर्शनमा यस्ता बाल प्रतिभाहरू अघि बढिरहून्– यही कामना मनभित्र गुञ्जिरह्यो, निरन्तर, मधुर र अमिट ठीक संगीतको त्यही तालझैँ…।
त्यो दिन मञ्चमा गुञ्जिएको तबलाको झंकार अझै कानमा बजिरह्यो । सुमित श्रेष्ठका कलिला हातबाट निस्किएका औँलाको स्पर्शबाट प्रस्फुटित संगीत कुनै साधारण अभ्यासको फल थिएन– त्यो त साधना, अनुशासन र सपनाको संगम थियो । श्रोतागण मन्त्रमुग्ध थिए ।
दर्शक दीर्घाबाट मैले स्पष्ट देखेँ– गुरु प्रेमचन्द्र ओझैयाको आँखामा गर्व चम्किरहेको थियो । आफ्नो शिष्यले बेजोडले तबलामा ताल दिइरहेको थियो । सबैको मुखबाट एउटै कुरा सुनिन्थ्यो– “यो बालक त आजको प्रतियोगिताको लागि पुरस्कारको हकदार नै हो ।”
म पनि मनमनै ढुक्क थिएँ– आज सुमितको नाम अवश्य घोषणा हुनेछ । तर…समयले सधैँ हाम्रो अपेक्षा अनुसार चाल चल्दैन रहेछ । प्रतियोगितात्मक कार्यक्रम समापनपछि जब निर्णायक मञ्चमा उक्लिए, नामावली पढ्न थालियो । पहिलो पुरस्कार, दोस्रो, तेस्रो…सान्त्वना पुरस्कारहरू पनि घोषणा भए । तर… त्यो सूचीमा सुमित श्रेष्ठको नाम कतै थिएन ।
एकछिन त कानले पत्याएन । आँखाले नाम खोजिरह्यो । तर त्यो नाम थिएन– न पुरस्कारमा, न सान्त्वनामा । मैले सुमिततिर हेरेँ । उनको अनुहारमा कुनै आँसु थिएन, न रिस थियो, न चिच्याहट । तर, त्यो मौन मुस्कानभित्र कुनै भाँचिएको अधकल्चो सपना लुकेको थियो भन्ने म अनुभूति गर्न सक्थेँ ।
गुरु प्रेमचन्द्र ओझैयाको नजर पनि केही बेर स्थिर रह्यो– जस्तो लाग्थ्यो, गुरुको मनभित्र अनेकौँ प्रश्न उम्लिरहेका छन् ।
समय बित्दै गयो । त्यसपछि पनि थुप्रै सांगीतिक कार्यक्रमहरू आयोजना भए । बाल कलाकारहरू मञ्चमा उक्लिए, तबला, हार्मोनियम, सितार फेरि फेरि पनि गुञ्जिए । तर, सुमित… सुमित कतै देखिएन । न प्रतियोगितामा, न प्रस्तुतिमा । यस्तो लाग्थ्यो– तबला अब उसको जीवनको साथी रहेन, कुनै बिरानो वस्तु बन्यो ।
म सोचिरहन्थेँ– के त्यो एउटा सानो पुरस्कारले उसको यात्रा रोकेको हो ? उसको बाल सुलभ प्रतिभाले सदाका लागि बिदा लिएको हो ? एउटा प्रतिभालाई मूल्याङ्कनकर्ताले हठात् निमोठिदिएका हुन् ? एउटा सानो पुरस्कारको ठूलो अर्थ र असर सायद यही हो ?
बालकका लागि पुरस्कार कागजको प्रमाणपत्र होइन– त्यो त मान्यता हो, हौसला हो, भोलिको आशाको बीऊ हो । यति राम्रो बजाउँदा, सबैले प्रशंसा गर्दा, गुरुले समेत “तिमीले अवश्य पुरस्कार पाउँछौ” भनेर भरोसा दिँदा अन्त्यमा केही पनि नपाउँदा त्यो सानो हृदयले कस्तो चोट खायो होला ? सायद त्यही चोटले तबलाको ताललाई मौन बनायो । त्यसप्रतिको लगाव नै टाढिँदै गयो । हुर्किंदै गएको कोपिलाको मुना टिपियो । उसको प्रतिभालाई निमोठियो ।
म आज पनि सोच्छु– यदि त्यो दिन सुमितले एउटा सानो पुरस्कार पाएको भए, सायद आज ऊ एउटा परिपक्व तबला वादक बन्दै हुन्थ्यो । सायद कुनै ठूलो मञ्चमा नेपाली शास्त्रीय संगीतको गौरव बोक्दै उभिएको हुन्थ्यो ।
परन्तु हाम्रो प्रणालीले उसलाई उपेक्षा दियो । हामी प्रायः ठूला प्रतिभाको खोजी गर्छौं तर साना सपनाको संरक्षण गर्न चुक्छौँ । प्रतिभा पलायनको यो यौटा सामान्य घटना उदाहरणमा पर्न सक्छ । सानो कार्यक्रम, सानो प्रतिभा तर तिनको प्रभाव ठूलो पर्न सक्छ भन्ने कुरामा हामीले हेक्का राख्दैनौँ । दबाब, प्रभाव, चिनाजानी, आफन्त र आफ्नो मान्छे भन्ने प्रवृत्तिले कैयौँ प्रतिभाहरू अन्यत्र पलायन भएको उदाहरण यस्तै कारणका उब्जाउ हुन् ।
त्यो दिन हार सुमितको थिएन– हार त हाम्रो दृष्टिकोणको थियो । हाम्रो सोचाइ र अन्तिम निर्णय गर्ने निर्णायकको थियो, जसले आफन्त खोज्यो, नाता जोड्यो र कुशल प्रतिभालाई पन्छाएर आफ्नोलाई अगाडि सार्यो । अन्ततः सुमित श्रेष्ठको तबला मौन भयो तर त्यो मौनताले ठूलो प्रश्न छोडेर गयो– के हामी बाल प्रतिभालाई न्याय दिन सकेका छौँ ? के हामी उनीहरूको आत्मविश्वास जोगाउन सकिरहेका छौँ ? के हामीले सानै कुरामा नातावादको साइनो खोज्छौँ ? खासै क्षमता नभए तापनि आफन्तलाई नै मलजल गराएर हुर्काउँछौँ । “हुने बिरुवाको चिल्लो पात” लाई वास्ता गर्दैनौँ । त्यसले पार्ने प्रभावलाई मतलब राख्दैनौँ ।
कहिलेकाहीँ एउटा सानो पुरस्कार एउटा जीवनको दिशानिर्देशक बन्छ र कहिलेकाहीँ एउटा उपेक्षा एउटा सुन्दर संगीतको अन्त्य बन्न पुग्छ । आज पनि जब म तबलाको झंकार सुन्छु, मलाई सुमितको अनुहार झल्याँस्स सम्झनामा आउँछ– मुस्कुराएको, तर भित्र कतै चर्किएको ।
बाल शास्त्रीय संगीतको त्यो साँझ सम्झेर मनमनै भन्छु– “सुमित, तिम्रो तबला हारिएको थिएन, हामीले सुन्न नसकेको मात्र थियो । हामीले महसुस गरेका हौँ । तर मूल्याङ्कन गर्न नसकेका हौँ । हाम्रो संस्कार नै यस्तै छ कि जतिसुकै उत्कृष्ट प्रतिभा भएर पनि आफन्त खोज्छ, भनसुन चाहन्छ ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ माघ २०८२, बुधबार 










